नविल बैंकको चार अर्ब बढीको नाफा

|

काठमाडौं : पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकबाहेकका वाणिज्य बैंकले अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। २७ बैंकको वित्तीय विवरणअनुसार चार बैंकको अघिल्लो वर्षको तुलनामा नाफा घटेको छ भने २३ बैंकको नाफा बढेको छ। 

एउटै बैंकले चार अर्ब पाँच करोड रुपैयाँसम्म नाफा आर्जन गर्दा दुईवटा बैंकले भने एक अर्ब रुपैयाँ पनि नाफा पुर्‍याउन सकेका छैनन्। पछिल्लो समय कर्जा विस्तार र निक्षेप संकलनमा आक्रामक देखिएको एनआइसी एसिया बैंकले सबैभन्दा कम नाफा आर्जन गरेको छ। यस बैंकको यो आर्थिक वर्ष २०७४/०७५ को नाफा ८२ करोड रुपैयाँ मात्रै रहेको छ। त्यस्तै, सिटिजन इन्टरनेसन बैंकले पनि एक अर्ब रुपैयाँ नाफा पुर्‍याउन चुकेको छ। उसको नाफा ९६ अर्ब रुपैयाँ मात्र रहेको छ। 

यी हुन् दुई अर्ब बढी नाफा कमाउने पाँच बैंक

गत आर्थिक वर्षमा पाँचवटा बैंकले दुई अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् भने यसमध्ये नविल बैंकले चार अर्ब रुपैयाँ बढी र नेपाल इन्भेष्टमेन्ट बैंकले तीन अर्ब रुपैयाँ बढी नाफा कमाएका छन्। 

२०७३/०७४ को तुलनामा नविल बैंकले ४४ करोड रुपैयाँ र इन्भेष्टमेन्ट बैंकले ४६ करोड रुपैयाँ नाफा बढाएर क्रमश: चार अर्ब पाँच करोड रुपैयाँ र इन्भेष्टमेन्टले तीन अर्ब ५७ करोड रुपैयाँ पुर्‍याएको छ। 

त्यस्तै, सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले गत वर्ष अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी नाफा बढाएको छ। उसले एक वर्षमा एक अर्ब ८१ करोड रुपैयाँ नाफा बढाएको हो। 

आर्थिक वर्ष २०७३/०७४ मा एक अर्ब १८ करोड रुपैयाँ मात्रै नाफा बढाएको नेपाल बैंकले २०७४ /०७५ मा दुई अर्ब ९९ करोड रुपैयाँ नाफा पुर्‍याएको छ। त्यस्तै, निजी क्षेत्रको हिमालयन बैंकले पनि करिब साढे दुई अर्ब रुपैयाँ नाफा पुर्‍याएको छ। गत वर्षको तुलनामा ३० करोड रुपैयाँले नाफा बढाएर दुई अर्ब ४७ करोड रुपैयाँ पुर्‍याएको हो। 

यी चार बैंकले घटाए नाफा

चार बैंकले भने २०७३/०७४ को तुलानामा नाफा घटाएका छन्। नाफा घटाउनेमा नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक, सिटिजन बैंक र एनआइसी एसिया बैंक रहेका छन्। 

यी चार बैंकको अघिल्लो वर्षको तुलनामा क्रमश: १०, ९, ३३ र २७ करोड रुपैयाँ बराबरको नाफा कम भई एक अर्ब १० करोड, एक अर्ब २१ करोड, ९६ करोड र ८२ करोड रुपैयाँ नाफा रहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.