'रंगमञ्चमा काम नगरी फिल्म गरेकालाई रंगमञ्चको मज्जा थाहै हुँदैन'

|

काठमाडौं : हरेक मान्छेमा फरक प्रतिभा हुन्छ तर सीमित व्यक्ति मात्र बहुप्रतिभाका धनी हुन्छन्। बहुप्रतिभाका धनी सीमित व्यक्तिमध्येका एक हुन्, श्रीओम श्रेष्ठ 'रोदन'। उनी पेसाले पत्रकार हुन्। सरकारी स्वामित्वमा रहेको गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक हुन्। उनी पत्रकारितासँगै साहित्य र रंगमञ्चका क्षेत्रमा पनि क्रियाशील छन्। 

२०४० सालमा ‘नयाँ मार्ग’ सप्ताहिकबाट जागिर सुरु गरेका श्रेष्ठको रुचिको क्षेत्र भने साहित्य र रंगमञ्च नै हो। ‘पेसाका हिसाबले म पत्रकार हुँ’, उनी भन्छन्, ‘तर रुचि भने साहित्य र रंगमञ्चमा छ।’ २०४८ सालमा गोरखापत्रमा जागिर सुरु गरेका उनले करिब २४ वर्ष साहित्यिक पत्रिका मधुपर्कमा काम गरे। साहित्यिक पत्रकारिताबाट भर्खरै मूलधारको पत्रकारिताको जिम्मेवारीमा आएका उनी साहित्यिक पत्रकारितालाई मूलधारको पत्रकारिताभन्दा केही सहज ठान्छन्।

‘साहित्यिक पत्रकारितामा आर्थिक हिसाबले केही समस्या छ। अरू त मूलधारको पत्रकारिताभन्दा सहज नै छ’, उनले भने, ‘मूलधारको पत्रकारितामा धेरै समस्या छन्। सधैँ अप टु डेट हुनुपर्छ। फेरि गोरखापत्रमा त सरकारको नीति नियमअनुसार चल्नुपर्छ। पाठक र प्रतिपक्षलाई पनि अपनत्व गर्न सक्ने बनाउनुपर्छ। धेरै अप्ठ्यारो हुने रहेछ।’

पत्रकारिताबाहेक उनी साहित्यमा पनि लामो समयदेखि क्रियाशील छन्। हालसम्म उनका निबन्ध, कथा, लघुकथा, नियात्रालगायत विधाका ११ कृति प्रकाशन भएका छन् भने अन्य १४ वटा कृति सम्पादन गरिसकेका छन्। उनले २०३६ सालमै नाटकमा अभिनय गरेका थिए। चैत ३० गते राष्ट्रिय नाचघरमा प्रदर्शन भएको नाटकबाट उनले अभिनय यात्रा सुरु गरेका थिए। पछि युवा नाट्य समूह (युनाप) नामक संस्था नै गठन गरेर उनी नाट्य क्षेत्रमा लागे। यसबीचमा उनले दुई दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन्। उनले विभिन्न टेलिसिरियल र ठूलो पर्दाका चलचित्रमा पनि अभिनय गरेका छन्। 

१८ वर्षदेखि उनी नाटक क्षेत्रमा सक्रिय थिएनन्। जागिरमा समय दिनुपर्ने भएका कारण पनि उनलाई नाटकमा आउन समस्या थियो। फेरि नाटकका लागि लामो समय पूर्वाभ्यास (रिहर्सल) गर्नुपर्ने भएका कारण पनि नाटकमा अभिनय गर्ने मौका मिलिरहेको थिएन रोदनलाई। तर करिब एक महिनाअघि ‘तीन बहिनी’ नामक नाटकमा उनले अभिनय गरे।

‘१८ वर्षपछि अभिनय क्षेत्रमा आएँ’, उनी भन्छन्, ‘तर नाटक खेल्छु भन्ने सोच पनि थिएन। घिमिरे युवराजले आग्रह गर्नुभयो र लामो समयपछि खेलेँ। तर जागिरबाट अवकास पाएपछि नाटक खेल्छु भन्नेचाहिँ सोचेको थिएँ।’ 

उनी रंगमञ्चमै रमाउन मन पराउँछन्। पर्दामा भन्दा रंगमञ्च नै प्यारो छ श्रेष्ठका लागि। ‘मैले ठूलो पर्दामा पनि काम गरेको छु। सिमाना, जूनी, विश्वासलगायत फिल्ममा काम गरिसकेको छु तर त्यतातिर खासै मन गएन’, उनी भन्छन्, ‘नाटकमा रियालिटी हुन्छ। फिल्ममा त्यो पाइन्न। रंगमञ्चमा सबै लाइभ हुन्छ। त्यसको मज्जा छुट्टै छ। रंगमञ्चमा काम नगरी फिल्म गरेकालाई रंगमञ्चको मज्जा थाहै हुँदैन।’

