कहाँ हट्यो यातायात सिन्डिकेट!

|

भक्तपुर : सार्वजनिक यातायात क्षेत्रको विसंगति र विकृति हटाई प्रतिष्पर्धात्मक व्यवस्थाबाट गुणस्तरीय सेवा विस्तार गर्ने भन्दै सरकारले यातायात क्षेत्रको सिन्डिकेट खारेज गरेको घोषणा गरे पनि भक्तपुरको सार्वजनिक यातायात क्षेत्रमा भने कुनै सुधार आउन सकेको छैन। नियमित अनुगमन नहुँदा यात्रुहरू सकसपूर्ण यात्रा गर्न बाध्य छन्। सिन्डिकेट खारेज भए पनि नयाँ व्यवसायीको प्रवेश नहुनु, भएका बसहरू पुरानै समितिअन्तर्गत निर्वाध सञ्चालन हुनुले सार्वजनिक यातायातको सेवा सुविधामा कुनै परिवर्तन र सुधार आउन नसकेको हो।

पुराना बसहरूमा कोचिएर यात्रा गर्नुपर्ने, जहाँ पायो त्यही बस रोक्ने, एउटै बस स्टपमा धेरै बेर रोक्ने गरेको यात्रुहरूको गुनासो रहेको छ। ‘सरकारले सिन्डिकेट खारेज भएको जतिसुकै ठूलो कुरा गरे पनि हामी यात्रुहरूले त्यसको अनुभूति गर्न पाएका छैनौँ।’ भक्तपुर नगरपालिका–१० का सरीता अवालले भने, ‘उही पुराना बसमा कोचिएर यात्रा गर्नु परेको छ।’ उनले कमलविनायकबाट रत्नपार्क पुग्न दुई घण्टा समय लाग्ने गरेको गुनासो गर्दै भने, ‘एकातिर जामको समस्या छ, अर्कोतर्फ जहाँ पायो त्यही गाडी रोक्ने, यात्रु बढी हाल्न खोज्ने पुरानै प्रवृत्ति रहेको छ।’

त्यस्तै अर्का यात्रु कृष्णा श्रेष्ठले पनि सिन्डिकेट खोरज भएको अनुभूति गर्न नपाएको गुनासो गरे। ‘हिजो र आजको अवस्थामा कुनै परिवर्तन भएको छैन, खोई सिन्डिकेट खारेज भयो की भएन थाहा भएन’ उनले भने।

चाँगुनारायण नगरपालिका–९ ताथलीका हरिकृष्ण छुंकाले च्याम्हासिंहसम्म पुग्न एकघण्टा लाग्ने गरेको बताए। ताथलीदेखी च्याम्हसिंहसम्मको करिव सात किलोमिटरको उक्त दूरीमा चल्ने सार्वजनिक बस आलोपालो क्यू प्रणालीअन्तर्गत एक/एक घण्टामा चल्ने गरेको छ। सरकारले सिन्डिकेट ताडे पनि अहिलेसम्म केही आभाष गर्न नपाएको उनले बताए। ‘यात्रुलाई सहज तुल्याउन भन्दै सरकारले सिन्डिकेट खारेज गरे पनि हामीले आभाष गर्न पाएका छैनौँ। अवस्था पुरानै छ, बढी भाडा उठाउने, कोचीकोची मान्छे राख्ने, जहाँ पायो त्यही मान्छे चढाउने गर्छ। नयाँ गाडी थपेको छैन। उही पुरानो बिग्रेका गाडीहरूमै चढ्न बाध्य छौँ,’ उनले भने।

मयुर यातायातले बनेपाबाट भक्तपुर हुँदै कोटेश्वर चक्रपथ परिक्रमा रुटमा यातायात सञ्चालन गरेपछि उत्पन्न विवादले सरकारले गत चैत १८ गते यातायात क्षेत्रको सिन्डिकेट खारेज भएको घोषणा गर्‍यो। देशभरका सबै यातायत समिति खारेज गर्दै कम्पनीमा दर्ता गर्नुपर्ने प्रावधान लागू गर्‍यो।

