|

सुनसरी : सुनसरीको धरान र इटहरीमा दिनहुँ हिँडिरहने एउटा होचो कदको मान्छे, जसको कद मात्र होचो छ, व्यक्तित्व भने उँचो छ।

उनी हुन् टंक सर। उनी चिउँडो वरिपरि झुस्स दाह्री पाल्छन्। त्यो उनको पहिचान नै बनेको छ। काँधमा सानो ब्याग बोकेर हँसिलो अनुहारमा देखिन्छन् प्राय:। उनी धेरैका परिचित किन पनि छन् भने उनीमार्फत आजसम्म धेरै विद्यार्थी विश्वविद्यालयबाट दीक्षित भएका छन्। यति मात्र होइन, पूर्वाञ्चलमा विशिष्ट प्राज्ञिक र साहित्यिक व्यक्तित्वको परिचय पनि बनाएका छन् उनले।

देख्नेवित्तिकै सबैले नमस्कार गर्छन्। उनलाई र उनी नमस्कार फर्काउँदै भन्छन्, 'लु राम्रो।' उनको ‘लु राम्रो’ भन्ने थेगो लोकप्रिय छ। प्राध्यापक डा. टंकप्रसाद न्यौपाने पूर्वका प्राय: सबै ठाउँमा हुने साहित्यिक कार्यक्रममा पुग्ने गरेका छन्।

होचो कदका टंक सरको बौद्धिक उचाइ उनको शरीरसँग तुलना गर्नु असंभव छ। उनको जीवन भोगाइ हरेक दृष्टिले एउटा विश्वविद्यालयसरह भएको उनको संगत गरेकाहरू भन्ने गर्छन्। कुनै बेला पेटभरि खानका लागि धेरैलाई नमस्कार गर्दै हिँड्ने टंक सर आज अरूको नमस्कार फर्काउन भ्याउँदैनन्। 

बाल्यावस्था

टंक सर एकाएक सम्मानित भएका होइनन्। उनको बाल्यकाल निकै कष्टपूर्ण थियो। धनकुटाको चुङबाङमा वि.सं. २००५ मा बुबा हरिप्रसाद र आमा हर्कमाया न्यौपानेका सन्तानका रूपमा उनी जन्मिए। जन्मिँदै उनी गरिबीको जालोभित्र जेलिएका थिए। खेतीबारी खासै नभएको उनको परिवारलाई आफ्नो बारीमा उब्जिएको अन्नपातले वर्षभरि खान पुग्दैनथ्यो। बुबा हरिप्रसाद धरानबाट भारी बोकेर पनि केही पैसा कमाउँथे। त्यही पैसा र आफ्नो बारीमा उब्जेको अन्नले परिवार चल्थ्यो।

जेनतेन चलेको परिवारमा एकाएक संकट आइपर्‍यो। उनी एक वर्षको नहुँदै आमाको निधन भयो। आमाको निधनपश्चात् टुहुरो बनेका न्यौपानेलाई मावलपट्टिकी छिमेकी हजुरआमा मायादेवी दाहालले दूध चुसाइन्। एक वर्षको उमेर नपुग्दै आमा गुमाएका टंक सर बुबाको सहारामा हुर्कने मौका पनि राम्ररी पाएनन्। बुबालाई रोगले च्याप्यो। टाइफाइडले थलिएका हरिप्रसाद लौरोको सहाराले हिँडडुल गर्नुपर्ने भयो। गाउँमा हातमुख जोड्न गाह्रो भएपछि तीन वर्षका टंकलाई लिएर हरिप्रसाद धरान हानिए। धरानमा हरिप्रसाद गाउँकै जमिनदार पुष्पलाल घिमिरेको घरमा बस्न थाले। घिमिरेको घरमा बसेका हरिप्रसाद लौरोको सहारामा घरघर पुगेर वेदका ऋचा सुनाउने काम गर्न थाले। सुन्नेमध्ये केहीले दिएको अन्न र कपडाले जीविका चलाउन उनलाई केही सहज त भयो तर यो क्रम पनि धेरै समय चल्न सकेन। हरिप्रसाद झन थला परे। यतिसम्म कि उनी लौरोको सहारामा पनि हिँडडुल गर्न सक्न छाडे। हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका हरिप्रसाद धरानकै पिण्डेश्वर मन्दिर परिसरमा बस्न थाले। त्यतिबेला टंक सर छ वर्षका थिए।

