|

चितवन : विधान संसोधनको मुख्य एजेण्डासहित अखिल नेपाल फुटबल संघ (एन्फा) को १७औँ विशेष साधारणसभा चितवनको सौराहामा सुरु भएको छ।

साधारणसभाको उद्घाटन गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले खेलकुदको विकास अपरिहार्य रहेको बताए। उनले खेल पर्यटनमार्फत नेपाललाई समृद्ध पार्न सकिने उल्लेख गरे।       

'अन्तर्राष्ट्रियस्तरका ठूला खेलको आयोजनामार्फत नेपालमा लाखौँ पर्यटक भित्रयाउन सकिन्छ,' पौडेलले भने, 'खेल पर्यटनको कुरा अहिलेसम्मका सरकाले गर्न सकेका छैन, अब यो गर्न जरुरी छ।'

‘युवाको गौरव, जवानीमा पौरख र प्रदेशको सौरभ’ भन्ने नारा प्रदेश सरकारले अघि सारेको भन्दै उनले आगामी तीन वर्षभित्र प्रदेशस्तरीय खेलकूद प्रतियोगिता आयोजना गर्ने नीतिअघि सारेको बताए। सांसारमा नेपाल भन्ने देश छ भनेर चिनाउने नै खेलकुद भएको मुख्ख मन्त्री पौडेलको भनाइ थियो।

विस २०७२ सालमा भूकम्पका कारण भत्किएको दशरथ रंगशाला निर्माणको काम २०७५ सालसम्म गर्न नसकेकोमा दु:ख व्यक्त गरे। खेलकूदको विगतको इतिहास हेर्दा नेपाल कमजोर रहेको दाबी गर्दै मुख्यमन्त्री पौडेलले खेल पदाधिकारीले हामी अन्तर्राष्ट्रिय हौँ भन्ने मानसिकता त्यागी तीनै तहका सरकारसँग समान सम्बन्ध र  सहकार्य गर्नुपर्नेमा जोड दिए।

प्रतिनिधिसभाका सांसद सुरेशकुमार राईले खेलकुदको विकासका  लागि सरकारले नयाँनयाँ नीति ल्याउनुपर्नेमा जोड दिए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंगशालाको आवश्यकता रहेको बताए।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्य उपेन्द्र पौडेलले विगतमा देखिएको नेपाली फुटबलको कालो बादल हटेर अहिले उज्यालो छाएको बताउँदै राखेप फुटबलको विकासमा क्रियाशील रहेको बताए।

कार्यक्रममा प्रदेश नं. ३ का प्रदेशसभा सदस्य नारायण सिलवाल, मिलनबाबु श्रेष्ठ, मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ लगायतले फुटबलको विकासका लागि योजनाबद्ध ढंगबाट अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फालाई संघीय संरचनाअनुसार लैजाने बताउँदै फुटबलको विकासका लागि योजनाबद्ध ढंगले अघि बढेको जानकारी दिए।

कार्यक्रममा खेलमार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान दिलाएका फुटलबका पाँचजना पूर्व  खेलाडीलाई जिल्ला फुटबल संघ चितवनले सम्मान गरेको छ। सम्मानित हुनेमा सूर्यमान श्रेष्ठ, अरुणा गुरुङ, छन्नुराम चौधरी, ललित थापा र राजेन्द्रकुमार श्रेष्ठ छन्।


संसघीय संरचनाअनुसार विधान संशोधन हुँदै

एन्फाको १७ औँ विशेष साधारणसभाले आर्थिक पारदर्शीताका लागि इतिहासमै पहिलो पटक आर्थिक नियमावलीसहित विधान संशोधन गर्दैछ।

साधारणसभाले कार्यसञ्चालन नियमावली, कर्मचारी प्रशासन नियमावली, खेलाडीदर्ता नियमावली समेत पारित गर्ने अध्यक्ष शेर्पाले जानकारी दिए। नयाँ विधानअनुसार एन्फा अब प्रदेशस्तरीय संरचनामा जानेछ।

यस्तै खेलाडी दर्ता अनलाइनमार्फत गरिने, खेलाडीको वृत्ति विकासका लागि अक्षयकोष स्थापना गरिने एन्फाले जनाएको छ। दर्तामा व्यवसायिक क्लब, गाउँस्तर र स्कुलका खेलाडीसमेत सहभागी हुन पाउनेछन्।

परम्परागत लिग खेललाई व्यवस्थित गरी जिल्ला लिग खेलाउने, जिल्लाबाट छनोट भएकालाई प्रदेशमा, प्रदेशबाट उत्कृष्ट भएकालाई एन्फा प्रेसिडेन्ट कपमा सहभागी गराउँदै राष्ट्रिय लिग गर्ने योजना अघि सारिएको छ।

एन्फाले रौतहटमा महिला टेक्निकल सेन्टर स्थापना निकट भविष्यमै गरिने सो अवसरमा जानकारी दिइयो। साधारणसभामा फुटबलको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना समेत प्रस्तुत गरिँदैछ।

विशेष साधारणसभामा ४५ जिल्ला संघ, १४ ए डिभिजन क्लब, नौ बि डिभिजन क्लब, पाँच सी डिभिजन क्लबबाट चार समिति (महिला, खेलाडी, प्रशिक्षक, रेफ्री), एएफसीका प्रतिनिधि गरी ३०० जना प्रतिनिधि सहभागी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.