अध्यक्षज्यू, कहिले टर्ला खानेपानी समस्या?

|

उदयपुर : मध्यबर्खाको समयमा कतै खानेपानीको अभाव हुन्छ भन्दा अनौठो लाग्ला। बाढीपहिरोले क्षतिग्रस्‍त भएका समाचार प्रकाशन भइरहेको वेला उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढीमा खानेपानीको हाहाकार छ।

उदयपुरगढी उदयपुरगढी गाउँपालिको केन्द्र हो, अर्थात् गाउँपालिकाको सदरमुकाम हो। त्यही सदरमुकाममा गएको २०७४ असार १४ गते विकास मूल फुटाउने जनप्रतिनिधिलाई चुनेका स्थानीय अहिले पनि खानेपानीकै गुनासो गरिरहेका छन्। त्यही गाउँपालिकाको केन्द्रमा खानेपानीको समस्याले गर्दा दैनिक तिनै जनप्रतिनिधिसमेत ट्याक्टरमा एक घण्टाको दूरीमा ड्रममा पानी ल्याउन बाध्य छन्।

गाउँपालिकाको मुख्य समस्या नै खानेपानी

गएको २८ र २९ गते सार्वजनिक सुनुवाइ कार्यक्रम र दोस्रो गाउँसभा गर्न एक घण्टाको दूरीमा ट्याक्टरमा पानी बोकाएर ल्याइयो। गाउँपालिकाका सब-इन्जिनियर ईश्वर थापाले दोस्रो गाउँसभा गर्न गाउँपालिकाले गाईघाटबाट चार ट्रक मिनिरल वाटर र शौचालयलगायत अन्य प्रयोजनको लागि तावा खोला लगायतबाट ड्रममा पानी भरेर ट्याक्टरमा बोकाएर गाउँपालिकाको केन्द्रमा ल्याएको बताए। ‘गाउँपालिकाको केन्द्रमा सबैभन्दा ठूलो समस्या खानेपानीको छ,’ थापाले भने, ‘ कुनै कार्यक्रम गर्नु परेमा पहिला पानीको जो हो गर्नुपर्छ।’

स्थानीय सर्वसाधारणले खानेपानी कहिले आउँछ नभनेको दिनै हुँदैन। नुहाउन, लुगा धुन र गाईवस्तुलाई समेत चार घण्टा टाढाबाट पानी ल्याउनुपर्ने र आकाशको पानी संकलन गर्नुपर्ने बाध्यता उदयपुरगढीबासीको छ।

गाउँसभामा खानेपानीकै चर्चा

उदयपुरगढी गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ को बजेट तथा नीति कार्याक्रम घोषणा गर्दै गाउँपालिकाको आर्थिक कुल बजेट ३९ करोड १६ लाख ४८ हजार सार्वजनिक गर्‍यो। जसमा (गतवर्षको फ्रिज बजेट) अल्या ६६ लाख, वित्तीय समानीकरणतर्फ एक करोड ६७ लाख ७० हजार, देशतर्फको राजस्‍व बाँडफाँड ५ करोड ३४ लाख ८ हजार, संघबाट सशर्त अनुदानतर्फ एक करोड ४६ लाख ६० हजार रहेको सार्वजनिक गरेको छ। तर, खानेपानीको लागि कुनै ठोस योजना देखिएको छैन।

गाउँसभाको उद्घाटन कार्यक्रममा शुभकामना मनतव्य दिने क्रममा स्थानीय बुद्धिजीवी बोदकुमार घिमिरेले खानेपानीको लागि एकीकृत योजना स्थानीय सरकारले नल्याएको आरोप समेत लगाए। ‘यस गाउँसभाबाट पनि खानेपानीको यति वजेट भनेर भनिएको छैन,’ घिमिरले भने, ‘गाउँपालिकाको केन्द्रमा पानीको लागि स्थानीय सरकार चनाखो बनोस, हिउँद वर्खानै खानेपानीको समस्यामा परेको छ।’

बजेट तथा नीति कार्यक्रमको खानेपानी तथा सरसफाइ शीर्षकमा खानेपानी सबैको अधिकार भनिएको छ। हाल सञ्चालनमा रहेका खानेपानी परियोजनालाई थप व्यवस्थित गरिने र खानेपानी नभएका ठाउँमा खानेपानी पुर्‍याउन जोड दिइने मात्र भनिएको छ। तर, कतिवटा परियोजना सञ्चालन भएका छन्, कति बजेट विनियोजन गरिने जानकारी दिएको छैन। नीति तथा कार्यक्रममा सडक र विद्युतलाई जोड दिइएको छ।