तर बितेका तीन महिना यता अरनिको राजमार्ग भएर जाने बनेपा, धुलिखेल, पनौती, सिन्धुली बर्दिबास र उदयपुरसम्म केही नयाँ यातायात व्यवसायीहरूको प्रवेश हुनुका साथै सूर्यविनायकबाट पोखरासम्म आरामदायी र अत्याधुनिक पर्यटक बस सेवा सञ्चालन भएता पनि जिल्लाको ग्रामीण भेगको रुटमा न त नयाँ व्यवसायीको प्रवेश भएको छ न त पुराना व्यवसायीले नयाँ बस नै थपेको छन। बस सेवामा पनि कुनै परिवर्तन आउन सकेको छैन।

जिल्लाको चाँगुनारायण, गुण्डु, छालिङ, तेलकोट, नगरकोट, सुडाल, ताथली, डोलेश्वर, तर्खगाल, दुवाकोट नेक कलेज, विरुवालगायतका ग्रामीण भेगमा सञ्चालित रुटमा नयाँ व्यवसायीको प्रवेश नहुनुले पुराना व्यवसायी र समितिकै हाली मुहाली रहेको छ।

भक्तपुरमा तीनवटा यातायात समिति सक्रिय छन्। भक्तपुर मिनिबस सेवा समितिले ग्रामीण भेगमा नयाँबसपार्क–छालिङ्ग, नयाँबसपार्क–वागेश्वरी, नयाँबसपार्क–डोलेश्वर, तेलकोट–बसपार्क, बिरुवा–रत्नपार्क, झौखेल–रत्नपार्क, एक्सप्रेस, लगनखेल–कमलविनायक, नयाँबसपार्क–चाँगुनारायण, दुधपाटी–कोटेश्वरहुँदै कलंकी रुटमा बससेवा सञ्चालन गरिरहेको भक्तपुर मिनिबस सेवा समितिका अध्यक्ष दिनेश प्रधानले जानकारी दिए।

त्यसैगरी मध्यपुर यातायात सेवा सद्भाव समितिले भक्तपुरको दूधपाटीदेखि पुरानो बाटो हुँदै लगनखेल, रत्नपार्क, नयाँबसपार्क, सरस्वती खेलबाट सानो थिमि हुँदै लगनखेल, रत्नपार्क, नयाँबसपार्कमा यातायात सञ्चालन गर्दै आइरहेको छ।

त्यस्तै मध्यपुर थिमि यातायात सद्भाव समितिले थिमिको शंखधर चोकदेखि रत्नपार्क, राधेराधेबाट रत्नपार्क र गाम्चा तर्खालमा बस सञ्चालन गर्दै आइरहेको छ। यसको अलावा मध्य उपत्यका यातायात समितिले रत्नपार्कदेखि दुवाकोट हुँदै नेक कलेज र च्याम्हसिंहसम्म, नयाँ बसपार्कदेखि च्याम्हसिंहसम्म बस सञ्चालन गर्दै आइरहेको छ।

समिति अझै सक्रिय

सरकारले यातायात समिति खारेज गर्दै कम्पनीमा दर्ता गर्नुपर्ने र साउनदेखि यातायात समिति नवीकरण नगर्ने नीति अवलम्वन गरे पनि भक्तपुरमा भने यातायात समिति अझै सक्रिय रहेको छ। उनीहरूले नियमितरूपमा बसको रुट व्यवस्थापन र आलोपालो क्यू प्रणालीमा बस सञ्चालन गर्ने, कारबाहीका लागि ट्राफिक प्रहरीले खिचेका कागजपत्र ल्याइदिने कार्य नियमितरूपमा गर्दै आइरहेका छन्।

भक्तपुर मिनिबस सेवा समितिका अध्यक्ष दिनेश प्रधानले अन्योलका बीच पुरानै तरिकाले समितिले काम गरिरहेको जानकारी दिए। उनले सेवा विस्तार र सार्वजनिक यातायातको सुधारका लागि समितिले नयाँ बस थप्ने र नयाँ-नयाँ रुटमा बस सेवा विस्तार गर्दै आएको बताउँदै सरकारले समिति नै खोरज गर्दै नवीकरण नगर्ने नीति लिएपछि कसरी जाने भन्ने अन्योल रहेको बताए।

‘समितिमा दर्ता भएका बसका मालिकहरू भिन्न-भिन्न छन। कसरी कम्पनीमा जाने भन्ने अन्योल रहेको छ। अहिलेलाई पुरानै हिसाबले बस सञ्चालन गर्दै आइरहेका छौँ,’ उनले भने।

