|

काठमाडौं : कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला आफ्नो जीवनको अन्तिम क्षणसम्म राजनीतिमा सक्रिय रहे। राजनीतिमै उनले आफ्नो सम्पूर्ण जीवन व्यतीत गरे। त्यसैले त अहिले पनि उनको नाम नेपाली राजनीतिज्ञले उच्च सम्मानका साथ लिने गर्छन्।

जनताको सात दशक लामो संघर्षपछिको उपलब्धि समेटिएको संविधान निर्माणको नेतृत्व गरेर देशलाई स्थिरतातर्फ लैजान योगदान गरेका थिए सुशील कोइरालाले। त्यसैले कांग्रेसभित्र ‘संविधानका पिता’को उपनामले पनि उनी चिनिन्छन्। लामो समयको रस्साकस्सीपछि २०७२ असोज ३ मा कोइरालाको नेतृत्वमा रहेको तत्कालीन सरकारले संविधान जारी गरेको थियो।

जीवनको लगभग सम्पूर्ण समय राजनीतिमा खर्चिएका कोइरालाको नेतृत्वमा संविधान निर्माण हुनु उनलाई सम्झिरहने एउटा महत्त्वपूर्ण काम बनेको छ। उनै ‘सन्त’ कोइराला जन्मिएको आज ७९ वर्ष पुगेको छ। भौतिक शरीर २०७२ माघ २६ गते अलग भए पनि जनताको संघर्षलाई सार्थकता दिन संविधान निर्माण गर्न नेतृत्व दिने कोइराललाई प्राय: सबै नेपालीले सम्झन्छन् तर उनकै पार्टी नेपाली कांग्रेसले भने उनको ८०औँ जन्मदिनमा सम्झिएन।

सोमबार उनको जन्मदिन थियो। उनको त्याग र बलिदानको सधैँ चर्चा गर्ने कांग्रेसले उनलाई सम्झनसमेत फुर्सद पाएन। तर नेविसंघको एउटा खेमाले भने उनलाई स्मरण गर्‍यो। पार्टी महामन्त्री डा. शशांक कोइराला निकटको खेमाले सोमबार एक कार्यक्रम गर्दै कोइरालालाई सम्झियो।

विराटनगरमा वि.सं. १९९६ साउन २८ मा जन्मिएका कोइराला बाल्यकालमै बुबा बोधप्रसादको जागिरका कारण मध्यपश्चिमको अर्को जिल्ला बाँके पुगे। उनी सानै उमेरबाट राजनीतिक चेतबाट अघि बढेका थिए। २०१२ सालमा वीपी कोइरालाबाट सदस्यता लिँदै नेपालको प्रजातान्त्रिक आन्दोलमा होमिएका कोइरालाले त्यसपछि हुने सबै आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेले। प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण भारतमा पनि विभिन्न जेलमा परेका थिए कोइराला। २०३० सालमा भएको विमान अपहरण काण्डपछि नेपाली राजनीतिक वृत्तमा कोइरालाले क्रमश: चर्चा पाउँदै गए। उनी पार्टीभित्र सुशीलदा’को नामबाट चर्चित छन्।

उनलाई नजिकबाट चिन्नेहरू एक निष्ठाको राजनीति गर्ने योद्धाका रूपमा लिन्छन्। साधारण जीवन जिउन चाहने कोइरालालाई निकै राष्ट्रवादी नेताका रूपमा लिन्छन् उनका निकटस्थहरू।

कोइरालासँग कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले निकै लामो समय सँगै बसेर काम गरेका छन्। उनी कोइरालाका निकटस्थ मानिन्छन्। उनी कोइरालालाई नेपाली राजनीतिको एक आदर्शका रूपमा लिन्छन्। ‘उहाँ साधा जीवन उच्च विचार भएको एक निष्ठावान् नेता हुनुहुन्थ्यो’, उनले भने, ‘उहाँ आफ्नो विचारप्रति निकै अडिग हुनुहुन्थ्यो।’ त्यही अडिग विचारका कारण उनकै नेतृत्वमा संविधान प्राप्त गर्न सकेको बडू सम्झन्छन्। ‘उहाँकै अडिग विचारले संविधान बन्यो। सबै दलहरूलाई एकतामा ल्याउनुभयो’, उनले भने, ‘उहाँकै कारण संविधानमा बहुलवाद लेखिएको हो। बुहलवाद लोकतन्त्रका लागि एक अपरिहार्य विषय भएकाले यसलाई समावेश गर्नै पर्छ भनेर उहाँले ढिट गर्नुभयो।’

सुशील कोइरालाको जीवनभरि कार्यकर्ताले लगाउने एउटै आरोप थियो, 'उनी कार्यकर्ताभन्दा निकै टाढा रहन चाहन्छन्। आफू निकटस्थबाहेक कार्यकर्ता भेट्नै चाहँदैनन्।' तर बडू भने लामो समयसम्म कोइरालासँग काम गर्दा यस्तो व्यवहार नभेटेको बताउँछन्।

