|

  • हमिद फहिम/एमाल हैदरी

अफगानिस्तान : गहुँ बाली ओइलाएपछि र पानीका कुवा सुकेपछि गुलाम अब्बासले गाईबस्तु बेचे र हजारौँ पीडित किसानझैं सपरिवार शहरतिर बसाईं हिडेका छन्। युद्धको विभिषिका दिनरात व्यहोर्न बाध्य यहाँका किसानमाथि दशौं वर्षपछिको चरम खडेरीले जीवनमा नयाँ बज्रपात निम्त्याएको छ।

हिउँदका महिनामा देशैभर हिउँ र वर्षा असाध्यै कम पर्‍यो र त्यसले हिउँदे बालीलाई ठूलो क्षति पुर्‍यायो। पहिल्यैदेखि कमजोर आर्थिक स्थितिमा बाँचिरहेका करोडौँ अफगानीमाझ यस पटकको खडेरीले पीडामाथि पीडा थपेको छ, र देशैभर गम्भीर खाद्य संकट हुने चेतावनी आउन थालेका छन्।

अफगानिस्तानको सामान्यतया राम्रै उब्जनी हुने उत्तरी सहर बाल्खको चारकिन्त गाउँका हजारौं किसानजस्तै ४५ वर्षीय अब्बास कामको खोजीमा प्रान्तीय राजधानी मजार–ए–शरिफमा ११ जनाको परिवारसहित आइपुगेका छन्।

'यो वर्षको जस्तो कठोर खडेरी मैले जीवनमा कहिल्यै भोगेको थिइनँ,' कृषि पेशाबाट जीवन निर्वाह गरिरहेका अब्बासले भने। उनको जीवन गुजाराको एकमात्र साधन खेतीपाती नै हो। सुख्खा र ज्यातै तातो मौसमका कारण यस वर्षको बचेखुचेको फसल वसन्त र गृष्म ऋतुमा नै तयार हुनेछ।

भोकमरी पूर्वानुमान प्रणाली सञ्जालका अनुसार, अफगानिस्तानमा सन् २०१८ को गहुँ उत्पादन सन् २०११ यताकै सबैभन्दा कम हुने अनुमान गरिएको छ।

यो वर्ष गहुँको उत्पादनमा करिब २५ लाख टन कमी हुनेछ। यो स्थितिमा २० लाखभन्दा बढी मानिसले खाद्य संकटको सामना गर्नुपर्नेछ र अर्को छ महिनामा मानवीय सहायता अति जरुरी हुने संयुक्त राष्ट्रसंघले जनाएको छ।

'यदि सरकारी निकाय र अन्तरराष्ट्रिय समुदायले बेलैमा यस चुनौतीका बारेमा कदम नचाल्ने हो भने अफगानिस्तानमा अर्को हिउँद लाग्दा–नलाग्दा ठूलै विपत्ति आइलाग्नेछ,' अफगानिस्तानका लागि राष्ट्रसंघीय मानवीय संयोजक टोबी लान्जरले बताए।

तर अब्बासजस्ता हजारौँ परिवारले आशा मारिसकेका छन्, र उनीहरू घरगाउँ छाडेर कामको खोजीमा शहरतिर पसेका छन्। राष्ट्रसंघको अनुमानमा सुख्खाकै कारण ७०,००० भन्दा बढी मानिस विस्थापित भएर शहरी इलाकामा गइसकेका छन्।

'तीन वर्षअघि त हाम्रो गाउँमा राम्रो वर्षा हुनुका साथै प्रशस्त हिउँ परेको थियो,' अब्बासले भने, 'बाली राम्रो भएको थियो र मैले एकै सिजनमा तीन लाखभन्दा बढी अफगानी मुद्रा कमाएको थिएँ। तर यो वर्ष, मैले आफ्ना भेडाबाख्रा बेच्दा पनि एक लाखभन्दा कम आम्दानी गरेको छु।'

कम वर्षा हुनथालेपछि बाल्खको अधिकांश खेतीयोग्य जमिन र गाईवस्तुका चरन सुख्खा भएको बाली व्यवस्थापनसम्बन्धी प्रान्तीय निर्देशक जाबिउल्लाह जूबिनले बताए।

