भारतसँग जलस्रोतसम्बन्धी छाता सम्झौता गर्नुपर्छ : नेता महत

|

काठमाडौं : नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा पशुपतिनाथ मन्दिर परिसरमा निर्माणाधीन रहेको पशुपति धर्मशालाको उदघाटन गर्ने बताएका छन्। भारतको ७२ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा मंगलबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै राजदूत पुरीले यही अगष्ट ३० र ३१ तारिख काठमाडौंमा हुने विमस्टेकको शिखर सम्मेलनमा भाग लिन आउँदा भारतीय प्रधानमन्त्री मोदीले पशुपति धर्मशालाको उदघाटन गर्ने कार्यक्रम रहेको जानकारी दिएका हुन्।

राजदूत पुरीले भारतीय प्रधानमन्त्री नेपाल आउँदा पशुपति धर्मशालाकाे उदघाटन गर्न पाउनु खुशीको कुरा भएकाे बताए। उनले भने, 'तीर्थयात्रीलाई बस्नका लागि अत्यन्तै सहज हुन्छ।’ साक्षात्कारमा बोल्दै राजदूत पुरीले पर्यटनको विकास गर्न सकिए यसले आर्थिक समृद्धि हासिल गर्न सहयोग पुग्ने विश्वास पनि दिलाए। उनले भने, ‘नेपाल र भारतबीच सामाजिक, सांस्कृतिक, धार्मिक सबैखाले सम्बन्ध सदियौंदेखि रही आएको छ। अहिले पनि नेपाल भएर हजारौंको संख्यामा भारतीय पर्यटकले मानसरोवरको तीर्थाटन गरिरहेका छन्। यसले आर्थिक विकासमा ठूलो टेवा पुर्‍याएको छ।’ भारतीय प्रधानमन्त्री चौथो पटक नेपाल आउन लागेको सुनाउँदै उनले भने,‘यसले पनि देखाउँछ कि हाम्रो प्रधानमन्त्री मोदीको छिमेकी पहिले नीतिमा उहाँ प्रतिबद्ध हुनुहुन्छ। नेपालको जस्तो सुकै समस्यामा पनि भारतको हमेसा साथ र सहयोग रहन्छ। नेपाल भारतको सदैव उच्च प्राथमिकतामा छ।’

मोदीले आफ्नो कार्यकालमा चार पटक नेपाल भ्रमण गर्नु आँफैमा महत्वपूर्ण रहेको उनको भनाई छ। उनले भने,‘नेपाल र भारतबीचको नाता विशेष छ। मोदी चौथो पटक नेपाल भ्रमणमा आउनुले नै हाम्रो सम्बन्ध बलियो र मजबुद छ भन्ने कुराको पुष्टि गर्छ। नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध अब उच्च राजनीतिक तहमा पनि केन्द्रित छ भन्ने कुरा प्रष्ट देखिन्छ।’ नेपाल-भारत द्विपक्षीय सम्बन्ध अब आर्थिक रुपमा अझै मजबुद भएर अघि बढाउनुपर्ने उनको सुझाव छ। सुदृढ नेपाल र सुखी नेपाली बनाउने अभियानमा आफ्नो देशको सधैँ साथ र सहयोग रहने उनको प्रतिबद्धता छ। नेपाल-भारत द्विपक्षीय सम्बन्धमा विभिन्न आयामहरू रहेको उल्लेख गर्दै उनले भने,‘अब त क्रिकेटले पनि हाम्रो सम्बन्ध मजबुद बनाएको छ। नेपालले ओडिआई खेल्यो। क्रिकेटमा नेपालले धेरै ठूलो प्रगति हासिल गरिरहेको छ।

