|

पर्वत : अविरल वर्षापछि आएको पहिरोले म्याग्दीको मालिका गाउँपालिका २ रुमको बिलबाङमा ४ घर पुरेको छ। बुधबार बिहानपख घर माथिबाट झरेको पहिरोले स्थानीय तिजमान पुन, नर बहादुर पुन, सोमप्रसाद पुन र नोट बहादुर पुनको घरमा आंशिक तथा पूर्ण क्षती पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक बीरबहादुर बुढाले जानकारी दिए। 

मान्छेहरु घरधन्दाका लागि उठीसकेको बेलामा पहिरो खसेका कारण घरमा भएकाहरु समयमै भाग्न पाएका कारण मानवीय क्षति भने भएको छैन। यद्यपि स्थानीय मीना कुमारी पुन र वसन्त पुन सामान्य घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भैरहेको छ। पहिरोले घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा लगायत अन्य बन्दोबस्तीका सामान भने पुरेको छ।

बिलवाङमा खसेका अन्य साना ठूला पहिरोका कारण अन्य १५ घर पहिरोको उच्च जोखिममा रहेको र उनीहरुलाई पनि सुरक्षित स्थानमा सारीसकिएको प्रहरी नायव उपरीक्षक बुढाले बताए। पहिरोबाट पिडित बनेकाहरुलाई रेडक्रस, लायन्स क्लव, स्थानीय समाजिक संघसंस्था लगायतले राहात पनि वितरण गरेका छन। 

अन्नपूर्ण गाउँपालिकामा विद्यालय बगायो

यस्तै, बर्षासंगै उर्लिएर आएको कालीगण्डकी नदीले अन्नपूर्ण गाउँपालिका ४ कोप्चेपानीमा रहेको धवलागिरी आधारभूत विद्यालयको भवन नै बगाएको छ। 

कालीगण्डकी नदीमा आएको भेलले धार परिवर्तन गरेर कटान  गर्दा मंगलबार राती ६ ओटा कोठा रहेको भवन बगेको हो। कक्षा ३ सम्म पठनपाठन हुने विद्यालयमा बिस जना विद्यार्थीहरु अध्ययनरत छन्। केही दिन देखिको निरन्तरको बर्षासंगै कालीगण्डकी नदीमा आएको बाढीले कालीगण्डकी नदीले बस्तीतर्फ कटान गर्दा भूक्षय भएको छ। त्यसबाहेक विद्यालय नजिकै रहेको कोप्चेपानी बस्तीमा रहेका २४ घरधूरीमध्ये ८ घरधूरी कालीगण्डकी कटानको उच्च जोखिममा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.