|

विराटनगर : मोरङको लेटाङ नगरपालिका-९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्यांकीमा अज्ञात समूहले हालिदिएको विषादी मिसिएको पानी खाँदा २६ जना विद्यार्थी विरामी परेका छन्।

बिरामीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए। ‘पानी खाएर बिरामी भएको विषयमा १५ जना बिरामी देखिएको थियो, पानी खाएर घरमा गइसकेका कतिपय बिरामी भएर जाँचका लागि स्वास्थ्य चौकीमा आइरहेको जानकारीमा आएको छ,’ केसीले भने,‘४ जनालाई थप चेकजाँच गर्नुपर्ने देखिएको छ। अहिले दुई जनालाई नोबेल अस्पताल विराटनगर ल्याइएको छ।’

सायप्रिन नामक औषधि हालिएको खानेपानी पिउँदा विद्यार्थी विरामी परेको प्रधानाध्यापक खेमराज दुलाले बताए। विरामी परेका अन्य विद्यार्थीको उर्लाबारीस्थित मंगलबारे अस्पतालमा उपचार भइरहेको छ। बिहान ११ बजे बिद्यार्थीले सो ट्यांकीको पानी पिउने क्रममा गन्ध आएपछि शिक्षकलाई खबर गरेका थिए। खानेपानी ट्यांकीभित्र १०० मिलिलिटरको सायप्रिन नामक किटनाशक विषादीको बट्टा भेटिएको र त्यो कसले हाल्यो भन्ने विषमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले जानकारी दिए। 

घटनापछि विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ। सो बिद्यालयमा कक्षा १ देखि १२ सम्मका ४९१ जना विद्यार्थी अध्ययनरत रहेका छन्। विषादी हालेको पानी खाँदा बिरामी पर्नेहरूमा कक्षा ९ मा अध्ययनरत अमृत पौडेल, खुश्वु मिश्र, मनकुमारी गजमेर, गीता सापकोटा,अञ्जली लिम्बू, कमला लिम्बू, कक्षा ८ मा अध्ययनरत रिजन विक, युरेन लिम्बू, कक्षा ५ मा अध्ययनरत मेश राई, सिर्जना निरौला, कक्षा ४ मा अध्ययनरत चेतन खड्का, कक्षा ७ मा अध्ययनरत सृष्टि निरौला, प्रतिमा लिम्बू, कक्षा ६ मा अध्ययनरत मनिष थापा र कक्षा १० मा अध्ययनरत पूजा लिम्बूलगायत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.