उनले समिति खारेज भएसँगै ग्रामीण भेगको बस सेवामा थप समस्या आउन सक्ने औँल्याए। ‘ग्रामीण भेगमा बाटो पनि राम्रो छैन, यात्रु पनि भने जति पाइदैन। व्यवसायीलाई घाटा छ। तर समितिले आलोपालो प्रणालीमार्फत ग्रामीण भेगमा सेवा दिइरहेका थियौँ। अब समिति नै खारेज भएपछि कसरी व्यवस्थापन हुन्छ भन्न सकिन्न।’

उनले कम्पनीमार्फत नयाँ आउने व्यवसायीको चाहना पनि सेवामुखीभन्दा नाफामुखी देखिएको गुनासो गरे। ‘कम्पनीको रुपमा नयाँ आएका व्यवसायीहरूले शहरी र नाफा हुने रुटमा मात्र बस सञ्चालन गरेका छन्,’ उनले भने, ‘हामीले ग्रामीण भेगमा पुर्‍याएको सेवाको मूल्यांकन भएन। हाम्रो योगदानको कदर भएको देखिएन। हामीलाई राज्यले अपराधी झैँ व्यवहार गर्‍यो।’

सरकारले सिन्डिकेटको खारेजीसँगै सार्वजनिक यातायातलाई कसरी अघि बढाउने भनी स्पष्ट नीति ल्याउन नसकेको उनले बताए। ‘पुराना कार्यविधि खारेज गरी नयाँ ढंगबाट जानुपर्छ भनेको छ। यो ठीक छ तर कसरी जाने यसले सरकार, व्यवसायी र यात्रुलाई के फाइदा हुन्छ? यस विषयमा बुझाउन सकेको छैन', उनले भने, ‘एक्कासी आएर गाडी सञ्चानल गर्न पाउँदैन, संघ संस्था सबै खारेज हुन्छ भन्दा व्यवसायी हतोत्साही भएका छन्। सरकारले लागू गरेको यो नीति नियम अस्पष्ट हुँदा नयाँ गाडी थप्ने कुरा त परको हो, भएको पुराना गाडीहरू आफैँ थन्किने अवस्थामा आउन सक्छ।’

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जिल्लामा यातायात क्षेत्रको सिन्डिकेट पूर्ण रूपमा हटेको जानकारी दिए। उनले भने, ‘सिन्डिकेट पूर्ण रूपमा हटेको छ। यातायात क्षेत्रमा कुनै समस्या छैन।’

आशापुरी क्षेत्रमा अझै सार्वजनिक यातायात सेवा छैन

भक्तपुरका विभिन्न ग्रामीण भेगमा सार्वजनिक यातायातका साधन चल्न थालेको लामो समय बितिसक्दा पनि जिल्लाको दक्षिण पूर्वी भेगमा रहेको प्रसिद्ध आशापुरी क्षेत्रमा भने अझै सार्वजनिक यातायातका साधन चल्न सकेको छैन। सार्वजनिक यातायात सेवा नहुँदा त्यस क्षेत्रका बासिन्दा भक्तपुरका शहरी क्षेत्रमा आवतजावत गर्नका लागि पैदल हिँड्नु पर्ने बाध्यता छ। पछिल्ला समय केही नीजि सवारी साधनले सेवा प्रवाह गर्न थाले पनि आशापुरीका बासिन्दा अत्यन्त महँगो भाडा तिर्न बाध्य छन।

सार्वजनिक यातायातका साधन नहुँदा आशापुरी, नैचाल, पाटीभञ्ज्याङ, काँक्रबारीलगायतका क्षेत्रका स्थानीयलाई भक्तपुरको प्रमुख शहरी क्षेत्र सूर्यविनायक, जगाती, च्याम्हसिंह र कमलविनायमात्र होइन विभिन्न सरकारी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पुग्नसमेत एक सयदेखि दुईसय पचास रुपैयाँसम्म भाडा तिरेर नीजि सवारी साधन र दूध बोक्ने गाडीमा चढेर आउनु पर्ने बाध्यता रहेको छ।

‘सार्वजनिक यातायात चढ्नलाई पाँच किलोमिटर पर डोलेश्वरसम्म पैदल जानु पर्‍यो। सामान पनि हुन्छ, गार्‍हो हुने भएकाले यहाँका नीजि कार र दुधको गाडीमा ५० देखि २५० रुपैयाँसम्म भाडा तिरेर जान बाध्यछौँ।’ सूर्यविनायक नगरपालिका–८, आशापुरीकी देवीमाया घिसिङले भनिन्। सार्वजनिक यातायातका साधन नहुँदा कतै आफन्त कहाँ जरुरी कामले तुरुन्त जानु पर्ने अवस्थामा निक्कै समस्या हुने गरेको उनले बताइन्। ‘कतै अपर्झट जानु पर्‍यो भने सार्‍है समस्या छ’ उनले थपिन्।

