|

बागलुङ : दुई दिनदेखिको लगातार झरीपछि निसीखोलामा पहिरो खस्दा बेपत्ता भएका एकै घरका सासू–बुहारी पहिरोले पुरिएको अवस्थामा मृत भेटिएका छन्। 

निसीखोला गाउँपालिका- ३ को बोहोरागाउँमा गएको पहिरोले स्थानीय मानबहादुर शाहीको घर पुरिएको थियो। घर पुरिएपछि उनकी ६५ वर्षीया श्रीमती धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली शाही पुरिएको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले दिएको जानकारीअनुसार बिहान साढे ५ बजे पहिरो खसेर उनीहरू पुरिएका थिए। 

पहिरो खसेर पुरिएको थाहा पाएपछि स्थानीय बासिन्दा, प्रहरी र सेनाको सहयोगले मृतकको शव निकालिएको थियो। पहिरोमा शाहीका पाँच वर्षका नाति विनोद शाहीको भने सकुशल उद्धार गरिएको छ। 

दुई छोरा भारतमा रोजगारी गरेका शाहीकी जेठी बुहारी र श्रीमतीको मृत्यु भएको हो। दिनभरको खोजी र उद्धारपछि शव निकालिएको हो। लगातार पानी परेकाले बिहान शव उत्खनन् गर्नसमेत गाह्रो भएको र पानी रोकिएपछि मात्र सहज भएको स्थानीयले बताए।

मंगलबार राती नै बोहोरागाउँ र देवीस्थानमा खसेका अरू पहिरोले आधा दर्जन घरमा क्षति पुगेको बताइएको छ। पहिरोको जोखिम भएकाले केही घरपरिवार डरले विस्थापित भएर आफन्तकहाँ बसेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए। 

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी झिवाखोला र इलाका प्रहरी कार्यालय बुर्तिवाङका उद्धार टोली घटनास्थलतर्फ गएका थिए। नेपाली सेनाको अर्जुनवाण गणले पनि २५ जनाको उद्धार टोली पठाएको थियो। प्रहरीका अनुसार ठूलो पहिरो नभए पनि घरलाई बढी क्षति पुर्‍याएकाले मृतकले भाग्ने अवसरसमेत नपाएका हुन्। घटनाको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल र प्रहरी उपरीक्षक दीपक रेग्मीसमेत घटनास्थल पुगेका थिए। शाही बिहान उठेर गोठमा गएको समयमा पहिरो खसेकाले उनी बचेका थिए। शव फेला परेपछि पोस्टमार्टम गरेर दाह संस्कार गरिने चन्दले जानकारी दिए।

निसीखोलामा बाढी र पहिरोकै कारण अन्य दर्जन बढी घर जोखिममा परेको बताइएको छ। अघिल्लो वर्ष निसीखोला- २ देवीस्थानस्थित बाहुनगाउँमा पहिरो खस्दा तीन जनाको मृत्यु भएको थियो भने धेरै घरपरिवार विस्थापित भएका थिए। एकै घरका तीन जनाको मृत्युसमेत भएको थियो। 

एक महिनाअघि बागलुङकै बरेङमा पनि पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.