पढ्नेलेख्ने बेला भएको बालक टंक त्यही मन्दिरको बसाहामा चढाएको चामल टिपेर खाने गर्थे। पिण्डेश्वर मन्दिर नजिकै रहेको संस्कृत विद्यालयमा उनी पढ्न जान्थे। उनी दिउँसो स्कुल जान्थे, बिहान–बेलुका मन्दिरतिरै बसेर त्यहीँ चढाएको खाएर थला परेका बुबाको काखमा लेपास्सिएर रात काट्नु उनको दैनन्दिन नै बन्यो। त्यसो गर्दागर्दै उनले अक्षर लेख्न सिके र विद्यालयमै खाने बस्ने सुविधासहित पढ्ने अवसर पाए। 

पढ्न पाउनु 'टर्निङ प्वाइन्ट'

धरानको पिण्डेश्वर मन्दिर नजिकै रहेको संस्कृत विद्यालयमै पढ्न पाउनु उनका लागि टर्निङ प्वाइन्ट बन्यो। त्यहाँबाट न्यौपानेले प्रथम श्रेणीमा स्नातक पूरा गरे। स्नातक पूरा गरेर छात्रवृत्ति पाएर एमए पढ्न कीर्तिपुर गए। कीर्तिपुरमा स्नातकोत्तर (एमए) पढ्दापढ्दै उनलाई धरानको बालिका स्कुलमा पढाउने अफर आयो र उनी काठमाडौंबाट धरान आए। उनी पढ्दै पढाउँदै गर्न थाले। अब भने न्यौपाने राम्रै कमाइ गर्ने भए। पढाइ राम्रै चलिरहेको, कमाइ पनि राम्रै भएका न्यौपानेको एमए पास गर्ने र अझ राम्रो कमाइ गरेर धरानमा घर बनाउने अनि घरजाम गर्ने सोच पलायो। अन्तत: पण्डित छविलाल पोख्रेलकी नातिनी मीना पोखरेलसँग उनको विवाह हुने भयो। विवाह त गरे तर सोचाइअनुसार धरानमा आफ्नो घर थिएन। डेरामा बेहुली भित्र्याए। यो २०२८ सालतिरको कुरा थियो।

राजनीतिदेखि जेलसम्म

न्यौपाने पिण्डेश्वरमा पढ्दैदेखि कांग्रेसको राजनीतिमा लागेका थिए। उनले त्यो क्षण यसरी विस्तार गरे- 'मेरो विवाह भएकै वर्ष विपी कोइरालाले बनारसबाट सशस्त्र संघर्षको आह्वान गरे। केदारनाथ श्रेष्ठ त्यही खबर लिएर धरान आए। म पनि सशस्त्र संघर्षको वातावरण बनाउने अभियानमा जुटे। म र राजेश्वर आचार्यले पर्चा लेख्ने जिम्मेवारी लियौँ। दुई जनाले छुट्टाछुट्टै पर्चा बनायौँ। दुवैको पर्चा लिएर हरिहर दाहाल फारविसगञ्ज जानुभयो र मेरो पर्चा छापियो। छापेर ल्याएपछि हरिहर दाहाल, विश्वराज भण्डारीलगायतले धरानको सिनेमा हलबाहिर पर्चा छरे। पर्चा छरेलगत्तै उनीहरू पक्राउ परे।

उनका अनुसार विगतको दुःख भनेको गाडिसकेको सिनो जस्तै हो। त्यसलाई उधिन्न थाल्दा लाभभन्दा हानि धेर हुन्छ तर भविष्य सिरुपाते खुकुरी जस्तै हो- जति घोट्यो, त्यति धारिलो हुन्छ।

