१० करोडको किन्छ, तीन अर्बको बेच्छ नेपाल

|

काठमाडौं : नेपालको व्यापार घाटा प्रत्येक वर्ष बजेटको हाराहारी वृद्धि हुँदै गएको छ। आर्थिक वर्ष २०७४/०७५ मा पनि ११ खर्ब ६२ अर्ब रुपैयाँको व्यापार घाटा पुगेको छ। 

सरकारले व्यापार सन्तुलन मिलाउनका लागि गृहकार्य गरिरहेको बताए पनि प्रभावकारी काम हुन सकेको छैन। निकासीमा अवरोधका बीच कतिपय नेपाली निर्यातजन्य सामग्री आयातको तुलनामा ६० गुणा बढी निर्यात भएको देखिएको छ।

आर्थिक वर्ष २०७४/०७५ मा नेपालबाट विश्‍वका ३५ वटा देशमा 'ग्रिन टी' निर्यात गरेको छ भने ३३ वटा देशमा कालो चिया निर्यात गरेको छ। सात कोड सात लाख रुपैयाँको 'ग्रिन टी' निर्यात गरेको नेपालले तीन अर्ब १८ करोड नौ लाख रुपैयाँको कालो चिया निर्यात गरेको छ। यसअनुसार तीन अर्ब २५ करोड १६ लाख रुपैयाँ बराबरको चिया निर्यात गरेको छ।

वर्ष २०७३/०७४ मा दुई अर्ब ४० करोड रुपैयाँको चिया निर्यात गरेको नेपालले यस वर्ष ८५ करोड रुपैयाँ बराबरको चिया निर्यात बढाएको हो।

नेपाली चियाको ७० प्रतिशत निर्यात भारतमा भएको छ। भन्सार विभागको तथ्यांकअनुसार तीन अर्ब २५ करोड रुपैयाँको चिया निर्यात हुँदा भारतमा दुई अर्ब ८७ करोड रुपैयाँको निर्यात भएको छ। भारतले नेपालको चिया निर्यातमा पटक पटक अवरोध पुर्‍याए पनि सरकारले त्यसको दीर्घकालीन समधान खोज्न नसकेको देखिएको छ।

गत महिनामा मात्रै भारतको अवरोधले करिव दुई महिना ११ ट्रक चिया सीमामा रोकिएको थियो।

नेपालले विश्‍वका ३५ बढी देशमा चिया निर्यात गरे पनि १५ वटा देशबाट चिया आयात गरेको छ। नौवटा देशबाट एक करोड ६५ लाख रुपैयाँको 'ग्रिन टी' आयात गरेको छ भने ११ वटा देशबाट आठ करोड ८७ लाख रुपैयाँको कालो चिया आयात गरेको छ।

ग्रिन र कालो चिया गरी १० करोड ५१ लाख रुपैयाँको चिया आयात गरेको छ। आयातमा पनि भारतको हिस्सा सबैभन्दा धेरै अर्थात् ९० प्रतिशत योगदान रहेको छ। एक करोड ६५ लाखको 'ग्रिन टी र आठ करोड ८७ लाखको कालो चिया भारतबाट आयात गरिएको छ।

चियाको मात्रै हिसाब गर्दा भारतसँग नेपाल दुई अर्ब ७७ करोड रुपैयाँ व्यापार नाफामा छ। जम्मा व्यापारमा भने नेपाल सात खर्ब ६४ अर्ब घाटामा छ। नेपालले आठ खर्ब १० अर्ब रुपैयाँको सामान आयात गर्दा ४६ अर्ब ६० करोड रुपैयाँको निर्यात गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.