पछिल्लो समय रंगमञ्चका धेरै कलाकारहरू चलचित्र क्षेत्रतर्फ आकर्षित छन्। यसको मुख्य कारण व्यावसायिकता नै देख्छन् श्रेष्ठ। ‘पहिला रंगमञ्चमा काम गर्दा भाडा तिर्नसमेत नपाएका साथीहरू अहिले आफ्नै गाडी चढेर हिँड्नुहुन्छ’, उनी भन्छन्, ‘त्यसको मुख्य कारण सिनेमामा व्यावसायिकता छ। सिनेमामा प्रचार पनि छ।’

‘यसका चलचित्रका जस्ता दर्शक हुँदैनन्। नाटक सामान्य दर्शकका लागि होइन’, उनी भन्छन्, ‘नेपालमा पनि चेतनशील मान्छेले मात्र नाटक हेर्छन्।’

२०३० को दशक, जुनबेला नेपालमा मिडिया अहिलेजस्तो आएको थिएन। राष्ट्रव्यापी सञ्चार माध्यमका रूपमा रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्र दैनिक मात्र थिए। केही अखबार र साहित्यिक पत्रिका ठूला शहरमा केन्द्रित थिए। 'रेडियो नेपालले रंगमञ्चलाई स्थान नै दिँदैनथ्यो। गोरखापत्रमा हप्तामा एक दिन रंग समीक्षा भन्ने स्तम्भ थियो। त्यसमा समावेश हुनै गाह्रो हुन्थ्यो', उनी भन्छन्, 'त्यो रंग समीक्षामा पर्दा प्रचारका लागि निकै ठूलो उपलब्धि हुन्थ्यो।'

त्यो बेलाको प्रचार शैलीबारे श्रेष्ठ भन्छन्, 'अहिलेको जस्तो सञ्चार माध्यम थिएन। त्यो बेला त बाध्यताले कलाकारहरू आफैँ ब्यानर बोक्थे, आफैँ पोस्टर टाँस्थे अनि प्रचार गर्थे। त्यसबेला धेरै दु:ख थियो। प्रचारका लागि रत्नपार्कमा पोस्टर टाँस्ने चलन थियो।’ 

उनी अब दुई वर्षमा सेवा निवृत्त हुँदै छन्। त्यसपछि साहित्य र कलाकारितामै रमाउने उनको योजनामा छन्। ‘साहित्य त छाड्छु भनेर छाडिने होइन। साहित्यसँगै कलाकारितामा पनि आउँछु’, उनी भन्छन्, ‘निवृत्त भएपछिको फुर्सदिलो समयमा सशक्त ढंगबाट कलाकतारितामा आउँछु।’ तर उनलाई चलचित्र क्षेत्रमा भने खासै रहर छैन। उनी जति सक्छन् त्यति रंगकर्ममै योगदान गर्ने लक्ष्यमा छन्।

नेपाल रंगमञ्चका लागि नेपाल दक्षिण एसियामै उत्कृष्ट भएको श्रेष्ठ दाबी गर्छन्। २०४६ पछि नेपालको रंगमञ्च सशक्त भएको उनको भनाइ छ। तर यो चलचित्र जस्तो व्यावसायिक नभएको बताउँछन् उनी। ‘यसका चलचित्रका जस्ता दर्शक हुँदैनन्। नाटक सामान्य दर्शकका लागि होइन’, उनी भन्छन्, ‘नेपालमा पनि चेतनशील मान्छेले मात्र नाटक हेर्छन्।’

सबै क्षेत्रमा समय दिन धेरै मुस्किल हुन्छ। फेरि नाटक र पत्रकारितमा त साहित्यभन्दा धेरै समय दिनुपर्ने हुन्छ। तर श्रेष्ठले भने समयलाई व्यवस्थापन गरिरहेका छन्। ‘समयलाई त आफूले व्यवस्थापन गर्न जान्नुपर्छ। अप्ठ्यारो त हुन्छ तर अप्ठ्यारोमा काम गर्नुको मज्जा नै छुट्टै छ’, उनी भन्छन्, ‘म पत्रकारिता, साहित्य क्षेत्र र रंगमञ्चमा मात्र होइन, विभिन्न संघसंस्थाको सल्लाहकार छु, तैपनि समय व्यवस्थापन गरी नै रहेको छु।’ उनी रेडियोमा कार्यक्रम संचालनदेखि डकुमेन्ट्री निर्माणसम्मका काम गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.