'प्रान्तका ४५०,००० भन्दाबढी किसान र फिरन्ते गोठालाले आफ्ना गाईबस्तु, भेडाबाख्रा काटेर खाइसके वा थोरै मूल्यमा बेचिसके,' जूबिनले भने।

'गाउँका सबै मानिस अहिले आफ्ना बचेका गाईवस्तु के गर्ने र तिनीहरूलाई कसरी बचाउने भनेर चिन्तित छन् किनभने उनीहरूको जीवनको आधार नै ती गाईबस्तु थिए,' दलत अबाद जिल्लामा भेडाबाख्रा चराउने गोठाला हाजी सोराबले बताए।

यही अफगानिस्तानमा तालिबान र इस्लामिक स्टेटका लडाकूलाई परास्त गर्नेतर्फ सुरक्षाफौजले दिनरात संघर्ष गरिरहेको छ, र आम नागरिकको मृत्यु ठूलो संख्यामा भइरहेको छ।

कृषि नै अफगानिस्तानको अर्थतन्त्रको मेरुदण्ड हो। यस क्षेत्रले करिब एक करोड ५० लाख मानिसलाई रोजगारी दिएको छ। राष्ट्रसंघका अनुसार अफगानिस्तानका २० वटा प्रान्तका जनता यसपटक खडेरीबाट सर्वाधिक पीडित भएका छन्।

विगतमै बेरोजगारीको दर उच्च रहेको अफगानिस्तानमा पछिल्लो समय ठूलो संख्यामा इरान र आन्तरिकरुपमा विस्थापित अफगानी आफ्ना घरगाउँ फर्किएकाले अरु काम पाउने सम्भावना ज्यादै न्यून छ।

कृषि तथा पशुपालन मन्त्रालयका प्रवक्ता अकबर रुस्तामीले भने, 'बजारमा भेडा र बाख्रा बेच्न किसानमाझ तँछाडमछाड चलेकोले मूल्यमा भारी कमी आएको छ। किसान भेडाबाख्राको मूल्यमा अझै कमी आउला भनेर भयग्रस्त छन्।'

यहीबीच, गाईवस्तुको दानाको मूल्यमा पनि वृद्धि भएको छ। रुस्तामीकअनुसार, मुलुकभर पशुपालन गर्ने कृषकका लागि ठूलै परिमाणमा दानाको आवश्यकता देखिएको छ। अफगानी अधिकारीले किसानका लागि ज्यादै सीमित मात्र सुविधा उपलब्ध गराउन सकेका छन् र अन्तर्राष्ट्रिय दातृ निकाय पनि बढ्दो माग सम्बोधन गर्न प्रयासरत छन्।

राष्ट्रसंघीय खाद्य तथा अन्य सहायता सुख्खा–प्रभावित प्रान्तमा हालैका महिनाहरूमा चार लाख ६० हजारभन्दा बढी परिवारसम्म पुगेको छ, तर मागको तुलनामा यो एक तिहाइभन्दा कम हो। राष्ट्रसंघका एक अधिकारीका अनुसार अफगान सरकार र अन्तर्राष्ट्रिय निकायबीच ६० हजार टन गहुँ उपलब्ध गराउने सम्झौता भएको छ।

'पहिचान गरिएको सेवासुविधा र सहायता तत्कालै किसानसम्म नपुगेमा खडेरी झेल्ने बाली जस्तै अफिम खेतीतर्फ किसान आकर्षित हुनेछन्,' अब्बासले भने।

सन् २००१ मा अमेरिकी नेतृत्वको सेनाले मनोद्दीपक लागुऔषधको विरुद्ध करोडौँ डलर खर्च गरे पनि अफगानिस्तान अझै पनि विश्वमा अफिमको सबैभन्दा ठूलो उत्पादक राष्ट्र हो।

'सैनिकको खर्च धान्नसमेत कठिन रहेको सरकारलाई दुर्गम भागसम्म पुगेर मानिसलाई मद्दत गर्न कठिन छ,' अब्बासले भने, 'यस्तो परिस्थितिले अन्ततोगत्वा कानुन–निषेधित बालीनाली लगाउनेतर्फ मानिसलाई बाध्य बनाउँछ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.