नेपालीको क्रिकेटप्रति क्रेज ह्वात्तै बढेको छ। नेपाली युवा क्रिकेट खेलाडी सन्दिप लामिछानेले आइपिएल खेल्दा नेपालीहरू मात्रै होइन, भारतीय पनि खुशी भएका थिए। लामिछानेको शानदार प्रदर्शनले हामी भारतीय पनि खुशी छौं। नेपाल-भारत सम्बन्धमा अब क्रिकेट पनि नयाँ शक्तिको रुपमा उदय भएको छ।’हुलाकी राजमार्गलगायत नेपालमा ठूलf परियोजनाहरू भारतीय सहायतामा निर्माणाधीन रहेको सुनाउँदै राजदूत पुरीले भने, ‘हुलाकी राजमार्ग निर्माण सम्पन्न गर्नका लागि आजै ४० करोडको चेक दिने कार्यक्रम छ। त्यस्तै भुकम्पपछिको पूनर्निर्माणका लागि २१० करोड रुपैयाँ दिइसकेका छौं। अब यसैगरी अरु किस्ता पनि हामी छिट्टै प्रदान गर्छौं।’

यसअघि भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा अरुण तेस्रो जलविद्युत आयोजनाको शिल्यान्यास भएको सुनाउँदै राजदूत पुरीले अब नेपाल-भारत आदान-प्रदानको लागि रेलमार्ग अघि बढ्ने पनि विश्वास दिलाए। उनले भने,‘आर्थिक वृद्धि हासिल गर्नको लागि पनि रेलवेले महत्वपूर्ण योगदान पुर्‍याउँछ। जयनगरदेखि जनकपुरसम्म त रेलवे लाइन विछ्याउने काम भइसकेको छ। आगामी केही महिनामै नेपालमा रेल सञ्चालनमा आउँछ। जयनगरदेखि जनकपुरसम्म रेल सञ्चालन गर्नुपर्छ।’ आगामी १० देखि १२ वर्षभित्र भारत र नेपाल रेलमार्गबाट पनि पूर्ण रुपमा जोडिने उनको दाबी थियो। त्यस्तै पुरीले विराटनगरमा छिट्टै रेलवे सञ्चालन हुने बताए। उनले भने, ‘यो रेलवे सञ्चालनमा आयो भने सामानहरू ओसार-पोसार गर्न सहज हुन्छ। यसले भारतीय रेल सञ्जालसँग जोड्न पनि महत्वपूर्ण भूमिका खेल्छ। निर्यात तथा आयात बढ्छ भन्ने हाम्रो विश्वास छ। हामी खुशी छौं।’ नेपाल-भारत द्विपक्षीय सम्बन्धमा प्राचीन सभ्यता रहेकाले अब यो सम्बन्धलाई आधुनिक युगमा अघि बढाउनुपर्ने उनको भनाई छ। 

भारतीय लगानी, सहायता र सहयोगमा निर्माण हुने परियोजनाहरू सम्पन्न हुन ढिलाई भइरहेका बारेमा उनले भने,‘हाम्रो आफ्नो नीति छ। नेपालमा कस्तो नीति छ भन्ने कुराले निर्भरता गर्छ। आज भारत यो अवस्थामा आइपुग्नको लागि हाम्रा नेताहरूले धेरै प्रयत्न र संघर्ष गर्नुभएको छ। हाम्रा नेताहरुको निरन्तर प्रयत्नकै कारण आज भारत विश्वकै द्रूत गतिमा आर्थिक वृद्धि हासिल गर्ने राष्ट्र भएको छ। यो खुशीको कुरा हो। अहिले प्रधानमन्त्री मोदीजीले पनि जनतालाई समृद्धिको खुशीयाली दिलाउन ठूलो भूमिका निर्वाह गर्नुपर्छ।’ 

