|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले किशोर किशोरीहरूसँग परिवार नियोजनका साधन हुनु नराम्रो नभएको बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रतिनिधिसभामा सामान्य छलफलका लागि प्रस्तुत गरेको 'सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' बारे बोल्दै सांसद थापाले परिवार नियोजनका साधन भएकै भरमा सुरक्षाकर्मीले गलत क्रियाकलापमा लागेको भन्ने गरेकोमा त्यसमा परिवर्तन हुनुपर्ने बताए।

सुरक्षित मातृत्व र प्रजनन अधिकारबारे ऐन आएपछि त्यसमा परिवर्तन ल्याउन उनले गृहमन्त्री रामबहादुर थापा बादललाई आग्रह गरेका थिए।

उनले भने, 'बेला बेलामा किशोर किशोरीहरूलाई परिवार नियोजनाका साधनसाथ भेटिएकाले गलत क्रियाकलापमा लागेका छन् भन्ने समाचार समेत छापामा आएको पाइन्छ। परिवार नियोजनका साधनहरू पाइनु गलत काममा लाग्नु होइन भन्ने बुझाइदिनु पर्छ।'

थापाले गृहमन्त्रीलाई आग्रह गर्दै भने, 'परिवार नियोजनका साधन भेट्नु गलत क्रियाकलाप गर्नु होइन भन्ने कुरा हाम्रो सुरक्षाकर्मीहरूलाई कम्तिमा ऐन नै आइसकेपछि सम्झाइदिने कुरामा मन्त्रालय पनि लागोस् भन्ने आग्रह गर्दछु।'

महिला आन्दोलनले प्रजनन र सुरक्षित मातृत्वबारे उठाएका मुद्दाहरूलाई वर्तमान विधेयकमा सम्बोधन गरिएको थापाको भनाइ थियो। उनले विधेयकमा महिला र पुरुष दुवैको प्रजनन स्वास्थ्यको अधिकार सुनिश्चित गरिएको बताए। तर त्यसमा पनि महिलालाई केन्द्रमा राखेर प्रजनन अधिकार र सुरक्षित मातृत्वको अधिकार कायम गरिएको उनको भनाइ थियो।

सांसद गगन थापाले विधेयकमा रहेको 'बाबुको पहिचान' भन्ने विषय हटाइनुपर्ने बताए। उनले उक्त कुरा विधेयकमा राख्दा महिलाहरूको आत्मसम्मानमा ठूलो धक्का पुग्ने र त्यो आवश्यक पनि नभएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.