|

नवलपरासी : मनपरी रुपमा बसपार्क व्यवस्थापन शुल्क असुली गर्दा आफूहरू मर्कामा परेको पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका इरिक्सा संचालकहरूले गुनासो गरेका छन्। बसपार्क क्षेत्रभित्र पार्किङ गरेका सवारीबाट शुल्क उठाउनु जायज भए पनि बसपार्क एरिया भन्दा बाहिरका सवारी साधनलाई बाटैमा रोकेर शुल्क उठाउनु जायज नभएको इरिक्सा संचालकहरूको भनाई छ।

रिक्सा संचालकहरूले आफूहरू बर्दघाट चोकमा रहेको पुरानो चौकी अगाडि पार्किङ गर्दा पनि  ठेकेदार पक्षवाट खटिएका युवाहरूले जबरजस्ती शुल्क उठाउने गरेको बताएका छन्। इरिक्सा संचालन गरेबापत नगरपालिकामा कर समेत बुझाउने गरेकोमा बसपार्क व्यवस्थापन  शुल्कको नाममा रकम असुली गर्दा यसै पनि मर्कामा छौ त्यसैमाथि बसपार्क भन्दा बाहिरको क्षेत्रमा समेत जबरजस्ती शुल्क उठाउदा नगरपालिकाले कुनै चासो देखाएको छैन एक इरिक्सा चालकले गुनासो गरे। इरिक्सा मात्र होइन बसपार्कको सडक हुँदै अखात जावत गर्ने सवारीहरूलाई समेत रोकेरै बसपार्क व्यवस्थापन शुल्क भन्दै रसिद काटने गरिएको समेत गुनासो आएको छ। 

नगरपालिकाले बसपार्क व्यवस्थापन शुल्क उठाउनका लागि ठेक्का लगाएको छ। नगरपालिकाले टेण्डर मार्फत शुल्क उठाउनका लागि ठेक्का लगाउदा बर्दघाट ४ का प्रमोद पुनलाई १४ लाख ७५ हजारमा ठेक्का परेको थियो। ठेकेदार पक्षका युवाले जबरजस्ती शुल्क असुली गर्न थालेपछि आफूलाई निकै मर्का परेको इरिक्सा संचालकहरुले बताएका छन्। यस विषयमा नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले भने बसपार्क एरिया भन्दा बाहिर गएर शुल्क उठाउन नपाइने भन्दै त्यस्तो भएको भए तुरुन्त रोकिन बताएका छन्। 

नियमत बसपार्कभित्र प्रवेश गरेका सवारी साधनले मात्र व्यवस्थापन शुल्क उठाउन पाउने व्यवस्था रहे पनि बसपार्क बाहिर सडक आसपासमा रहेका सवारीसाधनबाट समेत शुल्क उठाइदै आएको छ। न त पार्कीङको व्यवस्था छ । नत हामी बसपार्कभित्र नै जान्छौ हामी सडकको छेउमा इरिक्सा रोक्ने र सवारी चढाउने गरेका छौ हामीलाई पनि दैनिक रुपमा रसिद काट्ने गरिएको छ इरिक्सा चालक रामप्रसाद सापकोटाले गुनासो पोखे। 

नगरपालिकामा दर्ता भएका इरिक्साले दर्ता हुँदा १ हजार रुपैयाँ दर्ता तथा वार्षिक सवारी कर तिर्दै आइरहेका छन् भने उनीहरूले व्यवस्थापन शुल्क बापत ठेकेदारलाई दैनिक २० रुपैयाँका दरले एक वर्षमा ७ हजार ३०० रुपैयाँ बुझाउनुपर्ने भएको छ। इरिक्सा चालकहरूले आफूहरू दोहोरो मारमा परेको समेत गुनासो गरेका छन्।  

इरिक्सा चालकहरूले आफूहरूले नगरपालिका,बसपार्कका ठेकेदारलाई मात्र नभई जवरजस्ती असुली गर्ने युवाको समूहलाई पनि दैनिक रुपमा रकम बुझाउनु परेको गुनासो गरेका छन्। 'हामी नगरपालिकामा कर बुझाएकै छौं। बसपार्कको ठेकेदारलाई पनि दैनिक रुपमा २० रुपैयाँका दरले रकम बुझाउदै आएका छौं। त्यति मात्र होइन रकम नदिए धम्क्याउने युवाले समेत हामीबाट जबरजस्ती रकम असुली गर्ने गरेका छन्। नदिए हातपात गर्ने गर्छन्।हामी कहिलेसम्म मर्कामा पर्ने?' रिक्सा चालक रामप्रसाद सापकोटाले भने। 

पहिले पहिले इरिक्सा कम हुँदा दैनिक रुपमा १५०० देखि २ हजारसम्म आम्दानी हुने गरेकोमा अहिले इरिक पनि धेरै भइसके आम्दानी पनि खासै नहुने र दैनिक ५०० देखि ७०० मात्र आम्दानी हुने गरेको इरिक्सा चालकले बताएका छन्। त्यसैत आम्दानी कम हुन्छ। उसैमाथि विभिन्न बहानामा गरिने रकम असुलीले हामी मर्कामा छौ,' गणेश भण्डारीले गुनासो पाख्दै भने हाम्रो मर्का कसले बुझिदिने? इरिक्सा चालकहरूले आफूहरूले नगरपालिकामा कर बुझाएपछि नगरपालिकाले व्यवस्थित पार्किङको व्यवस्था मिलाई दिनुपर्ने समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.