|

विराटनगर : विराटनगर महानगरपालिकाभित्र गत आइतबार भएको बम विष्फोटको घटना रहस्यमयी बनेको छ। बम विष्फोटको आरोपमा पक्राउ परेकाहरू निर्दोश देखिएको र महानगरको सिसिटिभिमा कुनै पनि रेकर्ड फेला नपरेकोले घटना रहस्यमयी बनेको हो।

बम विष्फोटको घटना नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गराएको आशंकामा प्रहरीले सो पार्टीका केही कार्यकर्तासहित नौजनालाई पक्राउ गरेको थियो। तर, घटनामा उनीहरूको संलग्नता पुष्टि नभएकोले क्रमशः प्रहरीले उनीहरूलाई थुनामुक्त गरिरहेको छ।

पक्राउ परेकाहरूको घटनामा संलग्नता नदेखिएपछि महानगरको सिसिटिभी फुटेजबाट दोषीसम्म पुग्ने प्रहरीको अपेक्षा थियो। कार्यालयभित्र भएको घटना अनुसन्धानको प्रहरीले महानगरको सिसिटिभीको रेकर्ड राखिने कम्प्युटरको हार्डडिस्क लिएर गएको थियो। तर, हार्डडिस्कमा कुनैपनि फुटेज नदेखेपछि प्रहरी आफैँ छक्क परेको छ।

महानगरमा आठवटा सिसिक्यामेरा जडान गरी प्रमुख भीम पराजुलीले कार्यकक्षबाट त्यसको निरीक्षण गर्ने गरेका थिए। पराजुलीका अनुसार महानगरको सिसिटिभी अपडेट थियो र रेकर्ड पनि नियमित थियो। तर, बम विष्फोटपछि प्रहरीले लगेको सिसिटिभीको रेकर्ड राखिएको कम्युटरको हार्डडिस्कमा कुनै पनि रेकर्ड फेला नपरेको मोरङ प्रहरीका एसपी मनोजकुमार केसीले बताए।

महानगरले सिसिटिभी जडान गरेको भए पनि रेकर्डिङ मोडमा नराखिएकाले बम विष्फोटको दिन महानगरको गतिविधि रेकर्ड नभएको प्रहरीले जनाएको छ। सीसीटीभीको रेकर्ड नभेट्दा अनुसन्धान लम्बिएको एसपी केसीले बताए।

महानगर प्रमुख पराजुलीले भने सिसिटिभीको फुटेज रेकर्ड नहुने कुरा असम्भव रहेको दाबी गरेका छन्। आफूले घटनाभन्दा केहि समयअघि हेर्दा सिसिटिभी रेकर्ड अपडेट रहेको दाबै गर्दै उनले कसरी अहिले खाली देखियो भन्नेतर्फ पनि अनुसन्धान गर्नुपर्ने बताए। बम पड्काउनकै लागि रेकर्ड बन्द गरिएको हो भने पनि त्यसको प्रहरीले गम्भीर अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ।

प्रहरी र महानगर प्रमुखको सिसिटिभी फुटेज बारेको फरक–फरक भनाइले घटनालाई थप रहस्यमयी बनाएको छ। सो घटना विप्लब नेतृत्वको नेकपाले गराएको आशंका प्रहरीले गरे पनि सो पार्टीले खण्डन गरेको थियो। दिनदहाडै अति व्यस्त कार्यालयमा बाम विष्फोट हुनु र महानगरको सिसिटिभीमा त्यसको रेकर्ड नहुनुले महानगरकै कर्मचारीको मिलेमतोमा घटना भएको त हैन भन्ने आशंका पैदा भएको छ।

गत आइतबार कार्यालय समयमा महानगरको माथिल्लो तलामा रहेको प्रमुखको कार्यकक्ष अगाडिको सेवाग्राही बस्ने स्थानमा अज्ञात समूहले बम विष्फोट गराएको थियो। विस्फोटबाट त्यहाँका फर्निचर, झ्यालका सिसा र आगनमा पार्किङ गरिएको प्रमुख चढने गाडीको सिसामा क्षति भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.