|

दार्चुला : नेपाल भारत जोड्ने मोटरेबल पुल निर्माण हुने चर्चा निकै पहिलेदेखि चल्दै आएको थियो तर अब भने दुई देश जोड्ने पुल निर्माण हुने भएको छ।

नेपाल र भारत दुई देश जोड्न दार्चुलास्थित महाकाली नदीमा डेढ महिनापछि मोटरेबल पुल निर्माण सुरु हुने भएको हो। दुई देशका सरकारबीच भएको सम्झौताअनुसार भारत सरकारले मोटरेबल पुल बनाउने तयारी थालेको छ। 

महाकाली नगरपालिकाको–८ धापको सुरकाडा र भारततर्फको बलुवाकोट नजिकको तल्लो छारछुम जोड्नेगरी मोटरपुल बन्ने भएको हो। दुई देशका प्राविधिकसहितका अधिकारीहरुले बिहीबार मोटरपुल बन्ने स्थानको अवलोकन गरेका छन्।

भारतको लोक निर्माण विभागका प्राविधिकहरुको टोलीसहित नेपाली प्राविधिक टोली र सुरक्षा अधिकारीहरूले पुल बन्ने स्थानको भ्रमण गरेका हुन्। प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको नेतृत्वको स्थलगत भ्रमण गरी वस्तुस्थितिबारे छलफल गरिएको छ।

महाकाली नदीमा पुल निर्माणका लागि दुवै देशले सैद्धान्तिक सहमति गरिसकेका छन्। भारतीय लगानी र प्राविधिक सुपरीवेक्षणमा मोटरपुल बन्ने डिभिजन सडक कार्यालय पाटन बैतडीका इन्जिनियर शंकर खनालले जानकारी दिए।

यसअघि दुई देशको प्राविधिक टोलीले मोटरपुल बन्ने स्थानको सम्भाव्यता अध्ययन र स्थलगत भ्रमण गरिसकेका छन्। भारतको लोक निर्माण विभागले मोटरपुलको डिजाइन, 'इस्टिमेट' तयार गरी ठेक्का प्रक्रिया समेत अगाडि बढाइसकेको विभागका कार्यकारी इन्जिनियर दीपक गुप्ताले बताए। 

भारतीय पक्षले बिहीबारको भ्रमण र छलफलमा नेपाली पक्षसँग पुल निर्माणस्थलको स्वीकृति माग गरेकको छ। आफ्नो पक्षबाट पुल निर्माणका लागि सबै प्रक्रिया अगाडि बढिसकेको भारतीय प्राविधिक टोलीको भनाइ छ। 

धापको काकडा र असिगडाको बीचमा पर्ने सुरकाडा गाँउ नजिकै मोटरपुल बन्नेछ। भारतीय पक्षको मागअनुसार नेपाल सरकारले पुल निर्माणस्थलको स्वीकृति दिन गृहकार्य थालेको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जाकारी दिए। ‘डिभिजन सडक कार्यालयले आवश्यक प्रक्रिया अगाडि बढाइरहेको छ, सबै प्रक्रिया पुरा भएपछि हामी पुल निर्माण स्थलको स्वीकृति दिन्छौ’ प्रजिअ आचार्यले भने। 

पिथौरागढ जिल्लाको अस्कोटमा रहेको लोक निर्माण विभागको कार्यालयले मोटरपुल निर्माणको व्यवस्थापन गर्नेछ। विभागले पुल निर्माणको ठेक्काको सूचना खोलिसकेको छ भने अगस्ट २८ मा टेण्डर खोलिने कार्यतालिका रहेको कार्यकारी इन्जिनियर दीपक गुप्ताले बताए।

सेप्टेम्बर महिनामा ठेक्का सम्झौताका सबै प्रक्रिया पूरा गरी अक्टुबरको सुरुमा निर्माणकार्य सुरु गर्ने लोक निर्माण विभागको तयारी छ। त्यतिबेलासम्म नेपाली पक्षबाट पुल निर्माणस्थलको स्वीकृति प्राप्त हुने भारतीय पक्षको आश छ। मोटरपुल निर्माणमा नेपाली पक्षबाट स्वीकृतिपत्र अर्थात् ‘नो अब्जेक्सन लेटर’ को आवश्यकता पर्छ।

मोटरपुलको लागत १५ करोड भारतीय रुपैयाँ अनुमान गरिएको छ। निर्माण सुरु भएको १८ महिनाभित्र मोटरपुल निर्माण सम्पन्न गरिनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मोटरपुल निर्माणलाई गति दिनेबारे छलफल र सहमति भएको थियो। पूर्व प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा पनि महाकालीमा मोटरपुल बनाउनेबारे पहल गरिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.