|

कपिलवस्तु : अनुदानको रकम नपाएपछि कपिलवस्तुका उखु किसान आन्दोलित भएका छन्। सरकारले चार वर्षअघि दिने भनेको अनुदानको रकम अझै नपाएपछि उनीहरू अनशनमा बसेका हुन्।

आव २०७१/०७२ मा उखु कृषकहरूलाई प्रोत्साहनबापत सरकारले दिने अनुदान रकम उनीहरूले पाएका छैनन्। अनुदान रकम वितरण गर्नका लागि सरकारलाई दबाब दिन उखु किसान संघका अध्यक्ष अनुप चौधरीसहित सातजना किसान अनशनमा बसेका छन्। ईलाका प्रशासन कार्यालय अगाडि उनीहरू रिले अनशनमा बसेका छन्।

जवाभारीस्थित महालक्ष्मी सुगर मिलमा उखु बिक्री गरेका किसानले करिब दुई करोड ५० लाख अनुदानको रकम लिन बाँकी छ। 'प्रति क्विन्टल २५ रुपैयाँको दरले अनुदान दिने घोषणा गरिए पनि उखु विकास समितिले अनुदान रकम रोक्यो,' उनीहरूले भने। अन्य जिल्लाका किसानले अनुदान रकम पाए पनि अहिले अर्थ मन्त्रालयको कारण अनुदान नपाएको भन्दै किसानहरू अनशनमा बसेका हुन्। अनशनरत किसान संघका अध्यक्ष चौधरीले चार वर्ष पुरानो अनुदान रकम नपाएसम्म आन्दोलन जारी रहने बताए। 'एक सातासम्म माग पूरा नभए आमरण अनशन बस्छौँ' उनले भने।

महालक्ष्मी सुगर मिल उखु विकास समितिमा दर्ता नभएको कारण त्यहाँ उखु बिक्री गर्ने किसानले अनुदानको रकम पाएका थिएनन्। मिलमा उखु बिक्री गरेका सात हजार किसानको दुई करोड ५८ लाख रुपैयाँ अनुदान आएको छैन। उद्योग संचालक तथा प्रदेश सांसद विरेन्द्र कनौडियाले अहिले उक्त उद्योग सर्लाही सारेका छन्। तर उद्योगमा उखु बेचेर अनुदानको आशामा चार वर्षदेखि बसेका किसान पीडित बनेका छन्।

संघले यसअघि पटक पटक कृषि तथा अर्थ मन्त्रालयका साथै उखु विकास समितिमा समेत उजुरी र निवेदन दिएको थियो। 'हामी दर्जनौँ पटक डेलिगेशन गएका छौँ, अहिले कृषि मन्त्रालयबाट अनुदान रकम दिन स्वीकृत भइसक्यो तर अर्थले नमिल्ने भन्दै रोकेको छ,' आन्दोलित किसान अनुप चौधरीले भने।  प्रदेश ५ का सांसद रहेका महालक्ष्मी चिनी मिलका संचालक कनौडियाको कमजोरीका कारण किसानलाई मर्का नपार्न चौधरीले आग्रह गरे।

किसानहरूको मागप्रति नेपाल कम्युनिस्ट पार्टीले ऐक्यबद्धता जनाएको छ। पार्टीका वरिष्ठ नेता भानुप्रकाश श्रेष्ठले किसानहरूलाई प्राप्त अनुदानको रकम सरकारले तत्काल उपलब्ध गराउनुपर्ने बताए। 'हाम्रो यसमा ऐक्यबद्धता छ, चार वर्ष पुरानो अनुदान रकम किन आएन कस्को कमजोरी भयो छानबिन हुन जरुरी छ' उनले भने। तर किसानलाई पीडित नबनाउन आग्रह गर्दै पार्टीको तर्फबाट यसबारे केन्द्रीय तहमा छलफल गर्ने श्रेष्ठले जानकारी दिए।

उपभोक्ता हकहित संरक्षण मञ्चका जिल्ला अध्यक्ष हुमनाथ पाण्डेले पनि किसानले पाउने अनुदानको रकम प्रक्रिया पुर्‍याएर राज्यले उपलब्ध गराउनुपर्ने बताए। उद्योगीबाट भएको कमजोरी किसानलाई थुर्पान नमिल्ने भन्दै तत्काल माग पूरा गर्न आग्रह गरे। उद्योग स्थानान्तरण भएका कारणले पीडित बनेका किसानलाई राज्यले थप कष्ट दिन नहुने उनको भनाई छ।

अनशनमा अध्यक्ष चौधरीसहित रामबहादुर रायमाझी, रामप्रकाश चौधरी, हरी नारायण चौधरी, बलराम पाण्डेलगायत रहेका छन्। अन्य जिल्लाका किसानहरूले अनुदानको रकम पाए पनि कपिलवस्तु किसानले नपाएको उखु कृषक ओम प्रकाश चौधरीले गुनासो पोखे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.