|

जनकपुरधाम : जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र (शंकर शाही) लाई जिल्ला अदालत महोत्तरीले साधारण तारेखमा रिहा गरेको छ। मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका प्रहरी नायव निरीक्षक थमन विकको हत्या आरोप लागेका महोत्तरी जलेश्वर नगरपालिकाका नगरप्रमुख मिश्रलाई जिल्ला अदालत महोत्तरीले साधारण तारेखमा रिहा गरेको हो।

प्रमुख मिश्रसँगै राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डेले समेत मंगलवार जिल्ला अदालत महोत्तरीमा हाजिर भएर बयान सकिएलगत्तै भएको थुनछेक बहसमा उनीहरू रिहा भएका हुन्। महोत्तरी जिल्ला अदालतका मुख्य न्यायधीश ब्रजेश प्याकुरेलको एकल इजलासले थुनछेकको बहसको क्रममा उनीहरूलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।

थुनछेकमा प्रतिवादीको तर्फबाट कानुन व्यवसायी ज्ञानेन्द्र लाल कर्ण, रमेश कुमार पाण्डे र देवेन्द्र ठाकुरले बहस गरेका थिए भने, विपक्षमा सरकारी कार्यालयका अधिवक्ता सुदीप दंगालले बहस गरेका थिए। सशस्त्र प्रहरीका प्रहरी नायव निरीक्षक विकको हत्या आरोपमा जिल्ला अदालत महोत्तरीले यस अघि ७० दिने म्याद दिए पनि सो अवधिमा उनीहरू हाजिर नभई अटेर गरेका थिए।

विककी श्रीमती शोभा गहतराजले उच्च अदालत जनकपुरका रिट निवेदन दायर गरेपछि न्यायधीश माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको संयुक्त इजलासले हत्या आरोपीलाई अबिलम्ब पक्राउ गर्न गत अषाढ २५ गते जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रमुखको नाममा परमादेश जारी गरेपछि उनी अदालत समक्ष हाजिर भएका थिए। थमन विककी श्रीमतीको जाहेरीको आधारमा जिल्ला अदालत महोत्तरीले २०७२ फागुन २७ गते बयानका लागि इजलास समक्ष पेस गर्न र फरार रहेका प्रतिवादीहरूको हकमा वारेन्टको ७० दिने म्यादी पूर्जी जारी गरेको थियो।

मधेस आन्दोलनको क्रममा २०७२ भदौ २५ गते आन्दोलनकारीको आक्रमणमा परेर घाइते विकलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको आरोप छ। अभियुक्तहरूलाई फरार भनी करारनामा दिइसकेको बेलामा महोत्तरी प्रहरीले पक्राउ गर्नबाट पछि हटेको अवस्थामा असई विकको हत्याका फरार अभियुक्तहरू मध्येका एक महोत्तरी ३ ‘क’ बाट प्रदेशसभामा निर्वाचित सांसद अभिराम शर्माले हिजो सोमवार नै अदालतमा हाजिर भई साधारण तारेखमा रिहा भएका थिए।

महोत्तरी जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको असई विकको हत्या मुद्दामा जलेश्वर–६ का रमेशप्रसाद साह, सतिसनन्द चौधरी, राजा चौधरी, नरेश साह, रामराजा साह, हरिओम कुमार भगत, बिक्की साह, जलेश्वर–९ का चन्देश्वर साह, गोलु साह, रवीन्द्रराम चमार, रञ्जित साह, देवेन्द्र चौधरी, पवन कापडी, अनिल ठाकुर, फुले यादव, रोहितकुमार शर्मा, लालबाबु बिन, शम्भु साह, देवेन्द्र यादव, लक्ष्मी महतो, धमेन्द्र रायलाई अभियुक्त बनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.