|

काठमाडौं : मानव अधिकार, जाति भाषा समानता, नागरिक आन्दोलनका अगुवा तथा शान्ति प्रक्रियाका सूत्रधार पद्मरत्न तुलाधरको भीमरथारोहण (ज्याःजंक्व) विविध कार्यक्रमका साथ आउँदो भदौ १७ गते मनाइने भएको छ। 

तुलाधरको भीमरथारोहणबारे भइरहेको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मूल समारोह समितिका संयोजक लक्ष्मीदास मानन्धरले समितिको आग्रहमा विभिन्न गोष्ठीलगायतका कार्यक्रमहरू सञ्चालन गरिने बताए। नागरिक अभिनन्दनको मूल कार्यक्रम भदौ ३० गते शनिबार राष्ट्रिय सभागृहमा दिउँसो २ बजे आयोजना गरिने छ। 

यस अतिरिक्त नेपालको मानव अधिकार आन्दोलन, पत्रकारिता र शान्ति प्रक्रियामा तुलाधरको भूमिका र योगदानबारे गोष्ठी तथा परिचर्चा कार्यक्रमको आयोजना गरिने छ। त्यसैगरी, नेपाल संवत् आन्दोलन, आदिवासी जनजाति आन्दोलन र नेवाः आन्दोलनमा तुलाधरको योगदानका विषयमा विचार गोष्ठी गरिनेछ भनेसाहित्यिक व्यक्तित्वबारे पनि छलफल कार्यक्रम गरिने छ। सोही अवसरमा नगर सफाइ र रक्तदान कार्यक्रम पनि गरिने मूल समारोह समितिले जनाएको छ। 
नेवार समाजमा कुनै व्यक्तिको ७७ वर्ष ७ महिना ७ दिनका अवसरमा गरिने एउटा अत्यन्त महत्वपूर्ण धार्मिक सांस्कृतिक संस्कार ज्याःजंक्व हो। तुलाधरको धार्मिक विधिअनुसार ज्याःजंक्व गरिने कार्यक्रम रहेको छ। 

भीमरथारोहण मनाउने सिलसिलामा आयोजना गरिने सबै कार्यक्रमहरूको संयोजन गर्न उद्योग व्यवसायी एवं समाजसेवी लक्ष्मीदास मानन्धरको अध्यक्षतामा ‘पद्मरत्न तुलाधर नागरिक अभिनन्दन समारोह समिति’ गठन गरिएको छ। उक्त समितिको मूल अंगको रुपमा एउटा संरक्षक समिति पनि गठन गरिएको छ। उक्त संरक्षक समितिमा जनकवि दुर्गालाल श्रेष्ठ, भृगुराम श्रेष्ठ, मल्ल के. सुन्दर, नरेशवीर शाक्य र गणेश साय्मि सदस्य रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.