|

काठमाडौंः निर्माण व्यवसायीहरुले पनि भदौ १ गतेबाट लागू हुने भनिएको मुलुकी अपराध (संहिता) ऐन तत्काल संशोधन गर्न सरकारसँग माग गरेका छन्। 

नेपाल निर्माण व्यवसायी महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुकी अपराध (संहिता) ऐन तत्काल संशोधन गर्न सरकारसँग माग गरेको हो। महासंघका महासचिव रामशरण देउजाले सो ऐन संशोधन नभई लागू गरिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए।

ऐनमा काममा गुणस्तर नभए निर्माण व्यवसायीलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएकोमा महासंघको आपत्ति छ। महासचिव देउजाले व्यवसायीहरुलाई पेशाबाटै पलायन हुनेगरी ल्याइएको मुलुकी अपराध (संहिता) ऐन संशोधन गरेर मात्रै लागू गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए। 

सरकारले आगामी भदौं १ गतेदेखि मुलुकी ऐन प्रतिस्थापनका लागि सो ऐनसहित ५ वटा ऐन एकसाथ लागू गर्दैछ। महासंघले दिउँसोको समयमा ट्रिपर चलाउन नदिने सरकारको निर्णयप्रति पनि कडा आपत्ति जनाएको छ। निर्माण सामग्री आपूर्ति गर्न कठिनाई हुने भएकाले सो समस्या समाधान गर्न पनि ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गरिएको महासचिव देउजाले बताए।

सरकारले एक पक्षीय ढंगले आफूहरुलाई मारमा पार्ने खालको विभिन्न निर्णय लिएको निर्माण व्यवसायीहरुको आरोप छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.