केही समय पहिलेसम्म भारतमा सडक तथा विद्युतको समस्या भए पनि अहिले आफूहरू विद्युतमा आत्मनिर्भर भइसकेको र नेपालको पनि आवश्यकत्ता पूर्ति गरिरहेको राजदूत पुरीले सुनाए। उनले भने,‘अहिले भारतले नेशन वाटरलिंक प्रोजेक्टलाई अघि बढाएको छ। वाटर वेजमा अब हामी नेपालसँग पनि जोडिन्छौं। गंगा, गण्डक र कोशी लगायतमा वाटर लिंकेज हुन्छ। यो परियोजना बन्ने बित्तिकै सामानहरू ओसारपोसार गर्न सजिलो हुन्छ।’ मोदीको अब हुने भ्रमणमा नेपालका प्रधानमन्त्री ओलीसँग द्विपक्षीय सम्वादमा के र कस्तो कुरा हुन्छ भन्ने कुरा अहिले नै एकीन नभए पनि यसअघि भएका सहमति तथा सम्झौताहरू कार्यान्वयनबारे विशेष कुराकानी हुने उनको भनाई छ। जे कुरा भए पनि उद्देश्यमूलक र उपलब्धिमूलक कुरा हुन्छ। सम्वादमा आर्थिक सहयोगका बारेमा कुराकानी हुन सक्छ। कसरी द्विपक्षीय सम्बन्ध सुदृढ र मजबुत बनाउने भन्नेबारे छलफल हुन्छ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह-महामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले केरुङ-काठमाडौं र रक्सौल–काठमाडौं जोड्ने रेल चीन र भारत दुवै देशले अनुदानमा बनाई दिनुपर्ने बताएका छन्। नेता महतले भने, ‘नेपालको लगानी गर्ने क्षमता छैन। दुवै देशले रेल अनुदानमा बनाई दिनुपर्छ।’ नेता महतले भारत-नेपालको सबै हिसाबले ज्यादा सम्भावना भएको देश भएको बताए। उनले भने, ‘आगामी दिनमा आपसी विश्वासका आधारमा हामीबीच अझ सम्बन्ध धेरै विकसित होस्। एक-अर्काको चासो र चिन्तालाई दुवै देशका नेतृत्वले सिधैँ राख्नुपर्छ।’ महतले द्विपक्षीय सम्बन्धलाई सडकमा उछाल्न नहुने समेत स्पष्ट पारे। उनले भने,‘सत्तामा जान भर्‍याङको रुपमा सम्बन्धलाई प्रयोग गर्नु हुँदैन। जे कुराहरू छन्। ती सबै कुटनीतिक टेबुलमा तर्कसहित राख्नुपर्छ।’ सडकमा र जनतातिर फर्केर आफ्ना कुरा राख्न नहुने उनको तर्क छ। नेता महतले भने,‘हाम्रो पार्टी सरकारमा हुँदा समस्याहरू ठाउँमा राखेको थियो। हामीले सडकमा उछाल्ने काम गरेनौं। भारतले नेपालमा धेरै सहयोग गरिरहेको छ। अहिले हुलाकी राजमार्ग निर्माणधीन छ। भारतले अनुदानमा बनाएको उक्त परियोजना छिटो सम्पन्न होस्। हामीलाई आफै ठेक्काको जिम्मेवारी समेत भारतले दिएको छ।’

भुकम्पपछिको पूर्ननिर्माणको लागि भारतले ठूलो सहयोग राशी दिएको उल्लेख गर्दै उनले हरेक पटक पूनर्निमाणको सिइओ फेर्दा काम हुन नसकेको गुनासो पोखे।डुबानको समस्या समाधानको कुरा आफू परराष्ट्रमन्त्री हुँदा भारतीय पक्षसँग राखेको उनको दाबी छ। नेपाल-भारत सम्बन्धका धेरै आयामहर" रहेको सुनाउँदै उनले भने,‘द्विपक्षीय सम्बन्ध घनिष्ठ छ। भारतसँग नेपालको बहुपक्षीय र बहु-आयामिक सम्बन्ध छ। घनिष्ठ सम्बन्ध भएकोले केही समस्याहरू पनि भइहाल्छन्। सम्बन्ध नै नभएको ठाउँमा पो समस्या हुँदैन। सम्बन्ध प्रगाढ भएकोले समस्या हुनु स्वाभाविकै हो।’ नेपालले भारत र चीन दुवै देशसँग सन्तुलित सम्बन्ध कायम राख्दै अघि बढ्नुपर्ने उनको सुझाव छ।