खानेपानी समस्याबारे उदयपुरगढीवासी

उदयपुरगढी गाउँपालिकाको केन्द्र उदयपुरगढीमा खानेपानी समस्या परम्परागत नै हो। खानेपानी अभावकै कारण ०२७ मा उदयपुर जिल्लाको सदरमुकाम रहेको उदयपुर गढीबाट सदरमुकाम सारिएको थियो। त्यसपछि उदयपुरगढी उदयपुरको पुरानो सदरमुकाम भएको हो। ०२७ सालबाट हालसम्म मुलुकमा धेरै ठूला ठूला शासन व्यवस्था परिवर्तन भए। विकासका नाममा करोडौँ रकम खर्च भए। तर, धित मारेर तिर्खा मार्ने पानी उदयपुर गढीवासीको चाहना पूरा हुन सकेको छैन।

धारा पुग्यो पानी पुगेन

०२७ अघि उदयपुर जिल्लाको सदरमुकाम रहेको उदयपुर गढीमा बडाहाकिम बस्थे। त्यसपछि पञ्चायत प्रमुख, अनि गाविसका अध्यक्ष र अहिले गाउँपालिका अध्यक्ष समेत काठमाडौंको सिंहदरबार ल्याएर बसेका  छन्। उदयपुरगढीमा खानेपानीको समस्या वर्षौंदेखि नटरेको स्थानीय मनमाय पाण्डेले गुनासो गरिन्। ‘घरनजिकै धारै घारा छन् तर, पानी भने आउँदैन।,’ उनले भनिन्, ‘पानी लिन चार घन्टा हिँडेर जोगीमारा र सरस्वती खोला पुग्नुपर्छ।’ ट्याक्टर लिएर जाँदा एक घण्टा लाग्छ।

पञ्चायत प्रमुख, अनि गाविसका अध्यक्षले पालामा उदयपुरगढीमा खानेपानीको धारा पुग्यो तर, पानी पुगेन। ०५२ मा निर्माण गरिएको खानेपानी योजनाका अधिकांश ठाउँका पाइप खिया लागेर काम नलाग्ने भएको छ। त्यो पनि पानी नआइकन खिया लागेको स्थानीयको गुनासो छ।

२०२७ सालदेखि हालसम्म टुक्रेटाक्रे योजनामा करडौँ खर्च भइसकेको स्थानीय भनाइ छ। ‘कुनै योजनाले छ महिनादेखि एक वर्ष पानी खुवाए,’ स्थानीय यादव  राईले भने, ‘कुनै योजना पानी नआइकन सम्पन्न भएर सकिए, कति खानेपानी आयोजनाको पानीको मुहान सुक्यो। जलवायु परिवर्तनको प्रभावले नजिकका खानेपानी योजनाका मुहान सुकिसकेका छन्। विगतमा सरकारी तथा गैरसरकारी निकायले सञ्चालन गरेका खानेपानसम्बन्धी धेरै योजनाहरु काजगमा मात्र सीमित रहेकाले उदयपुरगढी काकाकुल बनिरह्यो।

सुत्केरीलाई झोलुंगे डोलीको एम्बुलेन्स

गएकै साउन २७ गते उदयपुरगढी गाउँपालिका ५ की केउरेनी डाँडाकी गोपीमाया मगर सुत्केरी हुन उदयपुरगढी स्वास्थ्यचौकी आइन्। गाउँमै सडक पुगेको छ। तर, उनि झोलुंगे डोलीको एम्बुलेन्स चढेर आएकी हुन्। जाँदा पनि त्यही झोलुंगे एम्बुलेन्समै गइन्। स्वास्थ्यचौकीमा एम्बुलेन्स छ। तर, बर्खाले सडक भत्काएर चल्दैन। ‘गाउँपालिकामा एम्बुलेन्स छ,’ गोपीमायाका श्रीमान रुद्रबहादुर मगरले भने, ‘गाउँलेको सहयोगमा झोलुङ्गेमा बोकेर ल्याएको थिएँ, यहीँ नै सुत्केरी भइन्, झरीले सडक बिगारेकाले एम्बुलेन्ससमेत चल्दैन।’

