|

रुकुम : रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा चोरको विगविगी बढेको छ। सदरमुकाम मुसिकोटको खलंगा, सल्ले, बागबजार, सेरीगाउँ, पिपलनेटा लगायतका बजार क्षेत्रमा दैनिकजसो चोरीका घटनाहरू भइरहका छन्। चोरीका अधिकांस घटनाहरूमा बालबालिकाहरूकै संलग्नता बढी पाइएको छ।

बजार क्षेत्रका फेन्सी पसल, मोबाइल पसललगायत व्यक्तिगत घरमा पसेर सुनचाँदी, पैसा, खाद्यान्न सामाग्री, कपडा, जुत्ता-चप्पलसमेत चोरी हुने गरेको स्थानीयले बताएका छन्। चोरीसँगै अन्य अपराधिक घटनाहरू पनि सँगसँगै हुने गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

असार अन्तिमतिर मुसिकोट खलंगा बजारमा रहेको अमित फेन्सी स्टोरको सटर तोडफोड गरेर ब्राण्डेड कपडा र नगदसहित करित्र ९१ हजार बराबरको चोरी भएको प्रोप्राइटर अमित सुनारले जानकारी दिए। उक्त घटना घटाएको आरोपमा प्रहरीले बाँफिकोट गाउँपालिका १० का १७ वर्षीय र आठविसकोट नगरपालिका १३ का १७ वर्षीय दुई किशोर पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीले जानकारी दिए। आरोपित किशोरले आफ्नो पसलबाट चोरेको कपडा लगाएर बजारमा हिँडेको देखेपछि आफूले प्रहरीलाई उजुरी दिएको प्रोप्राइटर सुनारले बताए।

त्यसैगरी मालपोत कार्यालय रुकुम पश्चिममा कार्यरत सुब्बा घनश्याम केसीको घरबाट काँचो सुन, सुनका गरगहना र नगदसहित करिब तीन लाख बराबरको चोरी भएको छ। चोरीको आरोपमा तीनजना किशोरलाई पक्राउ गर्‍यो। प्रहरीका सामु चोरी स्वीकार गरेता पनि जिल्ला अदालतमा भने आफूले नचोरेको बयान दिए। पछि जिल्ला अदालतले परिवारको जिम्मा लगाउन आदेश दिएको थियो।

यसका साथै घरमै राखेको मोटरसाइकल चोरीको आरोपमा मुसिकोट नगरपालिका १२ का १८ वर्षीय एक किशोर पक्राउ गरी अदालत पेसपछि पुर्पक्षका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ। उनले सोही निवासी शिक्षक नन्दलाल रोकायको मोटरसाइकल चोरी गरेको बताइएको छ।

त्यसैगरी मुसिकोट नगरपालिका ५ पिपलनेटामा रामकली घर्तीको घरमा पाहुना बस्न आएको बहानामा दुईतोला सुन चोरी भएको पीडितले जानकारी दिए। मुसिकोट नगरपालिका १ चन्दननाथ टोलमा रहेको देवबहादुर खड्काको पसलबाट आधा तोला सनुसहित खाद्य सामानसमेत चोरी भएको छ। चोर पत्ता लगाउन अहिलेसम्म नसकिएको खड्काले बताए।

यी घटना जानकारीमा आएका ठूला चोरीका घटना मात्र हुन्। यसबाहेक थुप्रै सा-साना चोरीका घटना हुने गरेको र प्रायः बालबालिकाहरू नै यस्ता घटनामा संलग्न हुने गरेको प्रहरीले जनाएको छ। बालबालिका संलग्न चोरीका घटनामा अभिभावकको रोहवरमा घटना नदोहोर्‍याउने शर्तमा मुद्दा दर्ता नगरेरै फिर्ता गर्ने गरिएको छ।

यसरी किशोर किशोरीहरू चोरीमा संलग्न हुँदा उनीहरू भविष्यमा सही बाटोमा हिँड्न नसक्ने र समाजका लागि राम्रो नहुने जिल्ला बालकल्याण समिति रुकुम पश्चिमका बालअधिकार अधिकृत मानवीर ओलीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.