|

भारतले आफ्नो ७२ औं स्वतन्त्रता दिवस मनाइरहेको छ। अंग्रेज शासनबाट मुक्त भएको दिनको सम्झनामा हरेक वर्ष अगस्ट १५ मा भारतले स्वतन्त्रता दिवस मनाउने गरेको छ।

भारत सन् १९४७ मा अंग्रेज शासनबाट मुक्त भएको थियो। त्यसपछि नै आधुनिक भारतले स्वतन्त्र राष्ट्रका रुपमा काम गर्न थालेको हो। भारत स्वतन्त्र भएको ७१ वर्ष पूरा भएर ७२ वर्ष लागेको छ। उक्त अवसरका राजधानी दिल्लीमा विशेष समारोह हुँदैछ। स्वतन्त्रता दिवसको अवसरमा हुने विशेष कार्यक्रमका लागि दिल्लीमा ७० हजारभन्दा बढी प्रहरी तथा १० हजारको हाराहारीमा सेना परिचालन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले समाजमा हिंसाका लागि ठाउँ नरहेको बताएका छन्। महात्मा गान्धीको अहिंसाको मन्त्र अहिलेको समाजका लागि अत्यावश्यक रहेको उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।

राष्ट्रपति कोविन्दले स्वतन्त्रताको अर्थ राजनीतिक स्वतन्त्रता मात्रै नरहेको बताएका छन्। सन् १९४७ मा प्राप्त भएको राजनीतिक स्वतन्त्रता रहेको र दशकौँपछि पनि समाजका लागि अवसर र अरु विभिन्न कुराको स्वतन्त्रताको खाँचो रहेको उनले बताएका छन् ।

हरेक एकले अहिलेको समाजका लागि आवश्यक सही अर्थको स्वतन्त्रताका लागि काम गर्न सक्ने उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन्। यस्तै, प्रधानमन्त्री नरेन्द्र मोदीले पनि स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सबैको साथ सबैको विकासमा सहयोग गर्न भारतीय जनतालाई आग्रहसमेत गरेका छन्। सन् २०१४ मा सत्तामा आएका मोदीको यसपटकको भाषण स्वतन्त्रता दिवसका अवसरमा दिइएको पाँचौँ सम्बोधन हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.