|

काठमाडौं : मुलुकभित्रको प्रसारण प्रणालीमा सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा आएको छ। 

नेपालकै हालसम्मको ठूलो स्वचालित २२०÷१३२ केभी ढल्केबर सवस्टेसनमा चार्ज गरी विद्युत सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। औपचारिक रूपमा बिहीबार रातिदेखि सो सवस्टेशन सञ्चालनमा आएको हो। 

सवस्टेसन चार्ज भएपछि भारतबाट पहिलोपल्ट २२० केभी प्रसारण लाइनबाट विद्युत् आयात शुरु भएको छ। ढल्केबर सवस्टेसन निर्माण नभएकाले यसअघि १३२ केभीमार्फत् विद्युत् आयात भइरहेको थियो। 

“ढल्केबर सवस्टेसन सञ्चालनमा आउनु र आन्तरिक प्रसारण प्रणाली सुदृढीकरण हुनु दुई मुलुकबीचको विद्युत् व्यापारका लागि एउटा कोशेढुङ्गा हो,” उनले भने, “ढल्केबरमै ४००/२२० केभीको अर्को सवस्टेसन निर्माण गरिरहेका छौँ, यसको काम पनि डेढ वर्षभित्रै सकिनेछ।” विद्युत आदान–प्रदानका लागि ढल्केबर–मुजफ्फपुर ४०० केभीको अन्तरदेशीय प्रसारण लाइन यसअघि नै निर्माण भइसकेको थियो। 

सवस्टेसन चार्ज भएपछि नेपाल र भारतबीच थप विद्युत् आयात निर्यातका लागि ठूलो पूर्वाधार तयार भएको प्राधिकरणका प्रवक्ता एवं विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले जानकारी दिए।

स्वचालित भएकाले काठमाडौँको स्युचाटारमा रहेको प्राधिकरणको भारप्रेषण केन्द्रबाटै सवस्टेसनको सञ्चालन र अनुगमन गर्न सकिने छ। सवस्टेसनमा १६०/१६० एमभीए, २२०/१३२ केभीका दुई ट्रान्सफर्मर छन्। सवस्टेसन सञ्चालनमा आएपछि हिउँदमा बढी विद्युत् माग हुने समयमा भारतबाट थप विद्युत् आयातका लागि पूर्वाधार बनेकोे छ। 

यस्तै कुल ४५६ मेगावाटको माथिल्लो तामाकोशी निर्माण भएपछि नेपालमा वर्षायाममा विद्युत् बढी निर्यात गर्नाका साथै उक्त लाइनमार्फत् इनर्जी बैंकिङ गर्न समेत बाटो खुलेको प्रवक्ता अधिकारीले जानकारी दिए। हाल सो प्रसारण लाइनबाट करीब १०० मेगावाट विद्युत् आयात भइरहेको छ। 

प्राधिकरणले गत हिउँदमा ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत् बढी विद्युत् माग हुने समयमा दैनिकरूपमा १२० मेगावाटसम्म विद्युत् आयात गरेको थियो। अब थप करीब १५० मेगावाट विद्युत् आयात गर्न सकिने प्राधिकरणले जनाएको छ। मुलुकभित्रको प्रसारण प्रणाली सुदृढीकरणका लागि हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण भइरहेको छ। 

यसअघि ढल्केबरमा सवस्टेसन बनाउन समय लागेपछि भारतको मुजफ्फपुर बिन्दुमा दुई ट्रान्सफर्मरमा भाडाका राखी विद्युत् आयात गरिएको थियो। ढल्केबर सवस्टेसन चार्ज भएसँगै भारतको पावर ग्रिडसँग भाडामा लिएर राखिएका ट्रान्सफर्मर अब राख्नु नपर्ने प्रवक्ता अधिकारीले बताए।

विश्व बैंकको नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत सवस्टेसन निर्माण गरिएको हो। नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सवस्टेसन निर्माण गरिएको हो। 

प्राधिकरणले सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)सँग १२ जुन २०१४ मा हेटौँडा, ढल्केबर र इनरुवामा सवस्टेसन बनाउन ठेक्का सम्झौता गरेको थियो तर सन्तोषजक काम नगरेपछि प्राधिकरणले सिसिपिजीसँगको ठेक्का २२ सेप्टेम्बर २०१७ मा तोडेको थियो। त्यसपछि ढल्केबर सवस्टेसनको बाँकी रहेको काम गराउन टेण्डर गरी जनवरी २०१८ मा ठेक्का सम्झौता गरिएको थियो। भारतीय ठेकेदार कम्पनी टेलमोसले छ महिनामा काम सक्ने गरी ठेक्का पाएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.