गाउँसभामै स्वास्थ्यचौकीमा एम्बुलेन्ससमेत भए पनि सर्वसाधारणले सेवा नपाएको गुनासो गर्ने सरोकारवालको कमी थिएन। स्थानीय बोधकुमार घिमिरेले भने, ‘स्वास्थ्य चौकी एम्बुलेन्सले सेवा दिन सकेको छैन।, फोरयुल एम्बुलेन्स भए पनि गाउँमा सेवा दिन नसकिएको सरोकारवालाहरूको भनाइ छ।

के भन्छन् जनप्रतिनिधि?

उदयपुरगढी गाउँपालिका-५ उदयपुरगढीका वडा अध्यक्षकुमार अधिकारीले गाउँपालिकाको केन्द्रमा एक वर्षभित्र खानेपानी योजना सम्पन्न गर्नेगरी काम भइरहेको जानकारी दिए। ‘जोगिधार उदयपुरगढी लिफटिङ खानेपानी योजनाको तयारी गरिएको छ,’ वडा अध्यक्ष अधिकारीले भने, ‘सर्वे भइसकेको छ, अब एक वर्षभित्र गाउँपालिकाबाट बजेट विनियोजन गरेर खानेपानी ल्याउने तयारी भएको छ।’

गाउँपालिका अध्यक्ष मानहबादुर केप्छाकी मगरले जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पनि खानेपानीको समस्या समाधान गर्न काम गरिरहेको जानकारी दिए। ‘त्यो साढे करोडको आयोजनाको काम भइरहेको छ,’ अध्यक्ष केप्छाकी मगरले भने, त्यो आयोजना सकिन अझै तीन/चार वर्ष लाग्नेछ, त्यसो भएकाले तत्काल हल गर्न जोगिधार उदयपुरगढी लिफलिङ खानेपानी आयोजना आर्थिक वर्ष ०७५/७६ बाट सुरु गर्ने तयारी गरेको छौँ। लिफटिङ खानेपानी आयोजना बनेपछि खानेपानीको समस्या हल हुन्छ, त्यसको लागि विशेष बजेटसमेत विनियोजन गर्नेछौँ।’

गाउँसभामा प्रमुख अतिथिरहेका प्रदेश सांसद नारायण बुर्जा मगरले प्रदेश सरकारबाट खानेपानीको लागि विशेष पहल गर्ने उद्घोष गरेका छन्। ‘प्रदेश सरकारबाट यस गाउँपालिकाको खानेपानी योजनाको लागि विशेष योजनाको लागि पहल गर्नेछु,’ उनले भने, ‘स्थानीय सरकार, प्रदेश र संघीय सरकारको पहलमा अब यहाँ ठूला योजना ल्याउनुपर्छ, नत्र दीर्घकालीन रूपमा खानेपानीको समस्या समाधान गर्न सकिँदैन। जलवायु परिवर्तनले झनै समस्या पार्दै गएको छ।’ जोगिधार खोलाबाट ८ देखि १० किलोमिटरको दूरीमा लिफटिङ खानेपानी आयोजना सञ्चालन गर्न लागिएको गाउँपालिकाको अध्यक्ष मगरको भनाइ छ।

खडा भए विषयगत कार्यालय

उदयपुरगढीका प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले उदयपुरगढीका विभिन्न विषयगत कार्यालय तयार गरेको जानकारी दिएका छन्। ‘उदयपुरगढीमा भौतिक पूर्वाधार थिएन, जस्तै स्वास्थ्य, शिक्षालगायतका विषयगत कार्यालय पनि थिएन,’ सुवेदीले भने, ‘गएको आर्थिक वर्ष ०७४/७५ मा एक करोड बजेट विनियोजन गरेर अहिले कार्यालय उद्घाटन तयारीमा पुगेका छन्।’

भौतिक पूर्वाधारतर्फ बजेट लगानी गर्दा खानेपानीको समस्या नटरेको भन्दै एक वर्षभित्र खानेपानीको समस्या टार्ने गरी योजना ल्याउन लागेको जानकारी दिए। विभिन्न विषयगत कार्यालयको भवन निर्माण गर्ने उदयपुरको पहिलो स्थानीय तहनै भएको गाउँपालिकाका उपाध्यक्ष सानुमाया राउतले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.