|

बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलका सयौँ कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएका छन्। गुगलले चीनका लागि छुट्टै सर्च इन्जिन बनाउन लागेको भन्दै कर्मचारी आन्दोलित भएका हुन्।

नयाँ योजनाले गुगलमाथि नैतिक प्रश्न उठेको र यसप्रति पार्दर्शी हुनुपर्ने उनीहरूले माग राखेका छन्। आफूहरूलाई गुगलले चीनका लागि छुट्टै सर्च इन्जिन बनाउने बारेमा आधिकारिक रूपमा जानकारी नदिएको पनि उनीहरू बताएका छन्।

अल्फाबिटा कम्पनीको सहायक गुगलले आठ वर्षअघि चिनियाँ सेन्सरसिपको विरोध गर्दै चीनबाट बाहिरिएको थियो। यद्यपि अघिल्लो महिना गुगलले सुषुप्त ढंगले चिनियाँका लागि छुट्टै सर्च इन्जिन निर्माणको काम गरिरहेको दाबी गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका थिए।

मानवअधिकार र धर्मसम्बन्धी खोजहरूलाई ब्लक गर्ने चीनको चाहनाअनुसार सर्च इन्जिनको निर्माण गर्न लागेको बताइएको छ। यसले स्वतन्त्र अभिव्यक्तिमाथि हस्तक्षेप हुने भन्दै कर्मचारीहरू आन्दोलित भएका हुन्।

विभिन्न संचार माध्यमलाई पठाइएको पत्रमा उक्त योजनाले गुगलको आचारसंहिता उल्लघंन गर्ने बताइएको छ। ‘हामीलाई अझ पार्दर्शिता अपनाउनु जरूरी छ, यसका लागि एउटै टेबलमा बसेर स्पष्ट र खुल्ला प्रक्रिया अपनाउन सकिन्छ’ पत्रमा भनिएको छ, ‘गुगलका कर्मचारीले बनाइरहेको सर्च इन्जिन कस्तो छ भन्ने हामी जान्न चाहन्छौँ’।

यो मात्रै पहिलो होइन गुगलका कर्मचारीले कम्पनीविरुद्धै आवाज उठाएको। यसअघि अप्रिलमा यूएस सैनिकका लागि निर्माण गर्न लागेको आर्टिफिसियल इन्टेलिजेन्टका विषयलाई लिएर हजारौँ कर्मचारीहरूले गुगलको कडा आलोचना गरेका थिए। त्यसलगत्तै गुगलले पेन्टागनसँगको एआइ सम्झौता रद्ध गरेको थियो।

चीन विश्वकै सबैभन्दा ठूलो इन्टेरनेट प्रयोगकर्ता भएको देश हो तर चिनियाँ सेन्सरसिप र प्रतिबन्धका कारण अमेरिकी प्रविधिले त्यहाँ ठूलो संघर्ष गर्नु परेको छ। त्यहाँ फेसबुक, गुगल, ट्विटर, इन्टाग्रामजस्ता सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध लगाइएको छ। गुगलका तीनवटा कार्यालय अझै चीनमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.