|

ओखलढुंगा :  निरन्तर वर्षाका कारण ओखलढुंगाका अधिकांश ग्रामीण सडकहरुमा अवरुद्ध भएका छन्। वर्षातका कारण ठाँउठाँउमा पहिरो झरेपछि ग्रामीण सडकहरु बन्द भएका हुन्।

सदरमुकामस्थित सिद्धिचरण नगरपालिकाभित्र कै ओखलढुंगा–रुम्जाटार सडकखण्ड समेत केही दिनदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध ओखलढुंगाबाट रामपुर, प्राप्चा, श्रीचौर, कोषहाट, फलाँटे, च्यानम जाने यातायातका साधनसँगै यात्रुहरु अलपत्र परेका छन्।

पानीका कारण जताततै पहिरो गएको छ कतै सडक हिलाम्मे भएका छन्। पानीले सडक खोलेर सडकलाई खोल्साको रुपमा परिणत गर्दा यातातायातका साधन चल्न नसक्ने भएको छ। सदरमुकाम ओखलढुंगाबाट पूर्व कुईभीर, दियाले, भदौरे, रबुवा, निशंखेभज्याङ्ग चल्ने यातायातका साधनहरु पनि अवरुद्ध भएको छन्।

अवरुद्ध सडक सवारी चालकहरु आफैंले सामान्य मर्मत गर्दै जोखिमपूर्ण रुपमा यातायातका साधन चलाइरहेका छन्। क्षतिको विवरण भने नआएको ओखलढुंगाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए। केही दिनअगाडि प्रशासनमा भएको बैठकले नै निर्णय गरी बिग्रिएको सडकका कारण मानवीय क्षति समेत हुन सक्ने भन्दै केही स्थानहरुमा यातायातका साधन चलाउन केही दिनलाई बन्देज नै गरिएको प्रहरी प्रमुख शर्माको भनाइ छ।

जिल्ला सदरमुकामबाट पश्चिमी भेगमा पर्ने खिजीदेम्वा, लिखु र चम्पादेबी गाउँपालिकामा असारको पहिलो सातादेखि नै पहिरो र भेलका कारण यातायातका साधन ठप्प भएका छन्। मानेभन्ज्याङ्ग र सुनकोसी गाउँपालिकामा आंशिक रुपमा यातयातका साधनहरु चल्दै आएका छन्। ओखलढुंगा-रुम्जाटार सडकमा कालोपत्रेका लागि भत्काइएको सडकखण्डमा वर्षाका कारण ठेकेदारले काम गर्न छोडेपछि पहिरो खसेर अवरुद्ध भएको छ। 

उक्त सडकखण्ड पनि पूर्ण रुपमा बन्द हुँदा सिद्धिचरण नगरपालिका-४ र ५ का नागरिक मर्कामा परेका छन्। बाटो खुलाउन ताकेदा गर्दा समेत ठेकेदारले सुनुवाइ नगरेको सिद्धिचरण नगरपालिकाकी उपमेयर इच्छाकुमारी गुरुङले बताइन्। वर्षामा समेत काम नरोक्ने भनेर काम गरेकोमा अहिले ठेकेदारले काम रोकेपछि जनता समस्यामा परेको उपप्रमुख गुरुङको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.