‘उहाँ सधैँ कार्यकर्तालाई सम्मान गर्नुहुन्थ्यो। आफ्ना कार्यकर्ताको भावनालाई बुझेर संगठन निर्माण गर्नुहुन्थ्यो। उहाँ एक कुशल संगठक पनि हो’, उनी भन्छन्, ‘सुशीलदा’ले कहिल्यै गुटलाई प्रश्रय पनि गर्नुभएन। कार्यकर्तालाई तपाईंहरू संस्था र विचारको पछि लाग्नुहोस्, गुटले फाइदा हुँदैन। संस्था र विचारले इतिहास रच्छ भनिरहनुहुन्थ्यो।’ उनले व्यक्ति त संस्थाको नेतृत्व गर्न आउँछ जान्छ तर पार्टी त सधैँ एउटै रहिरहने धारणा राख्ने र धेरै कुरा आफू नजानेको जस्तो गरेर अरूबाट लिने गरेको बताउँछन् बडू। कोइरालामा अफ्नो भन्दा अरूका कुरा बढी सुन्ने स्वभाव पनि रहेको बडूको भनाइ छ।

राष्ट्रवादी सुशीलदा

कोइरालालाई सधैँ भारतविरोधीको आरोप लागिरह्यो। २०३० सालमा विमान अपहरणपछि भारतको जेलमा लगेर यातना दिएपछि उनी भारतप्रति रुष्ट थिए। त्यस्तै, २०७२ मा संविधान निर्माणको समयमा सरकारको नेतृत्व गरिरहेका कोइरालाले भारतको सल्लाह नमानी संविधान घोषणा गरेको भन्दै भारतविरोधीको आरोप लागेको उनी निकटस्थहरू बताउँछन्। तर बडू भने कोइराला भारतविरोधी नभई राष्ट्रवादी भएको दाबी गर्छन्।

‘सुशीलदा’ भारतविरोधी होइन। उहाँ राष्ट्रवादी नेता हो’, उनले भने, ‘राष्ट्रवादी नेता वीपीसँग नजिक रहनुभएको थियो। वीपीको नीतिबाट पनि प्रभावित भएका कारण पनि उहाँ पनि राष्ट्रवादी हुनुहुन्थ्यो।’ नेपाल सार्वभौम मुलुक भएका कारण कसैको हस्तक्षेप सह्य नहुने कोइरालाको धारणा रहेको बडू बताउँछन्। ‘भारत पनि सार्वभौम मुलुक, नेपाल पनि सार्वभौम मुलुक, त्यसैले हस्तक्षेप सहनुहुँदैन भन्नुहुन्थ्यो’, बडूले भने।

यस कारण दिएका थिए प्रधानमन्त्रीमा उम्मेदवारी

२०७२ मा संविधान जारीपछि नयाँ सरकार निर्माणको बाटो खुल्यो। संविधान निर्माणको नेतृत्व गरेका कोइरालाले संविधान निर्माणपछि २०७२ असोज २३ मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादव समक्ष राजीनामा दिएलगत्तै प्रधानमन्त्रीको रूपमा उम्मेदवारी दर्ता गराएका थिए।

हुनत संविधान निर्माणका बेला त्यसबेलाका शीर्ष तीन दल कांग्रेस, एमाले र माओवादीबीच सुशील कोइरालालाई राष्ट्रपति बनाउने मौखिक सहमति भएको थियो। तर कोइरालाले त्यसका विरुद्ध प्रधानमन्त्रीमै उम्मेदवारी दिएपछि उनी आलोचित बने। त्यसबेला एमाले र माओवादीको समर्थनमा केपी शर्मा ओली प्रधानमन्त्रीको उम्मेदवार दिएका थिए।

कोइराला प्रधानमन्त्रीमा हार्ने लगभग निश्चित थियो तर पनि उनले उम्मेदवारी दिए। ‘त्यसबेला मधेसमा आगो बलेको थियो। मधेसकेन्द्रित दलहरू आन्दोलमा थिए’, नेता बडू भन्छन्, ‘प्रधानमन्त्रीमा उम्मेदवारी दिने बेलामा उहाँले मधेसलाई पनि सहमतिमा ल्याउन आवश्यक छ भन्नुभएको थियो। उहाँले मधेसलाई संसदबाटै सहमति खोज्नका लागि प्रधानमन्त्रीमा उम्मेदवारी दिनुभएको थियो।’ उनले राजनीतिक स्थायित्वका लागि आफू हारेर पनि देशलाई बचाउन उम्मेदवारी दिएको बडू बताउँछन्। ‘लोकतन्त्रलाई बचाउन पनि उहाँले उम्मेदवारी दिनुभएको हो’, उनले भने।

‘व्यक्तिगत सुविधामा ध्यान थिएन’

कोइराला जीवनभर विवाह नगरी बस्नेमध्येका एक नेता हुन्। यस्तै, प्रधानमन्त्री हुँदा तीनवटा मात्र मोवाइल आफ्नो सम्पति विवरणमा उल्लेख गरेपछि उनी विश्वकै गरिब प्रधानमन्त्रीको रूपमा पनि चार्चामा आए।

उनी लामो समय राजनीतिमा लागे पनि उनको घरसम्म थिएन। उनी आफ्ना भान्जा रमेश भण्डारीको घरमा लामो समय बसे। यस्तै, बुद्धनगरमा रहेको पार्टीको घरमा पनि बसे र जीवनको अन्तिम क्षणमा महाराजगञ्जस्थित कोइराला निवासमा थिए। ‘सुशीलदा’ कहिल्यै शोक र सुविधाको पछि लाग्नुभएन’, नेता बडू भन्छन्, ‘उहाँले आफ्नो जीवनलाई राष्ट्रप्रति समर्पित गर्न पनि कहिल्यै विवाह नगरेको हामीलाई बताउने गर्नुहुन्थ्यो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.