साउन एक महिना भने डोलेश्वरसम्म आउने बस आशापुरीसम्म आउने गरेको उनले जानकारी दिइन्। ‘यो ठाउँमा साउन महिनाको प्रत्येक सोमबार भने डोलेश्वरसम्म चल्ने बस यहाँसम्म आउने गरेको छ। रिर्जभ बस पनि आउँछ। साउने सोमबार आशापुरी दर्शनका लागि आउने दर्शनार्थीसँग भाडा बढी लिन पाउने भएकाले एक महिना गाडीको व्यवस्था गर्छ, अरू बेला छैन। यहाँका बासिन्दाले अहिलेसम्म सहज रूपमा कहिलै भाडाको गाडीमा चढ्न पाएका छैनन्’ उनले भनिन्।

भक्तपुर मिनिबस सेवा समितिले सूर्यविनायक ८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरलाई केदारनाथको शिर घोषणागरेसँगै तीर्थालु भक्तजनको भीड लाग्न थालेपछि डोलेश्वरदेखि नयाँ बसपार्कसम्म सार्वजनिक यातायात सञ्चालन गरेको छ। तर पाँच किलोमिटर परको आशापुरीसम्म सो यातायात बिस्तार गरेको छैन।

‘पाटी भन्ज्याङबाट सूर्यविनायक चोकसम्म पुग्न सय रुपैयाँ खर्च गर्नुपर्छ। यहाँ कुनै व्यवासायीले गाडीको व्यवस्था गरेको छैन। यहाँका स्थानीयको प्राइभेट कार चार वटा छन्। यहाँका बासिन्दा त्यही कारमा आवतजावत गर्छन।’ सूर्यविनायक नगरपालिका–८ पाटी भन्ज्याङकी उषा तामाङले भनिन्, ‘हामीले स्थानीय सरकारको त आभाष गर्न पाएका छैनौँ भने सरकारले सिन्डिकेट खारेज गरेको आभाष कहिले पाउने? अलिकति सामान कतै लग्नु पर्‍यो भने आठ सय रुपैयाँमा नीजि कार रिजर्भ गर्नुको विकल्प छैन।’

डोलेश्वरसम्म चलेको सार्वजनिक यातायात सेवालाई आशापुरीसम्म विस्तार गर्न धेरै पटक प्रयास गर्दासमेत बाटोको कारण देखाउँदै समितिले नमानेको आशापुरेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष टुल्कु लामाले बताए। ‘मिनिबस सेवा समिति र वडामा भाडाको बस सञ्चालन गरिदिन पटक-पटक निवेदन दिएका छौँ। डोलेश्वरदेखी पाटी भञ्ज्याङसम्मको बाटो घुमाउरो, साँघुरो र उकालो भएका कारण बस आउन मानेको छैन,’ उनले भने। 

डोलेश्वरसम्म बस सञ्चालन गर्दै आइरहेको भक्तपुर मिनिबस सेवा समितिका अध्यक्ष दिनेश प्रधानले पनि अप्ठ्यारो बाटोको कारण बस सञ्चालन गर्न नसकेको बताए। साउन महिनामा आशापुरी महादेवको दर्शनका लागि आउने तीर्थालु भक्तजनको सुविधाका लागि जेनतेन बस सञ्चालन गरे पनि अन्य बेला यात्रुको चाप नभएकाले त्यसलाई निरन्तरता दिन नसकिएको उनले जानकारी दिए।

सूर्यविनायक नगरपालिका ८ सिपोडोलका वडाअध्यक्ष किरण थापाले यसवर्षको हिँउददेखि बस सञ्चालन गर्ने तयारी भइरहेको बताए। ‘अहिले केही नीजि कार भाडामा सञ्चालन भइरहेको छ। दसैंदेखि आशापुरीसम्म भाडाका बस चलाउने तयारी गरिरहेका छौँ,’ वडाअध्यक्ष थापाले भने, ‘भाडाको बस सञ्चालन गरेपछि आशापुरीलगायत काभ्रेको खालचोक र नासिकालगायतका स्थानीयलाई पनि सहज पुग्नेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.