|

कञ्चनपुर : दुईदिन देखिको अविरल वर्षासँगै कञ्चनपुरको जगबुढा नदीमा आएको बाढी महाकाली नगरपालिका-१० को शान्ति टोल (गिरी टोल) मा पस्दा पूरै वस्ती जलमग्न भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वस्तीका ७ वटा घरहरू र ३५ वटा पसल डुवानमा परेका छन्।

वस्तीका बासिन्दा पानी पस्न थालेपछि सुरक्षित स्थानमा गएका छन्। जनप्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले डुवानमा परेका बासिन्दालाई सुरक्षित स्थानमा सारेको हो। हालसम्म मानवीय र भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। यसैगरी महाकाली नगरपालिका-८ सुन्दर बस्तीका केही घरहरू समेत डुवानमा परेका छन्। वस्ती डुवानसँगै स्थानीय बासिन्दाले खेतमा लगाएको तरकारी बाली र धानबालीमा व्यपाक नोक्सान पुगेको छ। 

नदीको वहाव तीब्र भएकाले तटीय क्षेत्रमा बसोबास स्थानीयलाई सजग रहन तथा सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ। महाकाली नदीले नगरपालिका -१ स्याउलेबजार नजिकको बाँधमा क्षति पुर्‍याएको छ। बाँधका आधा दर्जन बढी तारजाली नदीले बगाएको छ। तटबन्धको केही तारजाली धसेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र स्थानीयको सहयोगमा तारजालीमा ढुंगा भर्ने कार्य सुरु गरेको इलाका प्रहरी दोधारा चाँदनीका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए।यसैगरी अविरल वर्षाका कारण स्याली, सनवोरा, वनहरा, दोदा नदीको जलस्तर समेत बढेको छ।

स्याली नदीमा भैंसी तार्ने क्रममा आइवार शुक्लाफाँटा नगरपालिका-७ का गोमति भट्टको बगेर मृत्यु समेत भएको थियो। नदीको जलस्तर बढे पनि अन्य क्षतिको खवर भने अहिलेसम्म प्राप्त हुन सकेको छैन। 

वनवासा पुलमा चारपांग्रे सवारी साधन सञ्चालनमा रोक 

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक बढी भएपछि पश्चिमी सिमानाकामा रहेको वनवासा पुलमा चार पांग्रे सवारी साधान सञ्चालनमा रोक लगाइएको छ। आइतबार मध्यान्हदेखि लगाइएको रोक अहिलेसम्म यथावत रहेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महाकाली नदीको बहाव दिउँसो १ बजेको मापनअनुसार एक लाख १५ हजार क्यूसेक पुगेको छ। पुल मोटरसाइकल, साइकल र पैदल यात्रुका लागि भने खुला रहेको छ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र महेन्द्रनगरका अनुसार डडेल्धुराको परिगाउँमा महाकाली नदीको बहाव ५.२५ सेन्टीमिटर पुगेको छ। महाकाली नदीको बहाव चेतावनी तह भन्दा मुनिनै रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका जनक पन्तले बताए। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.