|
एजेन्सी

काबुल : अफगानिस्तानको काबुल नजिकको शिते समुदाय बसोबास गर्ने दस्त–ए–बार्चीमा बुधबार अपराह्न शैक्षिक संस्थामा गराइएको आत्मघाती बम विस्फोटमा मारिनेको संख्या ४८ पुगेको छ भने ६७ जना घाइते भएका छन्।

'पैदल हिँडेर आएका आत्मघाती बम हमलाकारीले विस्फोट गराएको पुष्टि भएको छ। शैक्षिक संस्थाको भित्र छिरेर उनी आफैँलाई उडाएका थिए,' प्रहरी प्रवक्ता हसमत स्टानिक्जाईले बताए।

उक्त शैक्षिक संस्थामा विश्वविद्यालयको प्रवेश परीक्षाका लागि अतिरिक्त कक्षा लिन आएका विद्यार्थीहरू जम्मा भएका थिए। सो आत्मघाती आक्रमणमा धेरै छात्रा मारिएको प्रत्यक्षदर्शी सायद अलीले रोयटर समाचार संस्थालाई बताए। उक्त आक्रमणको इस्लामिक स्टेटले जिम्मेवारी लिएको छ।

हालैका दिनहरूमा अफगानिस्तानमा भिषण हिंसात्मक घटनाहरू भइरहेका छन्। यही साता अफगानिस्तानको पूर्वमा रहेको घज्नीमा तालिवानले गरेको भीषण आक्रमणबाट काबुल सरकारमाथि सैनिक र मनोवैज्ञानिक दबाब सिर्जना भएको छ। तालिवानले आफूले चाहेको समय र इच्छाबमोजिम काबुल वरपरका कुनै पनि ठाउँमा आक्रमण गर्न सक्दछ। घज्नीमा कम्तीमा १०० जना सुरक्षाकर्मी मारिनुका साथै सर्वसाधारण र लडाकूको हताहतीको स्पष्ट संख्या अझै आइसकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.