|

काठमाडौं : तपाईं काठमाडौं किन आउनुभयो? भनेर राजधानी बाहिरबाट आएका युवाहरूलाइ सोध्ने हो भने हरेक युवाले भिन्नभिन्न उद्देश्य प्रस्तुत गर्छन्। यिनै युवा जमातबाट नेपाली साहित्यमा प्रवेश गरेका 'एेलानी' उपन्यासका लेखक विवेक ओझालाई पनि यही प्रश्न २०६५ सालमा सोधेको भए उनी जवाफ दिन्थे, 'म लेखक बन्न काठमाडौं आएको हुँ।' जन्मभूमि कैलालीबाट 'प्लस टु' सकेर काठमाडौं आएका उनी पछिल्लो समय 'एेलानी'मार्फत् चर्चामा छन्।

२०६२/०६३ को राजनीतिक परिवर्तनसँगै  देशमा पहिचानका मुद्दाहरू उठे। हरेक वर्ग, लिंग, धर्म, पिछडिएका वर्ग, भूमिहीन, सर्वहारा जनताको पहिचानको मुद्दा नै राजनीतिक दलका प्राथमिकतामा परे। यी मुद्दाले केही हदसम्म भए पनि राजनीतिक  तरंग ल्याए। देशमा पहिचानको मुद्दा उठ्न थालेपछि विवेक ओझाले आफ्नो सुदूर गाउँ सम्झिए, जहाँ आफ्नो बालापन र किशोरावस्थाको समय बिताएका थिए। त्यही समाजमा रहेको वादी समुदाय पनि सम्झिए उनले। वादी समुदाय युगौँदेखिको यौन अत्याचारको दलदलमा फस्न बाध्य हुन पुगे। वादी समुदाय अभाव र दु:खको पोखरीमा जीवन बिताउँदै आएका समुदायमध्येको एक थियो। अहिले केही हदसम्म यसको निरूपण भएका तथ्यहरू बाहिर आइसकेका छन्।

बच्चैदेखि साहित्यमा रुचि राख्ने उनी कथा, कविता र गजल लेखिरहन्थे। लेखनको अभ्यास बढ्दै जाँदा उनले उपन्यास लेख्नेतर्फ सोच्न थाले। विषय छनोट गर्न नसकिरहेको अवस्थामा राज्यको आँखाबाट ओझेलमा रहेको वादी समुदायको आँसु, दु:ख र विगतलाई आख्यानको विषय बनाउने उनी निचोडमा पुगे। वि.सं. २०७१ बाट लेख्न सुरु गरेका उनले सात-आठ महिना काठमाडौं बसेर लेखे। त्यसपश्चात् उनी थप लेखनलाई अगाडि बढाउन गाउँ जाने योजना बनाउँदै थिए। २०७२ सालमा देशले ठूलो भूकम्पको मार खेप्नुपर्‍यो। उनी भन्छन्, 'संयोग कस्तो भयो भने भूकम्प आउनु पनि म काठमाडौं छोड्नु पनि एकैचोटि जस्तो।' उनी गाउँ फर्किएर आफैँ पढ्‍ने गरेको स्कुलमा पढाउन थाले भने यता एेलानीको अन्तिम ड्राफ्ट तयार गरेर आठ महिना पछि काठमाडौं आए।

'दमित आवाजहरू बाहिर ल्याउने कोसिस हो। यस उपन्यासमा मैले आफैँले देखेका कथाहरू पनि छन् भने कतिपय कथाहरू लुकेका छन्।' 

काठमाडौंमा उनले आफ्नो पाण्डुलिपि आख्यानकार भुवनहरि सिग्देल, पत्रकार लक्ष्मण श्रेष्ठलगायतका व्यक्तिलाई पढ्न दिए। उनीहरूको सकारात्मक प्रतिक्रियाले उनमा ऊर्जा थपियो। उनको एेलानी पुस्तक आउनुअघि यस उपन्यासको चर्चा एक कान दुई कान मैदान हुँदै चौतर्फी हुँदै गयो।

