|
Associated Press

अमेरिकाको पेनसिलभेनियामा क्याथोलिक चर्चमा हुने गरेको यौनहिंसासम्बन्धी प्रतिवेदन सार्वजनिक भएको छ। 

पेनसिलभेनियाको सर्वोच्च अदालतले गठन गरेको 'जुरी'ले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ। प्रतिवेदनमा यौनहिंसामा संलग्न भएको आरोप लागेका तीन सय भन्दा बढी पादरीको नाम उल्लेख छ।

पेनसिलभेनियाका क्याथोलिक चर्चमा पछिल्लो ७० वर्षमा एक हजार भन्दा बढी बालिबालिकामाथि यौनहिंसा भएको विस्तुत जुरीले गरेको अनुसन्धानबाट खुलेको छ। यौनहिंसाका घटनालाई क्याथोलिक चर्चले व्यवस्थित रूपमा ढाकछोप गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन्।

विश्वभरका क्याथोलिक चर्चमा यौनहिंसा हुने गरेको आरोप रहेको छ। पेनसिलभेनियाको प्रतिवेदन त्यसकै पछिल्लो प्रमाण हो। विस्तृत जुरीले १८ महिना लगाएर गरेको अनुसन्धानको प्रतिवेदन मंगलबार सार्वजनिक भएको हो। यौनहिंसा भएका केही बाहिर आउन नचाहेकाले अवस्था अझै भयावह हुन सक्ने जुरीले बताएको छ।

हिंसामा पर्नेमा साना बालक तथा बालिका र किशोर–किशोरी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। उनीहरुलाई क्याथोलिक चर्चका पादरीले यौन शोषण गरेका हुन्। चर्चका नेतृत्वकर्ताले पीडितको कुरा नसुन्ने र पीडक तथा चर्चलाई जोगाउनका लागि व्यवस्थित रूपपमा घटनाको ढाकछोप गर्ने गरेको प्रतिवेदनमा उल्लेख  छ।

नेतृत्वले नै ढाकछोप गरेकाले धेरै घटना कारबाही प्रक्रियामा लैजानका लागि योग्य नरहेको तर अनुसन्धान जारी राख्दा अझै यस्ता धेरै घटना बाहिर आउने जुरीका सदस्यले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.