|

पर्वत : हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने एक मात्र सडक बेनी जोमसोम सडक खण्डमा सवारी साधन चलाउन गराउन कम्तीमा पनि एक हप्ता लाग्ने भएको छ।

सडक अन्तर्गत मुस्ताङको घाँसादेखि अगाडि कालीगण्डकी र थापलाङ खोलामा आएको बाढीले दर्जनौँ ठाउँमा पहिरो खसेपछि सडक तीन दिनदेखि अवरुद्ध छ। केही दिनदेखिको वर्षाका कारण सडक खण्डका दर्जनौँ ठाउँमा रुख, लेदो र चट्टानसहितको पहिरो खसेको र पन्छाउने काम भइरहेको छ।

पहिरो पूरै पन्छाइसक्न एक साता लाग्न सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक बीरबहादुर बुढाले जानकारी दिए। 

७६ किलोमिटर दूरीको सडकमा सवारी आवागमन बन्द भएपछि मुस्ताङ जाने आउने पर्यटक, तीर्थयात्री र स्थानीयवासी बाटोमै अलपत्र पर्न सक्ने भन्दै म्याग्दी र मुस्ताङका जिल्ला प्रशासन कार्यालयले योअवधिमा मुस्ताङ भ्रमणमा ननिस्कन सबैलाई अनुरोध गरेको छ। 

म्याग्दीका तितर, काभ्रेभीर, गुइँठे, रुप्से, बैसरी र बेगखोला क्षेत्रमा पनि पहिरो खसेपछि सडक अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए। आयोजनामा परिचालन भएका निर्माण कम्पनीका डोजर प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको छ। कालोपत्रे गर्ने लक्ष्यसहित स्तरोन्नति भइरहेको बेनी–जोमसोम सडकमा पहिरोको जोखिम बढेको छ। 

पहिरोका कारण सडक बाहेक म्याग्दी र मुस्ताङको सिमाना घाँसा, थापलाङखोला नजिकका बस्ती पनि जोखिममा छन। यसैगरी अन्य विभिन्न ठाउँमा समेत कालीगण्डकीले धार परिवर्तन गरी कटान गरेका कारण बस्तीहरु जोखिममा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.