|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामेछाप जिल्लाको दोरम्बा हत्याकाण्ड तत्कालीन शाही सेना र सरकारको निर्णयमा नभई दरबारको ठाडो निर्देशनमा भएको अारोप लगाएका छन्। १५ वर्षअघि आफ्नो पार्टीका २१ नेता, कार्यकर्ताको हत्या भएको दोरम्बाको घटनालाई पार्टीले विशेष रूपमा हेरेको अध्यक्ष दाहालले बताए।

रामेछापको दोरम्बामा १५ औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा शहीद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालीन सरकार र नेकपा माओवादीबीच दाङको हापुरेमा दोस्रो शान्तिवार्ता चलिरहेका वेला मान्छे मारेर परिवर्तन रोक्ने सुनियोजित योजनामा दरबारले दोरम्बा हत्याकाण्ड मञ्चन गरेको बताए। 

तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेका बेला २०६० साउन ३२ गते रामेछापको दोरम्बामा माओवादी जनसरकार प्रमुख बाबुराम लामासहित २१ जना सेनाको अाक्रमणबाट मारिएका थिए। सो घटनापछि माओवादीले सरकारसँगको वार्ता भंग भएको घोषणा गरेको थियो।

दोरम्बा हत्याकाण्डपछि राजतन्त्र फाल्ने र देशमा गणतन्त्र ल्याउन सफल भएको बताए। 'शहीदहरूको रगतले नै अहिले देशमा संघीय गणतन्त्र हुँदै पार्टी एकीकरणमा रूपान्तरण भएको छ', उनले भने, 'शहीदले बगाएको रगत र बलिदानीबाट नै देशमा कम्युनिष्टको बहुमतको सरकार बनेको हो।' 

दोरम्बामा आफ्ना कार्यकर्ताहरुको निर्ममतापूर्वक हत्या भएको सम्झिँदै पार्टी अध्यक्ष प्रचण्डले दोरम्बालाई युद्ध पर्यटकीयस्थल बनाउने घोषणा गरे। 'काभ्रे, रामेछापको बेथानको पानीघाट हुँदै दोरम्बा र दोलखाको शैलुङ क्षेत्रसम्म तीन जिल्लालाई समेटेर युद्ध पर्यटकीय मार्ग बनाएर जनताको जीवनस्तर उकास्न तत्काल बजेटको व्यवस्थापन गर्न पहल गर्छु', उनले भने। 

प्रचण्डले शहीद परिवारका बालबच्चा र युद्धबाट प्रभावित भएका सबै बालबालिकाको शिक्षा, दिक्षा र परिवारको भरणपोषणको जिम्मा पनि कम्युनिष्ट सरकारले नै लिने बताए। उनले शहीद परिवारका सदस्यलाई मन दह्रो पार्न समेत अनुरोध गरे।

दोरम्बा हत्याकाण्डमा तत्कालीन शाही नेपाली सेना दोषी भएको भन्दै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेष्टी इन्टरनेसनलले पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.