|

पोखरा : पोखरा महानगरपालिका–१४ स्थित मझेरी पाटनमा रहेको शहीद स्मृति आवसीय विद्यालयमा सशस्त्र द्वन्द्वमा तत्कालीन माओवादीका तर्फबाट शहीद, घाइते र बेपत्ता भएका परिवारका छोराछोरी मात्रै पढ्छन्।  

तत्कालीन नेकपा माओवादीको सरकार हुँदा २०६६ सालमा स्थापना भएको उक्त विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष पनि दलका ठूलै नेता रहँदै आएका छन्। अहिले उक्त विद्यालयको अध्यक्ष नेकपाका नेता तथा गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका सांसद हरिराज अधिकारी छन्। उनी सात वर्षदेखि उक्त विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष रहेका छन्।

माओवादीले शहीदका परिवारले शिक्षा आर्जन गर्नबाट बन्चित हुन नपरोस् भनेर तत्कालीन पाँच वटै विकास क्षेत्रमा एक–एक शहीद आवासीय विद्यालय स्थापना गरेको हो। तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता भएसँगै उक्त विद्यालयमा विवाद चुलिएको छ। अहिले उक्त विद्यालयमा विद्यालय ब्यवस्थापन समितिको बैठकको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन्। विद्यालयमा ताला लगाई आन्दोलन गरिरहेका विद्यार्थीको मागको सुनुवाइ गर्न भन्दै साउन ३० गते अध्यक्ष अधिकारी तथा गण्डकी प्रदेशका अान्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान नै विद्यालय पुगेका थिए। विद्यार्थीसँग सहमति नभएपछि उनीहरु त्यसै फर्किए। बिहीबार पनि विद्यार्थीहरुसँग बसेर छलफल गर्ने कार्यक्रम रहेको एक विद्यार्थीले जानकारी दिए।

एमाले निकटका कर्मचारी आउन लागेपछि तनाव

विद्यालयमा आन्दोलन हुनुको कारण अर्को पनि छ। त्यहाँ अध्ययनरत विद्यार्थीहरु तत्कालीन माओवादीका शहीद परिवारकै हुने भएकाले उनीहरु अधिकांश माओवादी निकट हुने नै भए। ‘माओवादीलाई त कोहीले टुक्राएर, कोहीले कतै लगेर सिध्याइसके,’ नाम उल्लेख नगर्न भन्दै एक विद्यार्थीले थाहा खबरसँग भने, ‘माओवादीलाई असली माया गर्ने मान्छे त यही शहीद स्कुलमा छन्।' विद्यार्थीहरुले शहीदको नाममा विद्यालय खुले पनि शिक्षामा क्षेत्रमा राजनीतिक गर्नु नहुने बताउँदै अाएका छन्। 

सोही विद्यालयमा कार्यरत कर्मचारी अनिता बिक र निर्मला रेग्मीलाई निकालेर अरुलाई नै विद्यालयमा भित्र्याउन लागेपछि विद्यार्थीहरु थप आक्रोसित भएको उनको भनाइ छ। ‘अनिता बिक र निर्मला रेग्मीलाई निकालेर दुई जना मान्छे राख्न लागेको थाहा पाइयो,’ ती विद्यार्थीले भने, ‘एक जनालाई त एकलौटी ढंगबाट राखिसकेछन्।’ केहि दिनअघि उक्त विद्यालयमा होमनाथ सिंखडा शिक्षक बनेर प्रवेश गरिसकेका छन्। उनी तत्कालीन माओवादीबाट निर्वाचित समानुपातिक सांसद दुर्गा बिकको सिफासिरमा विद्यालय प्रवेश गरेको स्रोतले जानकारी दियो। अर्काे एक जनालाई भने ल्याउने तयारी गरेको स्रोतले जनाएको छ। 

विद्यालयको एक करोड गायब 

विद्यालय सञ्चालन गर्न २०६४ सालमा निर्वाचित यस क्षेत्रका २६ जना सांसदले निर्वाचन क्षेत्र विकासको एक करोड रुपैँया जम्मा गरेको थिए। लगत्तै माओवादी निकटका नेताहरुले माछापुच्छ्रे सहकारी संस्था स्थापना गरी गण्डकी मिडिया खोल्ने निधो गरेका थिए। गण्डकी मिडिया स्थापना गर्न शहीद विद्यालयमा भएको पैसा लगानी भएको थियो। विद्यार्थीहरुले अहिले त्यो हिसाबकिताब समेत सार्वजनिक गर्न माग गरेका छन्। 

यता अध्यक्ष हरिराज अधिकारी भने विद्यालयको वातावरण विगार्ने खेल सुरु भएको तर्क गर्छन्। ‘विद्यालयको शैक्षिक, भौतिक सबै पक्ष राम्रो छ’ उनले भने, ‘विप्लव जी, मोहन वैद्य दाइको पार्टीको पनि प्रतिनिधि हुनुहुन्छ। विचार नमिलेको हो। अहिले तातेकाहरु अलि सेलाएपछि छलफल हुन्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.