नेपाल-भारतलाई हिन्दू र बुद्धिष्ट सर्किटमार्फत जोड्न सकिने उनको जोड छ। महतले भने,‘पर्यटन-धार्मिक रुपमा एक अर्को देशलाई जोड्न सकिन्छ। अब हिन्दू र बुद्धिष्ट सर्किटमार्फत जोड्ने काम हुन्छ।’ नेपालको पर्यटन क्षेत्रको विकासको लागि फाष्ट ट्रयाक जरुरी रहेको उनको भनाई छ। उनले भने,‘भारत सहयोग गर्न इच्छुक छ।’ व्यापार घाटा कम गर्नको लागि नेपालले पर्यटनको अलावा जलस्रोतको पनि विकास गर्नुपर्ने महतको भनाई छ। उनले भने, ‘यसको लागि भारतसँग जलस्रोतसम्बन्धी छाता सम्झौता गर्नुपर्छ। यसमा सिँचाई, खानेपानी र विद्युत पनि पर्छ। केही प्रतिशत प्रतिफल पाउनेगरि सम्झौता गर्नुपर्छ।’ महतले भने,‘भारतमा सफलतापूर्वक लोकतान्त्रिक पद्धति चलेको छ। यो दुनियाँको लागि कल्पना बाहिरको कुरा हो।’ नेता महतले भारतले लोकतान्त्रिक सभ्यतालाई अझै घनिभूत बनाओस् भन्ने शुभकामना समेत दिए।  

एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले आगामी ३० देखि ४० वर्षभित्र भारत महाशक्ति राष्ट्रमा पुग्ने बताएका छन्। उनले भने,‘भारत आउने ३० देखि ४० वर्षभित्र अमेरिका र चीनजस्तै महाशक्ति राष्ट्र बन्छ। प्रजातन्त्रमा आस्था राखेर सबै कुरामा भारत महाशक्तिमा पुग्ने देखिएको छ।’
नेता लोहनीले भारत महाशक्ति राष्ट्र बन्नु नेपालको लागि पनि खुशीको कुरा हुने बताएका छन्। उनले थपे,‘एकातिर चीन र अर्कोतिर भारत छ। भारत र चीनजस्तो ठूला-ठूला अर्थतन्त्र भएका देशका बीचमा नेपाल रहनु सौभाग्यको कुरा हो।’ उनले भारतसँग नेपालले समझदारी कायम गरेर अघि बढ्नुपर्ने धारणा समेत राखे। उनले भने,‘हामी दुवै राष्ट्र स्वतन्त्र छौं। हाम्रा आ-आफ्नै स्वार्थ छन्। हामीले मिलेर काम गर्नुपर्छ।’ नेपालले पनि आफ्नो राष्ट्रिय स्वार्थ प्राप्त गर्ने गरL आफ्नो हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने लोहनीको भनाई छ। 

भारत र नेपालबीच असाध्यै प्रगाढ सम्बन्ध भए पनि आर्थिक सम्बन्ध चाहिँ असन्तुलन रहेको उनको गुनासो छ। उनले भने,‘हाम्रो कार्य पद्धतिले गर्दा व्यापार घाटा धेरै छ। नेपालले दक्ष जनशक्ति एक्सपोर्ट गरिरहेको छ। र चीन र भारतबाट समानहरू इम्पोर्ट गरिरहेको छ।’ नेपालले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउँदै उनले भने,‘भारतले पनि अब उद्योग तथा उत्पादनमूलक क्षेत्रमा कसरी अघि बढ्न सकिन्छ भनेर नेपाललाई सहयोग गर्नुपर्छ। नेपालमै रोजगारी बढाउनेबारे ओलीजी नेतृत्वको सरकारले विचार पुर्‍याओस्।’ भारत र नेपालबीचको सम्बन्धमा नयाँ अध्याय सुरु गर्नुपर्ने उनको भनाई छ। उनले भने,‘भारतसँग अब विस्तृत सहकार्य गर्नेगरी सम्झौता गर्नुपर्छ। यतातिर अब हामीले चिन्तन पुर्‍याउनुपर्छ।’

