|

जाजरकोट : नलगाड नगरपालिका २ ३ र ४ मा बाढीका कारण करोडौँको क्षति पुगेको छ। स्थानीय झुप्रा खोलामा आएको बाढीले चार घर, दुई पुल बगाउनुका साथै स्थानीयको सयौँ रोपनीको खेतमा क्षति पुर्‍याएको छ। 

बाढीले स्थानीयका  घर, १५ वटा घुम्ती पसल, चार मिल, ५५ घट्ट, दुईवटा ट्रस ब्रिज पुल बगाएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए। उनका अनुसरा धान रोपेको सयौँ रोपनी खेतमा समेत क्षति पुर्‍याएको छ।

मंगलबार राति आएको बाढीले नलगाड नगरपालिका ३, घुवाराका गोकर्ण चन्द, धनबहादुर रावल, वडा ५ का खीमलाल जैसी र वडा २ का कौशीबहादुर विष्टको घर बगाएको हो।  वडा ३ का वडा अध्यक्ष प्रचण्ड ओलीको मिल, जग्गा बाढीले बगाएको छ।

त्यस्तै बाढीले नलगाड ३ र ४ जोड्ने घुवारामा रहेको ट्रस ब्रिज पुल, वडा २ र ५ जोड्ने कालीमाटीस्थित ट्रस ब्रिजपुल पनि बगाएको नगरप्रमुख रावलले बताए। झुप्रा खोलाको बाढीले स्थानीय रामबहादुर विकको एकसहित दुईवटा मिल बगाएको रावलले बताए।

उक्त खोलामा आएको बाढीले नलगाड ३ को साङट् खेत, २ र ४ को कैनाखेत, सिस्नेरी खेत, बागमारे खेत, सादनमुरा खेत, रानीखेत लगाएत सयौँ रोपनी खेत बगर बनाएको उनले बताए।

खोलाले पुल बगाएपछि बारेकोट, कालीमाठीबजार, दल्लीलगायत स्थानतर्फको आवतजावत पूर्णरूपमा बन्द भएको नगरप्रमुख रावलले बताए। बाढीले अन्य जग्गा जमिनलगायत क्षति गर्ने क्रम बढेको र उक्त बाढीका कारण छेप्का र कालीमाठीबजार जोखिममा परेको उनको भनाइ छ। बाढीका कारण यस क्षेत्रका ७०  बढी घरपरिवार विस्थापित भएको उनले बताए। वडा ८ वगारामा बाढीका कारण पाँच घर ढुबानमा परेका छन्।

त्यस्तै पंञ्च भयार माविको भवण पहिरोले पुरेको छ। त्यहाँ रहेका सोलार कार्यालयका कागजात समेत नष्ट भएका छन्। नलगाड नगरपालिका वडा ७ दानीपिपल खोलाले बगाएर बुधबार बिहान ३९ वर्षीय उमेशवहादुर शाहीको  मृत्यु भएको नलगाड नगरप्रमुख रावलले जानकारी दिए। खोलामा आएको बाढीले झण्डै ५० मिटर तल पुर्‍याएपछि स्थानीयहरूले शाहीको उद्धार गरेको भएता पनि उनको मृत्यु भइसकेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.