यसरी बितेको थियो पहिलो कार्यकालको ११७ दिन

|

काठमाडौं : सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा पुन: सुशील ज्ञवालीलाई नियुक्त गरेको छ। केपी शर्मा ओलीको पहिलो कार्यकालमा पनि ज्ञवालीलाई नै प्राधिकरणको सिइअो नियुक्त गरिएको थियो। 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई प्राधिकरणको सिइअो नियुक्त गरेको हो। शेरबहादुर देउवाको पालामा नियुक्त भएका युवराज भुसाल बर्खास्तीमा परेसँगै यो पद खाली थियो। पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले नियुक्ति गरेका ज्ञवालीलाई पुष्पकमल दाहाल 'प्रचण्ड'को पालामा दुई पटक स्पष्टीकरण सोधेर हटाइएको थियो। उनले आफूले बिना कारण  हटाएको भन्दै सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका थिए। उनको मुद्दा अझै किनारा लागेको छैन।

यसरी बितेको थियो ज्ञवालीको पहिलो कार्यकालको ११७ दिन

  • पुनर्निर्माणका लागि आवश्‍यक पर्ने रकमको प्रतिवेदन, स्वयंसेवक परिचालनसम्बन्धी निर्देशिका, २०७३, निजी आवास पुनर्निर्माण प्राविधिक निरीक्षण कार्यविधि, २०७३ लगायतका निर्देशिका तयार।
  • भूकम्प अतिप्रभावित १४ जिल्लाका पाँच लाख ४३ हजार १०७ घरधनीसँग अनुदान सम्झौता, चार लाख ५८ हजार ५९२ घरधनीलाई पहिलो किस्ताको अनुदान वितरण। 
  • पहिलो किस्ताको रकम उपयोग गर्दै १८ हजार घरहरू निर्माणको चरणमा रहेको। 
  • घरधुरी सर्वेक्षण, अनुदान सम्झौता र वितरणका क्रममा दुई लाख चार हजार १७७ वटा गुनासो आएकोमा ७९ हजार ३२२ वटा गुनासो सुनुवाइ। 
  • पुरातात्त्विक सम्पदाहरूमध्ये १५ वटा सम्पदाको पुनर्निर्माण कार्य सम्पन्‍न, ६९ वटाको कार्य सुरु गरिएको। २०० वटा स्वास्थ्य केन्द्रको प्रिफेब्रिकेटेड संरचनामा पुनर्निर्माण सम्पन्‍न। १६९ वटाको पुनर्निर्माण जारी। 
  • ३२ वटा सरकारी भवनको प्रिफेब्रिकेटेड संरचनामा पुनर्निर्माण सम्पन्‍न। २२८ को निर्माण कार्य जारी। 
  • शैक्षिक संस्थातर्फ २०० वटा विद्यालयको पुनर्निर्माण भएको छ। १२ सय वटा पुनर्निर्माणको क्रममा। 
  • भूकम्पबाट क्षति भएका खानेपानी आयोजनामध्ये २९७ वटाको पुनर्निर्माण कार्य सम्पन्‍न। ९६१ आयोजनाहरूको पुनर्निर्माण सुरु गरिएको।

मेरो पद जोगिन्छ कि जान्छ, सोच्ने फुर्सद पाएको छैन

नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओलीको सरकारलाई अविश्‍वासको मत लिएर सरकारमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेका थिए। प्रचण्डले सरकारको कार्यभार सम्हालेसँगै ज्ञवालीको पद पनि जाने अनुमान गरिएको थियो।

उनको काम चित्त नबुझेको भन्दै प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण माग्न सुरु गरेका थिए। सोही क्रममा तपाईंको पद जाने चर्चा छ नि भन्ने थाहाखबरको प्रश्‍नमा ज्ञवालीले 'मेरो पद जोगिन्छ कि जान्छ सोच्ने फुर्सद छैन तर मेरो योग्यता प्रस्तुत गर्छु' भन्ने जवाफ फर्काएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.