|

काठमाडौं : तपाई गोंगबु-गल्कोपाखा-लैनचौर-रत्नपार्क-डिल्लीबजार-मैतीदेवी-पुरानो बानेश्वर र सिनामंगल रुटमा यात्रा गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने खुसीको खबर छ- सानो माइक्रो र टेम्पोमा अटी नअटी यात्रा गर्नुपर्ने बाध्यता हटेको छ।

गोंगबुदेखि सिनामंगलसम्म पूर्ण यो रुटमा हिड्ने गाडी नभए तापनि बीचको रुटमा चल्ने टेम्पो र माइक्रो समेत विस्थापित गरेर अत्याधुनीक ठूला बस (दिगो सार्वजनिक यातायातका बस) हिड्न थालेका छन्।

एसियाली विकास बैंक (एडिबी)को समेत सहयोगमा सोमबारदेखि १७ वटा अत्याधुनिक बस संचालनमा आएका छन् यो रुटमा। एडिबीले काठमाडौं दिगो शहरी यातायात आयोजनाअन्तर्गत रहने गरी यी बस सहयोग गरेको हो। सोमबार बस संचालनको उद्‍घाटनमा एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखनोभले उच्च प्रविधियुक्त यी बसले तुलनात्मक रूपमा कम प्रदूषण गर्ने उल्लेख गरे।  

यी १७ बसमा जिपिएस जडान गरिएको छ, जसको सहयोगले ट्र्याकिङ सिस्टमले बस कहाँ आइपुगेको छ भनेर यात्रुहरूले थाहा पाउन सक्छन्। बसको पछाडि गाडी कहाँकहाँ गुड्छन् भनेर नक्सा राखिएको कम्पनीले जनाएको छ।

गाडीमा भाडा तिर्नका लागि मेसिनहरू राखिएका छन् भने हाल विद्युतीय टिकेट मेसिनबाट टिकट प्रिन्ट गरेर दिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ। फ्रि वाइफार्इ, एलइडी टिभी राखिएको छ। बस फराकिलो हुनुका साथै ह्याङ्गर स्ट्र्याम्प रहेकाले उभिएर सहजै यात्रा गर्न सकिने कम्पनीको दाबी छ।

बसमा कसको कति रकम?

बस खरिद गर्नका लागि नगर विकास कोषले ८० प्रतिशत ऋण, एसियाली विकास बै‌ंकले १५ प्रतिशत अनुदान दिएका छन् भने कम्पनीको पाँद्व प्रतिशत लगानी रहेको छ। दिगो शहरी आयोजना दुई अर्ब २३ करोड रुपैयाँ बराबरको आयोजना हो। यसमा नेपाल सरकारले ८० करोड रुपैयाँ योगदान गर्नेछ। यी बस संचालन गर्न, ई-टिकेटिङको व्यवस्था गर्न र जिपिएस प्रणाली राख्न करिब १० करोड रुपैयाँ खर्च भएको एडिबीले जनाएको छ।

६१ माइक्रो टेम्पो विस्थापित

ठूला गाडी संचालनमा आएसँगै ६१ साना गाडी भने विस्थापित भएका छन्। यी रुटअन्तर्गत गुड्ने २६ माइक्रोबस र ३५ टेम्पो विस्थापित भएका हुन्।

माइक्रो र ट्याम्पोहरूलार्इ स्थानान्तरण गरेर ठूला बस संचालन गर्न व्यवसायीहरूले विरोध गर्दै आएका थिए तर सरकारले साना व्यवसायीलाई 'स्किम' ल्याएपछि सहमत भएका हुन्। प्रोत्साहन स्वरूप १५ प्रतिशत अनुदान र ८० प्रतिशत सहुलियत ऋण पाउने भएपछि व्यवसायीहरू सहमत भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.