|

दार्चुला : एक महिने कैलाश बसाइँ सकेर देवी-देवता घर फर्किएका छन्। साउन १ गते अर्थात् साउने सङ्क्रान्तिका दिन साउनको सुरुवात मै कैलाश स्नान र ध्यानका लागि गएका देवी देउता मानव वस्तीमा फर्किने जनविश्वास छ।

साउन १ गते देवी देउता मठमन्दिर तथा मानव वस्ती छोडेर कैलाश जाने भएकाले साउन महिनालाई कालो महिनाका नामले चिनिन्छ। देवी देउताहरू साउन १ गतेदेखि नै कैलाश जाने भएकाले भू भगाउन झ्याल ढोकामा झिझिरकाँडा राख्ने परम्परा छ। दार्चुला जिल्ला लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा असार मसान्तको बेलुकी नै घरको झ्याल ढोकामा झिझिरकाँडा राख्ने प्रचलन छ। यस्तै देवी देउता कैलाशतिर शयन गर्ने भएकाले साउन महिनाभरी दियो बाल्ने चलन छ भने केही ठाउँहरूमा भने साउन १५ गतेसम्म बत्ती अर्थात् दियो बाल्ने प्रचलन छ।

देवी देउता कैलाशमा भएकाले बेला मन्दिरमा कोही नहुने भएकाले घरघरमा तथा मन्दिरमा दियो बाल्नुपर्ने परम्परा छ भने कतै तिर देवी देउताको जीत होस् भनी प्राथनाका लागि मानिसहरूले भक्ति गर्नुपर्छ भन्ने आ-आफ्नै परम्परा छ। देवी देउता कैलाशमा भएका बेला मानवीय वस्ती देवी देउताविहीन भएकाले राक्षसहरूको बिगबिगी बढ्ने भन्दै भूत भगाउन झ्याल ढोकामा झिझिरकाँडा राख्ने प्रचलन पहिलेदेखि नै चलिआएको मार्मा गाउँपालिका-६ का स्थानीय गणेशसिंह कोट्टारीले बताए। पहिलेदेखि नै चलिआएको रीतिरिवाज भएकाले आफूहरूले समेत सोही परम्परा मान्दै आएको उनको भनाई छ। कालो महिना अर्थात् साउन महिनामा देवी देउता कैलाशतिर हुने भएकाले उक्त महिना अन्य महिनाको तुलनामा बढी मानवीय दुर्घटना हुने, प्राकृतिक प्रकोपका घट्ना बढ्ने गरेको जनविश्वास छ।

साउन महिनामाभरि कैलाशमा देवी देउता तथा राक्षसहरूबीच पाशा खेलमा प्रतिष्पर्धा हुने भएकाले एक महिना पश्चात अर्थात् भाद्र १ गते नतिजा सुनाइने परम्परा छ। यस्तो चलन मुख्य गरी दार्चुलाको मार्मा क्षेत्रमा रही आएको छ। साउन महिनाभरि देवी देउता र राक्षसबीच पाशा खेलको नतिजा कसको पक्षमा आयो सोको बारेमा भोलि धामी झाँक्रीले भाद्र १ गते सुनाउने परम्परा छ।

देवी देउताको जीत भए मानवीय क्षति,बाढी पहिरो, हानी नोक्सानी कम हुने र देवी देउताको हार भयो भने मानवीय क्षति, प्राकृतिक प्रकोपका घटनाहरू बढ्ने, बाढी पहिरोका घट्ना बढने गरेको बुढापाकाहरूको भनाई छ। देवी देउता तथा  राक्षसबीचको प्रतिष्पर्धाको नतिजा भोलि भाद्र १ गते धामी झाँक्री एक ठाउँमा जम्मा भएर सुनाउने प्रचलन दार्चुलाको मुख्य गरी मार्मा क्षेत्रमो छ। देवी देवताको विजय भए यो वर्ष अन्नबाली उत्पादनमा समेत बृद्धि हुने र मानवीय वस्तीमा सुख शान्ति हुने जनविश्वास रही आएको छ।

दार्चुलेलीको आ-आफ्नै परम्परा

मार्मामा गबे, दुहूँमा दम्फा र लेकममा साउने पर्व संस्कृतिको धनी देशको रुपमा चिनिने नेपालको सुदूरपश्चिमका जिल्लामा आ-आफ्नै भेषभुषf तथा संस्कृति छ। ७ नम्बर प्रदेशका ९ ओटै जिल्लामा आ-आफ्नै परम्परा र आ-आफ्नै चालचालन छ। विभिन्न चाड पर्व मनाउने चाल चलन पनि फरक-फरक छ। यस्तै दार्चुला जिल्लामा पनि ठाउँपिच्छे फरक फरक परम्परा अनुसार पर्व मनाउने चलन छ। जिल्लाको मार्मा क्षेत्रमा भाद्र १ गते गबे जात्रा मनाइँदै छ। हरेक वर्षको भाद्र १ गतेका दिन देवी देउताको पूजापाठ गरी गबे जात्रा मनाउने गरिन्छ।

नौगाड गाउँपालिका-४ होपरी र मार्मा गाउँपालिका-५ सितोलामा गबे जात्रा लाग्ने मनाउने गरिन्छ। मुख्य गरी नौगाडको होपरीमा गबे पर्वको अवसरमा ठूलो जात्रा लाग्ने गरेको छ। छिपुल केदार लगायतका विभिन्न देवी देउताको पूजापाठ गरी प्रत्येक वर्ष भाद्र १ गते गबे पर्वको अवसरमा होपरीमा जात्रा लाग्ने गरेको छ। गबे जात्राको अवसरमा विभिन्न प्रतियोगिताको आयोजना गरि धुमधामका साथ पर्व मनाइँदै आएको होपरीका नयन महताले जानकारी दिए।

भाद्र १ गते खेतबारीमा लगाएको पिडालुका गाभाको तरकारी बनाई खान सुरुवात गर्ने परम्परा रहेकाले यो पर्वलाई गबे पर्व नाम रहन गएको किम्बदन्ती छ। पीडालुको पात अर्थात् गाभाको तरकारी बनाई खाने दिनका रुपमा भाद्र १ गतेलाई लिइने भएकाले यो पर्वलाई गबे तिहार अर्थात् गबे पर्वका नामले चिन्ने गरिएको स्थानीयको भनाई छ। यस्तै जिल्लाको दुहू क्षेत्रमा भोली दम्फा पर्वको रुपमा भाद्र संक्रान्ति मनाउने प्रचलन छ। दुहू क्षेत्रका दुहू गाउँपालिका तथा व्याँस गाउँपालिकाका विभिन्न स्थानमा दम्फा पर्वका अबसरमा दम्फा जात्रा लाग्ने गरेको छ। यस्तै व्याँस धौलाकोटमा दुर्गा भवानी मन्दिरमा पूजापाठ गरी दम्फा पर्व मनाउने चलन रहीआएको छ। त्यसैगरी जिल्लाको लेकम क्षेत्रमा बिहीबार साउने पर्वका रुपमा मनाइन्छ।

असार, साउन महिनामा खेतबारीको काम सकेर फुर्सदिलाे बसाइ हुने भएकाले उक्त समयमा आफन्तजन, इष्टमित्रको भेटघाट गरी साउने पर्व मनाउने परम्परा दार्चुलाको लेकम क्षेत्रमा रहेको छ। त्यसैगरी सुदूरपश्चिमका विभिन्न जिल्लामा भाद्र १ गतेका दिन ओल्के पर्वका नाममा यो पर्व मनाउने चलन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.