|

ओखलढुंगा : मध्यपहाडी जिल्ला ओखलढुंगाका कृषक अलैँची खेतीतर्फ आकर्षित हुन थालेका छन्। अन्नबालीभन्दा नगदेबालीमा राम्रो आम्दानी हुन थालेपछि जिल्लाका किसान अलैँची खेतीतर्फ आकर्षित हुन थालेका हुन्।

चम्पादेवी गाउँपालिका-७ मा रहेको रानीवन सल्लेरी सामुदायिक वनको १० रोपनीमा ३० हजार, वडा नं ८ को जनता सामुदायिक वनमा ५० रोपनीमा ६० हजार विरुवा रोप्न रोपिएका छन्।

चम्पादेवी गाउँपालिका- ७, ८, ९ र १० मा एक लाख ३० हजार अलैंचीका विरुवा वितरण गरिएको चम्पादेवी गाउँपालिका-७ का वडा अध्यक्ष सुरेशकुमार थापाले बताए। जिल्लाका माथील्लो भेगका रावादोलु, भुसिंगा, खिजीफलाटे, पोकली, गाम्नाङटार, बिलन्दुलगायतका स्थानमा किसानको घरका करेसाबारी अलैँचीले ढाकिएका छन्।

चम्पादेवी गाउँपालिकाको बिलन्दुस्थित जनता कृषि सहकारी संस्थाले उत्पादन गरेका अलैंचीका विरुवा स्थानीय ठाउँमै खपत गरीएको र यो वर्ष मात्रै रोप्न योग्य करिब २ लाख ५० हजार बेर्ना तयार गरेको सहकारीका अध्यक्ष तथा चम्पादेवी गाउँपालीका वडा नं ८ का वडा अध्यक्ष अजय लुइँटेलले बताए। जनता कृषि सहकारी संस्थाले अलैंचीका बिरुवा उत्पादन गर्न था पछि ओखलढुंगा अलैंची बिरुवा उत्पादनमा समेत आत्मनिर्भर बनेको तत्कालीन जिल्ला कृषि विकास कार्यालय ओखलढुंगाका प्राविधिक साहयक हेम आले मगरले बताए।

सहकारीले यसवर्ष उत्पादन गरेको केही बिरुवा मात्रै अन्यत्र दिएको र धेरै बिरुवा आफ्नै गाउँपालीकाका ४ वटा वडामा रोपिएको जानाएको छ। किसानहरुले अन्यत्रबाट विरुवा किनेर आफ्नो बारीसम्म ल्याउँदा प्रतिगोटा २० देखि २५ रुपैयाँ पर्ने भए पनि यो वर्ष प्रतिगोटा रु १० ले किसानको बारीमै विरुवा पुगेको र स्थानीय तहले आफैं खरिद गरी विरुवा वितरण गरिएको वडा नं. ९ का वडा अध्यक्ष झम्कहरि बरालको भनाइ छ।

विरुवा वडाले निशुल्क वितरण गरेपछि आफ्नो खेर गई रहेको बाँझो जमिन सदउपयोग भएको बिलन्दूका स्थानीय कृषक लीलाबहादुर श्रेष्ठले बताए। आगामी दुई वर्षमा चम्पादेवीको वडा नं ७, ८, ९,र १० लाई अलैंचीको पकेट क्षेत्र बनाउने लक्ष्‍यका साथ आफूहरु लागिपरेको चम्पादेवी गाउँपालिका प्रमुख नवराज केसीले बताए।जिल्लाको खिजीदेम्वा, लिखु, मोलुङ, चम्पादेवीलगायत माथिल्लो पहाडी भूगोलमा किसानहरूले लगाएको अलैँची खेती देख्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.