|
फाइल तस्बिर

विराटनगर : औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरले नक्कली औषधि बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका पाँचजनालाई अदालतमा मुद्दा दर्ता गरेको छ।

जिल्ला सरकारी वकिलको कार्यालयसँग राय लिएर औषधि व्यवस्था विभागले औषधि ऐन २०३५ को दफा ३९(२) बमोजिम अबैध रूपमा बिनादर्ताको औषधि पैठारी, खरिद बिक्री, वितरण तथा सञ्चय गरेको भन्दै बुधबार मुद्दा दर्ता गरेको हो।

नक्कली औषधिको कारोबारी गर्ने गिरोहका नाइके जीवन अग्रवालसहित अन्य चारजना फार्मेसीका सञ्चालकहरूलाई मुद्दा दर्ता गरिएको हो। औषधि व्यवस्था विभागले नक्कली औषधि बिक्री वितरण गरेको आरोपमा विराटनगरको हस्पिटल चौकमा रहेको गोल्डेन फार्मेसीका सञ्चालक पाण्डब राजवंशी, जिगरी फार्मेसीका सञ्चालक नौसाद आलम, महेन्द्र चौकमा रहेको म्याक्स हस्पिटलभित्र रहेको लङ्गलाइफ फार्मेसीका सञ्चालक दीपककुमार राय र विराट अस्पतालभित्र रहेको मेड प्लस फार्मेसीका सञ्चालक प्रशान्तकुमार चौधरीलाई मुद्दा चलाएको हो।

प्रहरीले विराटनगरको पाँचवटा फार्मेसीमा साउन १३ गते छापा मार्दा ठूलो परिमाणको नक्कली औषधिसहित राय र चौधरीलाई पक्राउ गरेको थियो भने गत शुक्रबार चौधरी र आलमलाई पक्राउ गरेको हो। अग्रवाललाई पक्राउ गरेपछि अनुसन्धानको क्रममा चौधरी र आलमले सञ्चालन गरेको फार्मेसीबाट नक्कली औषधि विक्री वितरण हुने गरेको खुलेपछि उनीहरू पक्राउ परेका हुन्।

भारतबाट अवैध रूपमा नेपालमा औषधि ल्याएर बिक्री वितरण गर्ने गिरोहको नाइके अग्रवाललाई प्रहरीले पक्राउ गरेपछि विराटनगरको फार्मेसीबाट नक्कली औषधीको बिक्री वितरण हुने गरेको खुलासा भएको थियो। मुद्दा दर्ता भएकोले अब बुधबारदेखि प्रतिवादीहरूको बयान सुरु हुने जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलाले जानकारी दिए। बयानपछि थुनछेक बहस हुनेछ। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.