|

काठमाडाैं : अखिल नेपाल फुटबल संघ (एन्फा)काे १७ औं विशेष साधारणसभाले निर्वाचन प्रतिनिधिको संख्यामा उल्लेख्य वृद्धि गरेको छ। साथै एन्फाले आफु अनुकुल भएका निर्णयहरुलाई साधारण सभाबाटै बैधानिक्ता प्रदान समेत गरेको छ। साधारण सभाले ‘बि’ र ‘सि’ डिभिजन क्लबको संख्या समेत बढाउने निर्णय गरेको छ। एन्फाले नयाँ कार्यसमिती चयन भएको ३ महिनापछिनै विशेष साधारण सभा गदै विधान सम्शाेधन गरेको हाे।

यसअघिनै एन्फाले यो वर्ष विना रेलिगेशनको लिग गर्ने निर्णय गरेको थियो। उक्त निर्णयलाई एन्फाले साधारण सभाबाटै बैधानिक्ता दिएको छ। ५ वर्षदेखि हुन नसकेको ए डिभिजिन फुटबल लिग रेलिगेशन बिना गर्ने निर्णयको चौतर्फि विरोध भएपनि उसले निर्णयलाई केहि परिमार्जन गरेको छ। एन्फाले रेलिगेसन बिनाको लिग भएपनि पुछारका तीन टिमहरुको क्रमश ३, २ र १ अंक अर्को वर्षका लागि कटौती गरिने जनाएको छ। साथै उसले पुछारका दुई टोलीलाई एन्फाले लिग तयारीका लागि दिने खर्चको अन्तिम किस्ता ५ लाख रुपैयाँ नदिने जनाएको छ। 

एन्फाले आर्थिक नियमावली सहित विभिन्न कर्मचारी प्रशासन नियमावली र खेलाडी दर्ता नियमावलीलाई पारित गर्दै आर्थिक पारदर्शीता प्रभावकारी हुने विश्वास ब्यक्त गरेको छ। साथै उसले एन्फा संचालन नियमवाली, खेलाडी दर्ता नियमावलीपनि पारीत गरेको छ।

चितवनको सौराहामा बुधबार सम्पन्न विशेष साधारणसभाले विधान सम्शाेधन गर्दै एन्फालाई प्रादेशिक संरचनामा जाने निर्णय पनि गरेको छ। अब सात वटै प्रदेशमा कमिटि बन्ने छ । विधान संशोधनको एजेण्डा सर्वसम्मतले पारित भएको एन्फाले जनाएको छ। देश संघीय संरचनामा गईसकेकोले एन्फाले आफुहरुले पनि सोहि अनुसारको ढाँचा तय गरेको जनाएको छ।

एन्फाले विधान सम्शाेधन गर्दै बी र सी डिभिजनमा क्लबहरुको संख्याको बढाउनुको साथै निर्वाचनमा मताधिकार समेत वृद्धि गरेको छ। १२ वटा क्लव रहेको बी डिभिजनमा अब १६ वटा क्लबले सहभागिता जनाउने भएका छन्। यस्तै सी डिभिजनमा पनि ११ वटा क्लबबाट बढाएर १८ वटा क्लव बनाईएको छ।

ए डिभिजनमा रहेका १४ वटा क्लवलाई भने यथावत राखिएको छ। विधान सम्शाेधन गर्दै एन्फाले ७७ बाट १५ मताधिकार बढाएर ९२ पुर्‍याएको छ। एन्फाले मोफसलबाट ए डिभिजनका लागि छनोट हुने ४ वटा क्लबबाट ४ मत र पाँच नयाँ जिल्लाबाट एक एक मत गरी १५ मत वृद्धि गरेको हो।

एन्फाले विधान सम्शाेधन गर्दै पाँच वटा जिल्लामा शाखा थप गरेको छ। एन्फाले प्रदेश ५ मा एक, कर्णलाी प्रदेशमा दुई वटा र प्रदेश ७ मा दुई जिल्ला थप गर्दे ५० जिल्लामा संघको शाखा पुर्‍याएको छ। यसअघि एन्फाको ४५ जिल्लामा शाखा थियो। विशेष साधारणसभामा ४५ जिल्ला संघ, १४ ए डिभिजन क्लब, नौ बी डिभिजन क्लब, पाँच सी डिभिजन क्लब र चार समिति (महिला, खेलाडी, प्रशिक्षक, रेफ्री) बाट ३–३ जना र एएफसीका प्रतिनिधि तथा पर्यवेक्षक गरी करिब ३०० जना प्रतिनिधि सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.