उनीहरू पक्राउ परेको थाहा पाएपछि म पनि पक्राउ पर्ने डरले लुकेँ। १५ दिनजति लुकेर बस्दा पनि कसैले खोजी गरेजस्तो लागेन। कसैले खोजी नगरेको निश्चित भएपछि म विद्यालय गएँ। मलाई त्यही दिन प्रहरीले समात्यो। म बस्ने कोठामा खानतलासी भयो। कोठामा विपीको फोटो, ‘श्री ५ महेन्द्रका एक सय आठ अपराधहरू’ भन्ने भरतशमशेरले लेखेको किताब र तरुण पत्रिका भेटियो। त्यतिबेलाको समयमा यति प्रमाण नै मलाई कारबाही गर्न प्रहरीलाई पर्याप्त भयो। अन्तत: अञ्चलाधीशले मलाई दुई वर्ष कैद र दुई हजार रुपियाँ जरिवानाको फैसला गरिदिए।' 

पढ्न श्रीमतीको औँठी बेचे 

विवाह गरेकै वर्ष जेल परेपछि न्यौपाने जेलमै बसेर पढ्न थाले। जेलभित्र रहेका कांग्रेसका नेताहरूसँग सम्बन्ध पनि बढ्यो। त्यतिबेला उनी एमए पहिलो वर्ष पास भइसकेका थिए तर दोस्रो वर्षको फारम भर्न उनीसँग पैसा भएन। श्रीमती जेलमा भेट्न आएका बेला न्यौपानेले विवाहमा लगाएको सुनको औँठी बेचेर पैसा ल्याउन लगाए। त्यही रकमले फारम भरे। जेलमै बसेर पढिरहेका बेला उनलाई काठमाडौंको मुख्य कारागारमा सारियो। मुख्य कारागारमा कृष्णप्रसाद भट्टराई, रामराजाप्रसाद सिंहलगायत नेता थिए। उनीहरूसँग संगत बढाउँदै, पढ्दै न्यौपानेले जेलबाटै एमए दोस्रो वर्षको परीक्षा दिए। जेलमा हुँदा कविता पनि लेख्थे। उनी हरेक दिन नयाँनयाँ कविता लेखेर कृष्णप्रसाद भट्टराईलाई सुनाउँथे। यही क्रमले उनले दुई वर्षको जेल सजाय काटे। 

शिक्षकको जागिर खोसियो

दुई वर्ष जेल सजाय भुक्तान गरेपछि उनी पुनः धरान आए। फेरि पढाउन थाले। केही दिनपछि नेपालमा नयाँ शिक्षा लागू भयो। सबै विद्यालय राष्ट्रियकरण भए। शिक्षकहरूले पुनः नियुक्ति लिनुपर्ने भयो। पुराना सबैले नियुक्ति पाए तर उनले पाएनन्। जागिर खोसिएपछि न्यौपाने भौँतारिए तर केही समयपछि नै सुनसरी सदरमुकाम इनरुवाको भगवती माविमा काम पाए। फेरि हात्तीसार क्याम्पसमा सहायक प्रशासक भएर पनि केही समय काम गरे। हात्तीसारको जागिर छाडेर काठमाडौं हानिए उनी। न्यौपाने जागिरका लागि भैरहवासमेत पुगे। फेरि उनी भोजपुर, धनकुटा हुँदै धरानै आइपुगे। जागिर गुमाएपछि भविष्य खोज्दै हिँडेका न्यौपानेले जागिरकै क्रममा आठपहरिया राई भाषाको अध्ययन अनुसन्धान गरी त्यसैमा विद्यावारिधि गरे। लोहरुङ भाषाको व्याकरण लेखे। सफल प्राध्यापक तथा भाषाविद्का रूपमा स्थापित छन् अहिले उनी। 

