|

त्रिपुराकोट(डोल्पा) : हिमाली जिल्ला डोल्पामा पहिरोको डरले एक स्थायी प्रहरी चौकी नै विस्थापित भएको छ। ठूलीभेरी नगरपालिकामा ९ मा पर्ने स्थायी प्रहरी चौकी कालागौँडा पहिरोको डरले विस्थापित भएको हो।

पहिरोसँगै आएको ठूलो ढुंगाले चौकीको आँगन भासिएको छ भने गारोको छेउमा हालिएका काठका रेलिङहरुसमेत भाँचिएका छन्। बुधबार राति ३ बजे चौकी माथिबाट पहिरो खसेर चौकीमा क्षति पुर्‍याएकाले चौकी अर्को घरमा सारिएको प्रहरी निरीक्षक  शशीराम ओलीले जानकारी दिए।

चौकीलाई आंशिक रूपमा क्षति भए पनि निरन्तर पहिरो खसिरहेकाले बस्न नसकिने स्थिति भएपछि चौकी सरेको ओलीले जानकारी दिए। चौकीका सबै सामानहरु र प्रहरीहरु सरे पनि चौकीको बोर्ड त्यतै रहेको र आईपर्ने प्राकृतिक प्रकोपविरुद्ध सचेत गराउन प्रहरीले सुरक्षा दिइरहेको बताइएको छ। निरन्तरको पहिरोले कालागौँडा बस्तीका दश घर जोखिममा रहेको वडा नं ९ का अध्यक्ष बिरमल भण्डारीले जानकारी दिए।

केही घरधनीहरु जोखिमयुक्त ठाउँ छोडेर सुरक्षित ठाउँतर्फ गइसकेको र बाँकी घरहरुलाई त्यता नबस्न सचेतसमेत गराइएको उनले जानकारी दिए।निरन्तर खसिरहेको पहिरोले आन्तरिक रुपमा चलिरहेको जुफाल दुनै यातायात प्रभावित भएको छ भने पैदलयात्रीलाई समेत जोखिम बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.