|

काठमाडाैं : १६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित भएर शुक्रबारदेखि मुलुकमा नयाँ कानुन लागू हुँदैछ। आजदेखि मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता लागु हुन लागेको हो।

देवानी संहितामा केटाकेटी दुवैले २० वर्ष नपुगी विवाह गर्न नपाइने, सम्बन्ध विच्छेदका लागि पुरुष पनि सोझै अदालत जान पाउने, गर्भको शिशु पनि अंशको हकदार हुने, कुनै पुरुषको शारीरिक सम्पर्कबाट शिशु जन्मिएको प्रमाणित भए स्वतः विवाह भएको मानिने, मञ्जुरी नलिई कसैको तस्वीर खिच्न नपाइनेलगायत व्यवस्था गरिएको छ।

अपराध संहितामा सार्वजनिक आवागमनमा बाधा पुर्‍याउनेलाई तीन वर्ष कैद वा ३० हजारसम्म जरिवाना, खाद्य पदार्थमा मिसावट गरे पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना, सार्वजनिक ठाउँमा अरुलाई अभद्र व्यवहार गरे एक वर्षसम्म कैद हुनेलगायत व्यवस्था छ। दुवै संहिताका दुई कार्यविधि कानुन, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ र केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन पनि आजैदेखि लागु हुँदैछन्।

नयाँ कानून कार्यान्वयनमा आएसँगै नागरिक ऐन, गाली बेइज्जती ऐन, सार्वजनिक अपराध तथा सजाय ऐनलगायत १५ वटा पुराना कानुन खारेज भएका छन्। ६६ वर्षको अन्तरालमा मुलकमा संविधान सात पटक फेरिए पनि कानुन चाहिँ जंगबहादुर राणाको पालामा वि.सं.१९१० मा बनेको मुलुकी ऐनले नै काम चलिरहेको थियो।

नयाँ कानुन लागू भएको दिनलाई सरकारले उत्सवका रूपमा मनाउन तयारी गरेको छ। यसका लागि दिउँसो २ बजे सिंहदरबारमा विशेष कार्यक्रम राखिएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता रमेश ढकालले बताए। 

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, सभामुख कृष्णबहादुर महरा, कानुनमन्त्री भानुभक्त ढकाललगायत सहभागी हुनेछन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.