|

काठमाडौं : भैरव रिसाल, ९१ वर्षको उमेरमा पनि पत्रकारितामा अनवरत रूपमा लागिरहेका छन्। यो उमेरमा पनि उनी निरन्तर लेखन यात्रामै छन्। उनले पत्रकारिता सुरू गरेको यो सात दशकमा राजनीतिक हिसाबले मुलुकले चारवटा चरण पार गरेको छ।

पहिलो चरण प्रजातन्त्र स्थापना, त्यसपछि पञ्चायत, २०४६ सालको जनआन्दोलनपछिको बहुदलीय व्यवस्था र २०६२/२०६३ मा भएको जनआन्दोलनपछि गणतन्त्र स्थापनाको समय। राणा कालीन व्यवस्थाको पनि रिसालले धेरै, थोरै अनुभव संगालेका छन्।

तर विषेश गरेर राजनीतिको त्यो चार व्यवस्थालाई भने उनले पत्रकारको हैसियतले नजिकैबाट नियाल्ने अवसर पाए। उनले पत्रकारिता सुरू गर्दाको अवस्था र अहिलेको अवस्थामा कति फरक आयो? चार पुस्ते पत्रकारिताको अनुभव संगालेका वरिष्ठ पत्रकार रिसालसँग थाहाखबरका चिरञ्जिबी घिमिरेले गरेको संक्षिप्त कुराकानी:

स्वास्थ्य अवस्था कस्तो छ?

स्वास्थ्य अवस्था एकदमै ठीक छ। निद्रा मज्जाले लाग्छ, खाना मज्जाले रुच्छ, अनि पेट पनि ठीक छ। त्यसैले म स्वास्थ्य छु। तर यो घुँडाचाहिँ दुख्छ। यसले गर्दा हिँडडुल गर्न चाहिँ समस्या छ। बुढेसकाल लाग्दा बोली बिग्रिएर संकेत गर्छ तर मेरो त बोली पनि ठीक छ।

तपाईंले पत्रकारिता सुरू गर्दा पत्रकारिताको अवस्था कस्तो थियो?

मैले पत्रकारिता सुरू गर्दा पत्रकारिता नै थियो कि थिएन, त्यो एउटा गम्भीर प्रश्न छ।  देव शमशेर गोरखापत्र निकाल्दा पत्रकारिता कति बुझ्नुभएको थियो मलाई थाहा छैन। तर उहाँले हाम्रा तारिफका कुरा नछाप्नु भन्नुहुन्थ्यो।

अहिले त तारिफ गरेर छाप्ने प्रवृति बढेको छ त्यो मलाई मन परेको छैन। मथिल्लो तहमा बसेको मान्छेले आलोचना माग्नुपर्छ। मलाई केदारभक्त माथेमाले भन्नुहुन्थ्यो, वीपी कोइरालाले आर्थिक रूपमा मद्दत गरेर आलोचना छाप्नुहोस् भन्नु भएको थियो रे। मलाई त्यो गौरव लाग्यो।

देव शमशेरपछि पत्रकारितामा नयाँ दृष्टि दिने वीपी लागेको थियो मलाई। पहिलाको जस्तै अहिले पनि पत्रकारिता छ कि छे छ गम्भीर रूपमा सोच्नुपर्ने अवस्था छ।

२००७ सालमा प्रजातन्त्र स्थापनादेखि २०१७ सालसम्मको समयको पत्रकारिता कस्तो थियो?

त्योबेला त पत्रकारिता सिक्ने बेला थियो। पत्रकारिता पढेका मान्छे त्यसबेला कोही थिएन। सबै परेर पत्रकार भएका थिए। म पनि त्यही ड्यांगको मुला हुँ।

तर पत्रकारिता गम्भीर विषय हो। हामीले यसलाई गम्भीर रूपमा लिन सकेका छैनौँ। अहिलेको पुस्ताले पत्रकारितालाई गम्भीर रूपमा लिनुपर्‍यो। पत्रकार साँचै नै आवाजविहीनको आवाज बन्नुपर्‍यो।

२०१७ पछि २०४६ सालको पञ्चायत कालको पत्रकारिताको अनुभव कस्तो रह्यो?

त्योबेला पत्रकारिता थियो कि प्रशंसाकारिता थियो, छुट्याउन नै गाह्रो। पत्रकारिता भनेका सर्वव्यापी हुनुपर्ने हो तर त्यो बेला एक पक्षलाई मात्र समेटिन्थ्यो। कि राजाको विरोध थियो कि समर्थन। मिसन पत्रकारिता थियो त्यसबेला। नाम मात्र पत्रकारिताको थियो तर असजिलो थियो।

अनि अहिले?

अहिले पनि पत्रकारिता जनताको भइसकेको छैन। अहिलेको पत्रकारितालाई साहुले कब्जा गरे। यो सबैभन्दा नमज्जा र नराम्रो विषय हो। अब साहुको कब्जाबाट पत्रकारितालाई झिक्नुपर्छ।

अहिलेका पत्रकारहरू कम पढ्छन्। कम दौडन्छन्। मोबाइल र टेलिफोन आएपछि त पत्रकार हिँड्नै छाडे। मैले बुझेको पत्रकारिता हिँडिरहनु हो। अहिलेको पत्रकारिता मैले बुझ्न सकेको छैन। सधैँ हिड्यो भने नयाँ सूचना पाइन्छ। टेलिफोनबाट त केही पाइदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.