|
एजेन्सी

लण्डन : यस वर्ष भएको वार्षिक सर्वेक्षणमा अष्ट्रियाको राजधानी भियना विश्वकै बस्नलायक अर्थात् सुन्दर शहरको सूचीमा एक नम्बरमा परेको छ। वार्षिकरूपमा प्रकाशित हुँदै आएको यो प्रतिवेदन गत सोमबार सार्वजनिक गरिएको थियो।

प्रतिवेदनमा विश्वका १० वटा शरहलाई एक, दुई, तीन गरी अंकित गरिएको छ। प्रथम स्थानमा ९९.१ अंक प्राप्त गरी भियना प्रथम स्थानमा रहेको छ। अस्ट्रेलियाको मेलबोर्न ९८.४ अंक प्राप्त गरी दोस्रो स्थानमा परेको छ। मेलबोर्न विगत सात वर्षदेखि लगातार पहिलो स्थानमा रहँदै आएको थियो। तेस्रो स्थानमा जापानको ओसाका शहर परेको छ।

क्यानाडाको क्यालगरी चौथो स्थानमा, अष्ट्रेलियाको सिड्नी पाँचौँ स्थानमा, क्यानाडाकै भ्यानकोभर र टोरन्टो क्रमशः छैटौँ र सातौँ स्थानमा, जापानको टोकियो आठौँ, डेनमार्कको कोपनहेगन नवौँ र अस्ट्रेलियाको एडिलेड दशौं स्थानमा परेका छन्। उत्कृष्ट १० स्थानमा परेका यी शहरलाई हेर्दा अस्ट्रेलिया र क्यानाडामा तीन/तीन शहरहरू परेका छन्।

भिएना अस्ट्रेलियाको मेलबोर्न शहरलाई पछि पार्दै अगाडि पहिलो नम्बरमा आएको छ। भिएनामा अपराधमा कमी आएको, यातायातको सुविधा, शिक्षा र स्वास्थ्य सुविधा जस्ता कुरालगायत राजनीतिक स्थायित्वको कारण पनि बस्न लायक शहरको पहिलो स्थानमा परेको बताइएको छ।

बस्न अयोग्य शहरको सूचीमा पहिलो नम्बरमा सिरियाको राजधानी दमास्कस रहेको छ। यस्तै बङ्गलादेशको राजधानी ढाका, नाइजेरियाको लागोस, पाकिस्तानको कराची र पपुवान्युगिनीको पोर्ट मोरेस्बी पनि बस्न अयोग्यको सूचीमा रहेका छन्। पाँच वर्षयता अबिद्जान, हनोई, बेलग्रेड र तेहरान सहरले भने विकासको फड्को मारेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.