|
प्रतीकात्मक फोटो

सिन्धुपाल्चोक : स्थानीय तहको निर्वाचन भएको १५ महिना बितिसकेको छ। सबै स्थानीय तहले आफ्नो मातहतमा नीति कार्यक्रम तथा विकासको योजना ल्याइसकेका छन्।

सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहले अा-आफ्नो बजेट पारित गरिसकेका छन्। सबै स्थानीय तहले विकासे योजनालाई विशेष महत्त्व दिएका छन्। उनीहरुले ठूला र महत्वकांक्षी विकासे योजना अघि ल्याएका छन्।

यहाँका प्रायः स्थानीय तहले चक्रपथको योजनालाई अघि ल्याएका छन् भने सुरुङमार्गदेखि केबलकारसम्म योजना प्रस्तुत गरिएका छन्। चौतारा साँगाचोकगढी नगरपालिकाले बाहिरी चक्रपथको योजना ल्याएको छ भने लिसंखुपाखर गाउँपालिका, बलेफी र अन्य गाउँ/नगर पालिकाले पनि रिङरोडको योजनालाई अघि सारेका छन्। योजनाअनुसार आगामी वर्ष सबै वडालाई छुने गरी चक्रपथ निर्माण गरिने छ।

धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा परिचित सिन्धुपाल्चोक उत्तर पश्चिम क्षेत्रमा पर्ने पाँचपोखरीमा केबलकार बनाउन पहल सुरु भएको छ। पाँचपोखरी थाङपाल गाउँपालिका अन्तर्गत साविक भोताङ गाविसबाट पाँचपोखरीसम्म केबलकार राख्न प्रारम्भिक प्रतिवेदन तयार पारेको छ। भोताङको छिञ्जी देउरालीबाट लौरीबिनासम्म राखिने केबलकारको लम्बाइ ६.५ किमी हुनेछ। त्यहाँ जडान गरिने केबलकार देशकै सबैभन्दा बढी उचाइको हुने प्रतिवेदनले जनाएको छ। पाँचपोखरी क्षेत्र समुद्री सतहबाट चार हजार १५१ मिटरको उचाइमा पर्दछ।

केबलकार निर्माण गर्न झण्डै दुई अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको केबलकार व्यवस्थापन समितिका संयोजक एवं वडा नं. ३ का वडाध्यक्ष ङिमछिरिङ तामाङले बताए।  पाँचपोखरी क्षेत्रको पर्यटन व्यवस्थापनको लागि चालू आवमा प्रदेश ३ बाट ५० लाख रुपैयाँ छुट्याइएको छ।

जुगल गाउँपालिकाले सिन्धुपाल्चोकको गुम्बाबाट चीनको नेलमसम्म सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको छ। जुगल गाउँपालिकाका प्रमुख होमनारायण श्रेष्ठले सुरुङ रसुवाको भन्दा छोटो हुने बताए।

यसैगरी काठमाडौबाट सबैभन्दा नजिक करिब १४७ किलोमिटर दूरीमा रहेको जुगल हिमालको बेसक्याम्पसम्म पेमाशालबाट केवलकार निमार्णका लागि नेपाल सरकार र निजी क्षेत्रसँगको साझेदारीमा सम्भाव्यता अध्ययन  चालू आर्थिक वर्षबाट सुरु गर्ने योजना रहेको छ। यस्तै, हेलम्बु गाउँपालिको पनि केबुलकार र सुरुङमार्गको अध्ययन गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.