|

रोल्पा :  पश्चिम रोल्पालाई जिल्ला सदरमुकाम लिवाङसँग जोड्न शुक्रबारदेखि रोल्पाको माडी खोला पुल निर्माण गर्न थालिएको छ। सत्र महिनाभित्र निर्माण सक्ने गरी पुल निर्माणको जिम्मा पाएको एसियाटिक राज जेवी कन्ट्रक्सनले गत असार ३१ गते  तीन करोड ५१ लाखमा निर्माण गर्ने संझौता गरेको छ। 

विसं ०६५ मा सडक विभागमा खोलिएको ठेक्कामा काठमाडौंको लामा÷एडी÷धर्मेन्द्र जेभी निर्माण कम्पनीले सो पुल निर्माणको जिम्मा पाएको थियो। शुरुमा निर्माणको केही काम गरे पनि राजनीतिक पहुँचका आधारमा निर्माण व्यवसायी वसन्त दशौदीले निर्माणमा आलटाल गरेकाले जिल्लाका राजनीतिक दल र सामाजिक सङ्घ संस्थाको टोलीले सङ्घर्ष समिति बनाएर प्यूठानस्थित सडक डिभिजन कार्यालयमा उजुरी गर्दै यथाशिघ्र पक्की निर्माण गर्न जोड दिएका थिए।

वैकल्पिक व्यवस्थाका लागि सो नदीमा बेलीब्रिज राखिए पनि आवतजावतमा निकै समस्या भएकामा अब बन्ने पुलले सो समस्या समाधान हुने यातायात व्यवसायी रामचन्द्र थापाले बताए। पुल निर्माणस्थलमा रहेको कडा चट्टानका कारण यातायातका साधन सञ्चालनमा निकै चुनौती ब्योहोर्दै आएका थियौँ, अब यस्ता समस्या समाधान हुुने उनको भनाइ थियो। 

पुल निर्माणसँगै पश्चिम रोल्पामा उत्पादन भएका तरकारी, फलफूल, घीउ, दाल, जडिबुटी र खसी–बोका सदरमुकाम लिवाङ ल्याउन किसानलाई सहज हुने भएको छ। सदरमुकाम लिवाङ, सुलीचौरजस्ता बजार क्षेत्रमा खपत हुने अधिकांश तरकारी पश्चिम रोल्पाबाट सल्यान, दाङ हुँदै आउँदा लागत मूल्य बढेकामा पुल निर्माणपछि बजार मूल्य कम हुने उपभोक्ताले आश गरेका छन्। 

सो पुल बनेसँगै रोल्पाका साविक दुई दर्जन बढी गाविस तथा दाङ र सल्यानसम्मको यातायात सेवासमेत सहज हुने बताइएको छ । यसअघि उक्त पुलका लागि दुई वटा पिलर ठड्याएर बेवारिसे अवस्थामा छोडिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.