नेपालमा प्रशस्त पानी भएकोले पानीको उपभोग पनि दुवै देशलाई लाभ हुनेगरी अगाडि बढाउनुपर्ने लोहनीको भनाई छ। उनले भने,‘आजभन्दा २० वर्ष पहिले मेरै पालामा भारतले नेपाललाई वाटर ट्रान्सपोर्ट दिन्छौं भनिसकेको थियो। बंगलादेशसँगको सिँधा पहुँचको लागि पनि भारतले वाटर ट्रान्जिट दिनेबारे त्यति वेला नै सहमति दिएको थियो।’ नेपाल-भारत सुरक्षाबारे पनि बोर्डरहरू नियमनदेखि सुरक्षासम्बन्धी भारतका जायज चासोलाई नेपालले सम्बोधन गर्नुपर्ने उनको भनाई छ।
लोहनीले नेपाल-भारत । सम्बन्धमा आर्थिक पक्ष बलियो हुनुपर्ने जिकिर गरे। उनले भने,‘दुवै देशको हितलाई केन्द्रमा राखेर हामीले सम्बन्धहरू अघि बढाउनुपर्छ। सरकार ५ वर्षको लागि बनेको छ। यी सबै कामहरू हासिल गर्न सरकारलाई सफलता मिलोस्।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् परराष्ट्रविद डा. राजन भट्टराईले नेपाल समृद्धितर्फ अघि बढ्दा भारतीय सहयोगको आवश्यकत्ता रहेको बताएका छन्। उनले भने,‘दुवै देशका नेतृत्वले हाम्रा राम्रा कुरालाई अघि बढाउनु हुनेछ। हामी समृद्धितर्फ अघि बढ्दा भारतीय सहयोगको आवश्यकत्ता छ।’ नेता भट्टराईले पछिल्लो समय केही सकारात्मक कदमहरू प्नि अघि बढेको सुनाउँदै थपे,‘विराटनगरमा रहेको भारतीय फिल्ड अपिस हटेको छ। हाम्रो द्विपक्षीय व्यापार दुई तिहाईभन्दा बढी छ। झण्डै ७० प्रतिशत व्यापार भारतसँग छ।

भारतसँग रहेको व्यापार घाटा छिटो भन्दा छिटो घटाउनुपर्छ।’ अरुण तेस्रोको शिल्यान्यासले उर्जाबारे नयाँ ढोका खोलिदिएको पनि उनले बताए। उनले भने,‘अब द्विपक्षीय सम्बन्ध नयँ युगमा प्रवेश भएको छ। दुवै मुलुकको विन-विन अवस्था छ।’ दुवै देशले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर आपसी हित, पारस्परिक लाभ हासिल गर्दै द्विपक्षीय सम्बन्ध अघि बढाउनुपर्ने उनको भनाई छ। उनले भने,‘अब हामी आगामी २० देखि ३० वर्षको योजना बनाएर अघि बढ्नुपर्छ। एक-अर्काप्रति सहयोगी बनेर अघि बढ्नुपर्छ।’ कृषि, पर्यटन लगायत नयाँ नयाँ क्षेत्र पहिल्याउँदै अघि बढ्नुपर्ने उनको भनाई छ। 

आफू सम्मिलित प्रवुद्ध व्यक्ति समूह (ईपिजी) ले संयुक्त प्रतिवेदनलाई पूर्णता दिएको बताउँदै उनले भने,‘हामीले बडो जिम्मेवारीपूर्ण ढंगले नेपाल-भारत सम्बन्धका आयामलाई समेटेर प्रतिवेदन तयार पारेका छौं। दुवै देशको सरकारको अनुमति रह्यो भने हामी यो प्रतिवेदनलाई सार्वजनिक गर्छौं।’ उनले संयुक्त प्रतिवेदनलाई जनस्तरमा ल्याउनुपर्ने आवश्यकता पनि औंल्याए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.