|

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्ले जकार्ता एसियाडबाट पहिला भन्दा बढी पदक आउने दाबी गरेको छ। १८औं एसियाडको उद्घाटन भदौ २ गते इण्डोनेसियाको जकार्तामा हुँदै छ।

एसियाली राष्ट्रको ओलम्पिक भनिने एसियाली खेलकुदमा ४५ राष्ट्रका एघार हजार खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगितामा नेपालबाट २९ खेलका २८५ खेलाडीले सहभागिता जनाउँदैछन् । जसमध्ये १२९ पुरुष र ५६ महिला खेलाडीले इण्डोनेसियामा नेपालको प्रतिनिधित्व गर्नेछन् । उनीहरुको साथमा ४८ प्रशिक्षक, २४ ब्यवस्थापक, २७ अफिसियल र एक जना दोभाषे रहेका छन्।

एशियाडबारे जानकारी गराउन राष्ट्रिय खेलकूद परिषद् राखेपले गरेको पत्रकार सम्मेलनमा सदस्य सचिब केशवकुमार विष्टले विगतको भन्दा यसपटकको तयारी राम्रो भएकाले पदकको संख्यामा बृद्धि हुने दाबी गरे। अघिल्लो संस्करणको एसियाडमा करातेकी विमला तामाङले कास्य पदक जित्दै नेपाललाई पदकविहिन हुनबाट जोगाएकी थिइन्। त्यसअघि चीनको ग्वान्जाउमा भएको संस्करणमा पनि बक्सिङका दिपक महर्जन नेपालका लागि पदक जित्ने एक्ला खेलाडी थिए।

पत्रकार सम्मेलनमा सदस्य सचिब विष्टले नेपालले मार्सल आर्टमा पदक भित्रिने आँकलन गर्दै पहिलो पटक समावेश प्याराग्लाईडिङबाट पनि पदकको अपेक्षा गरिएको बताए। एशियाडका लागि २९ मध्य २१ खेलका खेलाडीहरुलाई बैदेशिक प्रशिक्षणमा पठाइएको र उनीहरुको मेहनतले गर्दा पनि नतिजामा सकारात्मक प्रभाव पार्ने जिकिर गरे।

सेफ द मिसन समेत रहेका सदस्य सचिब विष्टले खेलाडी र ब्यवस्थापक बाहेक एक सय जना भन्दा बढी नेपाली पदाधिकारी इण्डोनेसिया जाने बताए । यो टोलीमा युवा तथा खेलकुद मन्त्रालय, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद् र पत्रकार रहनेछन्। विगतमा अनाबश्यक व्यक्तिहरुको भिड हुने गरेकोमा यस पटक आवश्यकता अनुशारको ब्यक्तितलाई मात्र इण्डोनेसियामा जान सिफारिस गरिएको सदस्य सचिव विष्टको भनाई छ।

सदस्य सचिवले २९ मध्य २१ खेलका खेलाडीहरु एशियाडका लागि प्रस्थान गरिसकेको जानकारी दिए। उनले बाँकी खेलाडी र पदाधिकारी आफ्नो तालिका अनुशार त्यसतर्फ लाग्ने जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.