कृति र सम्मान

'आठपहरिया राईको भाषिक अध्ययन’माथि २०५८ सालमा त्रिविबाट पिएचडी गरेका न्यौपानेले लोहरुङ भाषा (संखुवासभामा हुने जाति)को व्याकरण लेखेका छन्। न्यौपानेका 'साहित्यको रूपरेखा', 'नेपाली ध्वनिशास्त्र' (सहलेखन), 'भाषाविज्ञानको रूपरेखा', 'भाषाविज्ञानका प्रमुख सिद्धान्त', 'व्यावहारिक नेपाली व्याकरण', 'मानक नेपाली व्याकरण र कार्यमूलक लेखन' आदि झन्डै एक दर्जन पुस्तक प्रकाशित छन्। नेपाली भाषा, व्याकरण, साहित्य र प्राध्यापनमा गरेको दीर्घसाधनाका निम्ति डा. न्यौपानेले सेवा पदक, दीर्घ सेवा पदक, नेपाल विद्याभूषण ‘क’, भानुभक्त स्वर्ण पदक, डा. गणेश भण्डारी स्मृति पुरस्कार, प्रथम सार्क भाषा पुरस्कार, डा. नरेन्द्र चापागाईं स्मृति पुरस्कारलगायतका सम्मान र पुरस्कार पाएका छन्। 

प्रेरणाको स्रोत

टंक न्यौपाने प्राध्यापन कर्म, भाषाको विज्ञताका लागि मात्र होइन, लेखनमा लागेको नयाँ पुस्ताका लागि उत्प्रेरकका रूपमा समेत रहेका छन्। उनी विभिन्न क्षेत्रबाट सम्मानित भएका छन्। सुनसरीमा उनलाई नागरिकले दुई वर्षअघि रथारोहणसहित नागरिक अभिनन्दन गरे। उनको कद जत्रै आकारको ताम्रपत्र र अभिनन्दनग्रन्थ प्रकाशन गरियो। यस कर्मक्षेत्रमा यस किसिमको सम्मान पाउने उनी नै पहिलो व्यक्ति हुन्।

धरानको शारदा बालिका विद्यालयबाट २०२६ सालमा शिक्षणमा प्रवेश गरेका न्यौपानेले भोजपुर बहुमुखी क्याम्पसमा एेच्छिक नेपाली पढाएकी छात्रा विद्यादेवी भण्डारी अहिले राष्ट्रपति छन्। यस्तै, भोजपुरमै पढाएका दुर्जकुमार राई सशस्त्र प्रहरी बलका महानिरीक्षक, डा. शंकरप्रसाद कोइराला अर्थमन्त्रीसम्म भए भने भैरहवामा पढाएका कुवेरसिंह राना पनि प्रहरी महानिरीक्षक भइसकेका छन्। न्यौपानेका दुई छोरा र एक छोरी छन्।

नयाँ पिँढीलाइ टंक सरको सुझाव

बोलीमा मात्र होइन, व्यवहारमा पनि उस्तै रहेका न्यौपाने विगत सम्झेर दुःखी हुनुभन्दा भविष्यप्रति आशावादी हुनु राम्रो हुने बताउँछन्। उनका अनुसार विगतको दुःख भनेको गाडिसकेको सिनो जस्तै हो। त्यसलाई उधिन्न थाल्दा लाभभन्दा हानि धेर हुन्छ तर भविष्य सिरुपाते खुकुरी जस्तै हो- जति घोट्यो, त्यति धारिलो हुन्छ। न्यौपाने जस्तोसुकै परिस्थितिमा पनि पढ्न नछाडेका कारण अहिलेको ठाउँमा आइपुगेका बताउँदै अरूलाई पनि दु:खमा नआत्तिन सुझाव दिन्छन्। आफूले केही गर्न नसक्नुको दोष समय, भाग्य र अरू मान्छेलाई लगाउनुको साटो आफूभित्रको क्षमता पहिचान गर्नुपर्ने उनको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.