यस उपन्यासलाई प्रकाशन गर्न केही प्रकाशकसँग कुरा पनि भयो। उनी भन्छन्, 'सांग्रिलामा आउनुपूर्व एक प्रकाशकले मलाई धेरै महिनासम्म झुलाए।' आफू ती प्रकाशनगृहका सञ्चालकको व्यवहारले अलिक दुखी भएको उनले बताए। तर उनको यो दुखाइ धेरै दिन टिकेन। लामो दौडधुपपछि एक दिन गजलकार बाबु त्रिपाठीले उनको पाण्डुलिपिबारे सांग्रिला पब्लिकेशनका सञ्चालक मणि शर्मासँग कुरा गरे। सांग्रिलाले एेलानी उपन्यास प्रकाशनका निमित्त उनीसँग सम्झौता गर्‍यो। अन्तत: २०७४ मंसिर २९ गते उनको पुस्तक बजारमा आयो।

ओझा भन्छन्, 'दमित आवाजहरू बाहिर ल्याउने कोसिस हो। यस उपन्यासमा मैले आफैँले देखेका कथाहरू पनि छन् भने कतिपय कथाहरू लुकेका छन्।'  अख्यानको स्वरूपमा भए पनि वादी समुदायको संवेदनशीलतामाथि उनले केही न्याय गरेको बताउँछन्। उपन्यास बजारमा आउनुअघि उनी लेखकको सर्कलमा थिए। उनलाई लाग्थ्यो, लेखकको सर्कल नै मेरो सम्पत्ति हो तर पुस्तक बजारमा आइसकेपछि देश विदेशका सयौँ पाठकले उनलाई यस पुस्तकका अनगिन्ती सकारात्मक प्रतिक्रिया दिए। उनी हाँस्दै भन्छन्, 'एउटा लेखकको सम्पत्ति लेखकको सर्कलसँगै पाठकको प्रतिक्रिया रहेछ।'

पुस्तकले समालोचकीय हिसाबमा पनि सकारात्मक प्रतिक्रिया पायो। 'उत्कृष्ट दश आख्यानमा समेत मेरो पुस्तक पर्दा यति धेरै खुसी भएँ कि त्यो शब्दमा व्यक्त गर्न सकिँदैन। जसका लेख रचना मनपराएर म लेखनमा आएँ', उनी भन्छन्, 'आज तिनैको पुस्तक र नामसँगै आफ्नो पुस्तक सामेल हुँदा खुसी नहुने को होला र?' तर पछिल्लो समय साहित्यिक वृत्तमा चर्चामा रहेका उपन्यास 'ऐलानी' तथा अर्को पुस्तक र एक नेपाली चलचित्रमाथि वादी समयुदायले आपत्ति जनाइसकेको अवस्था छ।

बुकहोलिक्सले आयोजना गरेको चकटी बहसमा अधिकारकर्मी गोपाल नेपालीले यी पुस्तक र चलचित्रले वादी समुदायलाई होच्याएको आरोप लगाएका छन् । उनले यी  पुस्तक र चलचित्रको जातीय विभेदविरुद्ध कानुनी उपचारको बाटो पहिल्याउने तयारीमा समेत वादी समुदाय रहेको बताएका छन्। 

'यो मूलत: आख्यान हो। हामीले आख्यानमा कल्पनाशीलताको पनि प्रयोग गरिन्छ भन्ने तथ्य भुल्नु हुँदैन। मैले मेरो लेखनमा वादी समुदायलाई कुनै पनि प्रकारको अपहेलना वा गलत आशयले देखाउने काम गरेको छैन भन्ने लाग्छ', यो विषयमा ओझा भन्छन्, 'उनीहरूको दुखान्त भोगाइलाई नै विषय बनाएर मैले लेखेको हुँ।' यद्यपि, वादी समुदायको आपत्तिमा म गम्भीर छु र भूलवस कुनै गल्ती भए सच्याउन तयार छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.