|

पर्सा : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा)ले गरेको बन्दको कारण वीरगन्जबाट छुट्ने अधिकांश सवारी साधन दिनभरी थन्किएका छन्। सार्वजनिक बसहरू भने वीरगन्जको बसपार्कमा नै थन्क्याइएको छ। बन्दको प्रभाव कलकारखाना, शैक्षिक क्षेत्र र बजारमा नपरे पनि सवारी सञ्चालनमा भने परेको हो।

वीरगन्जबाट कलैया, पथलैया, हेटौँडा र गाउँतर्फ आइजाइ गर्ने फाटफुट सवारी भने चलेका छन्। तर लामो दूरीका भने यातायात संचालन नगरेको व्यवसायीहरूले बताए। बन्दमा सवारी चलाएको भनी बन्दकर्ताको पहिलो निशाना सवारी र संचालकमाथि नै पर्ने भएकोले सवारी साधनको सुरक्षाका लागि पनि एकदिनलाई सवारी नचलाएको सवारी सञ्चालकको भनाइ छ। सवारी नचल्दा जरुरी कामले हिँडेका वाहेक अधिकांश यात्रुहरू पनि दिवाभन्दा रात्री सेवाबाट हिँड्ने तयारीमा टिकट लिएर बसेका छन्। मालबाहक सवारीहरू पनि दिनभरी खासै सञ्चालन भएका छैनन्।  

बन्द हड्ताल नहुँदा वीरगन्जबाट हरेक दिन जसो १६६ वटा सार्वजनिक बस, ३७३ ट्रक, १७५ लहरी, २३० ट्याक्टर र जिपकार तथा साना सवारी ४०० तथा मोटरसाइकल १५ सयदेखि दुई हजारसम्म वीरगन्जबाट मुलुकका विभिन्न भागमा सवारी छुट्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको तथ्यांक छ। तर मंगलबार भने बिहान र दिउँसो चल्ने सवारीको संख्या खटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख सुरेशबिक्रम शाहले बताए। यति नै भनेर अहिले नै भन्न सक्ने तथ्यांक नभए पनि दिउँसो चल्ने लामो दूरीका सार्वजनिक यातायातमा भने कम चलेको उनको भनाइ छ।

वीरगन्ज बसपार्क क्षेत्रमा खटेका नेपाल प्रहरीका प्रहरी जवान एसके सिंहले भने वीरगन्ज बसपार्कबाट सधैँको तुलनामा १५ प्रतिशत जस्तो मात्र सवारी छुटेको बताए। 'कलैया, पथलैया र हेटौडा जस्तो छोटो दूरीका केही सवारी वीरगन्ज बसपार्कबाट छुटे पनि लामो दूरीका भने खासै छुटेकै छैनन्' उनले भने।

वीरगन्ज भंसार कार्यालय र सुख्खा बन्दरगाह भंसार कार्यालयबाट पनि दिउसो खासै मालबाहक सवारी छुटेका छैनन्। भंसार क्षेत्रबाट छुट्ने मालबाहक सवारी त जाँचपास लगायतका कामगर्दा ५ बजेपछि नै छुट्ने हुँदा कागजी काम भने भइरहेको वीरगन्ज भंसार कार्यालयका प्रमुख सेवन्तक पोखेरलले बताए।

पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले भने बन्दको खासै प्रभाव नपरेको दावी गरे। 'बारा र पर्साले क्रस कन्ट्रोल गरी स्कटिङसम्मको व्यवस्था गरेर खटिरहेकोले त्यस्तो खासै प्रभाव परेको छैन' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.