|

काठमाडौं : मानव तस्करीको अभियोगमा नेपाली चलचित्रका चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ परे। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २०७४ माघ २५ गते काठमाडौंको ठमेलबाट पक्रेको थियो।

उनीविरुद्ध फिल्म सुटिङका नाममा ११ जनालाई दक्षिण कोरिया लगेको र प्रति व्यक्ति १० देखि १५ लाख रुपैयाँ लिएर उतै छाडेको अभियोग लागेको थियो। उनी हाल जिल्ला अदालत काठमाडौंको अादेशअनुसार पाँच लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका छन्। उनको मुद्दा पाटन उच्च अदालतमा अझै विचाराधीन रहेको छ।

त्यस्तै, नुवाकोटका कांग्रेस नेता सुनबहादुर तमाङ पनि मानव तस्करीको अभियोगमा पक्राउ परेका थिए। उनलाई सिआइबीको टोलीले नै गत पुस ४ गते पक्राउ गरेको थियो। उनी नुवाकोट दुप्चेश्वर गाउँपालिका- १ का निर्वाचित अध्यक्षसमेत हुन्।

उनीमाथि गाउँका युवतीलाई भारतको कोठीमा बेचेको अभियोग छ। यसअघिसमेत पक्राउ परेका तामाङलाई जिल्ला अदालत नुवाकोटले पाँच लाख रुपैयाँ धरौटीमा छाडेको  थियो। उनको मुद्दा जिल्ला अदालत नुवाकोटमा हाल विचाराधीन छ। उनी हाल भने नुवाकोट कारागारमा पुर्पक्षका लागि जेल चलान भएका छन्। 

त्यसैगरी कलंकीस्थित क्यारियर हब इजुकेसन कन्सल्टेन्सीका संचालक चित्रप्रसाद ढुंगेल मानव तस्करीकै अभियोगमा पक्राउ परे। उनलाई सिआइबीको टोलीले पुस १७ गते काठमाडौंको चन्द्रगिरि- १ बाट पक्राउ गरेको हो। उनीमाथि दक्षिण अफ्रिकाको जोहान्सबर्गमा आकर्षक रोजगारी लगाइदिने भन्दै मानव तस्कर गरेको अभियोग छ।

दक्षिण अफ्रिकाबाट भागेर नेपाल फर्किएका तीन जना पीडितको उजुरीपछि उनी पक्राउ परेका थिए। हाल उनी पनि जिल्ला अदालत काठमाडौंको आदेशअनुसार धरौटीमा रिहा भएका छन्। उनको मुद्दा पनि अझै विचारधीन छ।

यी प्रतिनिधि घटना मात्र हुन्। यसरी मानव तस्करीको अभियोगमा सिआइबीले ०७० सालयता १०० जनालाई पक्राउ गरिसकेको छ। सिआइबीका अनुसार भारतको बाटो हुँदै तेस्रो मुलुक र भारतकै कोठीमा समेत नेपाली युवती बेचिने गरेका छन्। अधिकांश युवायुवती युरोपको सपना देखेर दलालमार्फत् अवैध तरिकाले विदेश जान खोज्दा अप्ठ्यारोमा पर्ने र बेचिने गरेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईको भनाइ छ।

कतिपयको भने नेपालमा रोजगारी नहुँदा आफ्नो र परिवारको दैनिकी टार्नकै लागि गैरकानुनी तरिकाबाट विदेश जानुपर्ने बाध्यता रहेको उनले बताए। 

 ७९ अपरेसन, १०० जना पक्राउ 

आर्थिक वर्ष २०७०/०७१ मा सिआइबीले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध १२ वटा अपरेसन चलाएको थियो, जसमा थुप्रै नेपाली महिलाको उद्धार गरिएको छ। त्यसबेला सिआइबीले दुई महिलासहित १३ जना दलाललाई पक्राउ गरेको थियो।

आर्थिक वर्ष २०७१/०७२ मा मानव बेचबिखन तथा आसोरपसारविरुद्ध १५ वटा ठूला अपरेसन भएका थिए। यसमा विभिन्न मुलुकमा बेच्न लगिएका सयौँ महिलालाई भारत र विभिन्न खाडी मुलुकबाट सिआइबीले उद्धार गरेको थियो। यस आर्थिक वर्षमा सिआइबीले दुई जना विदेशी नागरिकसहित २४ जना दलाललाई पक्राउ गरेको थियो।

आर्थिक वर्ष २०७२/०७३ मा सिआइबीले १२ वटा अपरेसन गरेको थियो। यस आर्थिक वर्षमा चार महिलासहित १२ जना दलाल पक्राउ परेका थिए। त्यस्तै, आर्थिक वर्ष २०७३/०७४ मा सातवटा अपरेसन चलाएको सिआइबीले दुई जना विदेशी नागरिकसहित १० जनालाई पक्राउ गरेको तथ्यांक छ।

आर्थिक वर्ष २०७४/०७५ मा भने ३२ वटा अपरेसन चलाएको सिआइबीको तथ्यांक छ। यस आर्थिक वर्षमा सबैभन्दा बढी तीन महिलासहित ३७ जना दलाल पक्राउ परेका थिए। चालू आर्थिक वर्षको अहिलेसम्म भने एक जना दलाल पक्राउ परेका छन्।

यसरी सिआइबीले पाँच आर्थिक वर्षयता मानव तस्करीका ७९ वटा अपरेसन चलाएर चार जना विदेशीसहित १०० जना मानव तस्करलाई पक्राउ गरेको छ।  

पीडित नै मान्दैनन् उजुरी दिन

सिआइबीले पाँच आर्थिक वर्षमा १०० जना मानव तस्करलाई पक्राउ गर्‍यो तर तस्करी गरेको अभियोगमा पक्राउ परेका १०० जनामध्ये ६३ वटा मात्रै मुद्दा दर्ता भएका छन्।

यसरी गैरकानुनी रूपमा विदेश लगिएका र फर्काइएकामध्ये केहीले सिआइबीमा अाएर मुद्दा गर्ने, केही आफू पीडित हुँदा पनि उजुरीसमेत गर्न नआउने सिआइबीका मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पिलरका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार सिलवालको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.