|

विराटनगर : तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टीको प्रदेश र जिल्ला तहको एकता अन्तिम चरणमा पुगेको छ।

पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्रबीच केन्द्रमा एकता भएको ३ महिनापछि प्रदेश र जिल्ला तहमा पार्टी एकताको अन्तिम तयारी भइरहेको छ।

मोरङमा दुई पार्टीबीच एकताको विधि कार्यदलले टुंगो लगाएको छ। मंगलबार अबेरसम्म काठमाडौंमै बसेको कार्यदलको बैठकले एकताको विधि तय गरेको कार्यदल सदस्य तथा तत्कालीन नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोपी अछामीले जानकारी दिए।

मोरङको जिल्ला कमिटी १८५ सदस्यीय बन्ने र त्यसमा पूर्वएमालेबाट ११० र पूर्वमाओवादीबाट ७५ जना रहने सहमति कार्यदलमा भएको छ। यसैगरी जिल्लाको अध्यक्ष पूर्वएमालेले लिने र सचिव पूर्वमाओवादीले लिने पनि सहमति कार्यदलमा भएको छ। कार्यदलमा पूर्वएमालेबाट विनोद ढकाल र महेश रेग्मी तथा पूर्वमाओवादीबाट गोपी अछामी र कुशल लिम्बू थिए।

मोरङका ६० र ४० प्रतिशतका आधारमा एकता गर्ने सहमति भएको हो। सहमतिअनुसार आफ्नो भागमा परेका सदस्यहरूको नाम तयार गर्ने काम भइरहेको नेताहरूले बताएका छन्। नामसहितको प्रतिवेदन कार्यदलले प्रदेश कार्यदलमा बुझाउनेछ। जिल्ला कार्यदलमा भएको सहमतिलाई प्रदेश हुँदै केन्द्रीय सचिवालयमा पेस हुनेछ। त्यसको अन्तिम टुंगो भने सचिवालयले लगाउने नेताहरूले बताएका छन्।

जिल्ला कार्यदलमा अध्यक्ष र सचिव कसले लिने भन्ने टुंगो भए पनि इञ्जार्ज र सह–इञ्चार्जबारे सहमति हुन सकेन। केन्द्रीय तहअनुसार अध्यक्ष लिनेलाई सह–इञ्चार्ज र सचिव लिनेलाई इञ्चार्ज दिनेगरी छलफल भइरहेकोले पूर्वमाओवादीले इञ्चार्जमा दावी गरेको छ। पूर्व एमालेले भने जिल्लाको उपस्थितिको आधारमा इञ्चार्जमा पनि दावी गरिरहेको छ। जिल्ला कार्यदलमा सहमति नभएकोले इञ्चार्ज र सहइञ्चार्जको टुंगो भने अब प्रदेश कार्यदलले लगाउने भएको छ।

जिल्ला तहको एकता सकिएपछि १७ स्थानीय तह र जनवर्गीय संगठनहरूको एकता प्रक्रियाले गति लिने देखिएको छ। त्यस विषयमा छिट्टै निर्णय गर्ने नेताहरूले बताएका छन्। मोरङसहित प्रदेशका अन्य १३ वटै जिल्लाको एकताको विधि पनि आजभोलि नै टुंगो लाग्ने नेताहरूले बताएका छन्।

एकताको सहमति जुटेसँगै मोरङको अध्यक्ष र सचिव एउटै भूगोलको हुने संभावना देखिएको छ। अध्यक्षमा पूर्वएमालेका जिल्ला सचिव ऋषिकेश पोखरेल र सचिवमा पूर्व माओवादीका जिल्ला सहसंयोजक गणेश उप्रेतीको करिब निश्चित रहेको नेताहरूले बताएका छन्। उनीहरू दुवैजना मोरङ क्षेत्र नं. २ बाट गएको निर्वाचनमा पराजित भएका उम्मेदवार हुन्। पोखरेल प्रतिनिधिसभा र उप्रेती प्रदेशसभाका उम्मेदवार थिए।

दुवै पार्टीका तत्कालीन जिल्ला अध्यक्षहरू विनोद ढकाल र गोपी अछामी पार्टीको केन्द्रीय सदस्य रहेकोले उनीहरू जिल्ला नेतृत्वमा नरहने भएकोले पोखरेल र उप्रेतीले अवसर पाउने भएका हुन्। यद्यपि अध्यक्षमा तत्कालीन एमालेका जिल्ला उपाध्यक्ष रामलाल साहको पनि दावी छ। केन्द्रीय सदस्य नरहेकाबाट जिल्ला अध्यक्ष र सचिव चयन गर्ने पार्टीको कार्यविधि भएकोले अन्य नेताहरूले अवसर पाउने भएका हुन्।

जिल्लाको इन्चार्ज र सह–इन्चार्जको भागबण्डा भने प्रदेशले गरेको सिफारिसको आधारमा केन्द्रीय सचिवालयले गर्ने भएको छ। इन्चार्ज र सह–इञ्चार्जको जिम्मेवारी विनोद ढकाल र गोपी अछामीले पाउने संभावना छ।

यसअघि नै प्रदेश १ को एकता गर्न संख्यामा भने सहमति भइसकेको छ। प्रदेश कमिटि २०७ सदस्यीय रहने र त्यसमा पूर्व एमालेबाट १२२ तथा पूर्व माओवादीबाट ८५ जना रहने सहमति भएको छ। पूर्वएमालेका भीम आचार्य र शेरधन राई तथा पूर्व माओवादीका राम कार्की र सावित्रीकुमार काफ्ले सम्मिलित प्रदेश एकता कार्यदलले प्रदेश कमिटीको अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्जको भागबण्डा भने लगाउन सकेको छैन। यद्यपि प्रदेशको अध्यक्ष पूर्व एमालेका देवराज घिमिरे र सचिव पूर्व माओवादीका सावित्रीकुमार काफ्ले हुने संभावना रहेको छ।

प्रदेश कमिटीमा मोरङका २५ जनाभन्दा बढी अटाउने भएका छन्। पूर्व एमालेबाट १५ जनाभन्दा धेरै र पूर्व माओवादीबाट १० जना प्रदेश कमिटीमा पर्ने भएका छन्। पूर्व एमालेबाट प्रदेश कमिटीमा रहनेहरूको सूची अन्तिम भइनसकेको कार्यदलका सदस्य महेश रेग्मीले जानकारी दिए।

पूर्व माओवादीले भने १० जनाको सूची टुंगो लगाएर सिफारिस गरेको छ। पूर्व माओवादीबाट मोरङका कुशल लिम्बू, गणेश उप्रेती, हेम कार्की, अरुण सुन्दास, खेम भट्टराई, भोगेन्द्र यादव, अमनलाल मोदी, विजय विश्वास, गीता तिम्सिना र विनिता घिमिरे प्रदेश कमिटीमा रहने भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.